• १३ असोज २०८१, आइतबार

सत्ता गठबन्धनको बैठक

सिट बाँडफाँटबारे निष्कर्ष नजिक, बैठक भोलि पुनः बस्ने

blog

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बालुवाटारमा बसेको बैठक सिट बाँडफाँटबारे निष्कर्षको नजिक पुगेको जानकारी दिनुभयो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “बैठक निष्कर्षको नजिक पुगेको छ । भोलि ३ बजे फेरि बैठक बस्नेछ । आज मुख्य रुपले सिट बाँडफाँटबारे छलफल भयो ।”

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । 

पछिल्लो समय, कार्यदलले गठबन्धनका शीर्ष नेताहरुसमक्ष बैठकका विवरण पेश गर्नुका साथै सिट बाँडफाँटमा थप गृहकार्य गर्दै आएको छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुँदै आउनुभएको छ । सत्ता गठबन्धनको बैठक मंगलबार पुनः बस्नेछ ।