• २७ पुस २०८१, शनिबार

न्यून सञ्चालनमा चोभार बन्दरगाह

blog

काठमाडौँ, भदौ ५ गते । काठमाडौँको चोभारमा सञ्चालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट) प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।सञ्चालनमा आएको चार महिना हुँदा पनि न्यून सङ्ख्यामा मात्र सामान बोकेका कन्टेनर भित्रिएका छन् । इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाहमा चार महिनाको अवधिमा आयातित सामान लिएर १८ वटा कन्टेनर भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएको छ । गत असार २८ गते दुई कन्टेनर सामान यो बन्दरगाहबाट निर्यात भए पनि त्यसपछि निर्यात हुन सकेको छैन । 

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सामान आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) परिपक्व भइसकेपछि सामान नियमित रूपमा आउनुपर्ने भए पनि व्यवसायीले त्यति सक्रिय नदेखाएको बताउनुभयो । 

सामान आयातका लागि सहजीकरण गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । तराई मधेश दु्रुत मार्ग (फास्ट ट्र्याक) तयार नभएसम्म कलङ्कीबाट घुमेर चोभार गएर फेरि काठमाडौँ आउनुपर्दा व्यवसायीलाई पनि घुमाउरो परेको उहाँले जानकारी दिनुभयो ।

व्यापारविज्ञ रविशङ्कर सैँजूले सामान ल्याउन प्रक्रियागत झन्झट हुँदा प्रभावकारी रूपमा सञ्चालन हुुन नसकेको बताउनुभयो । “बाहिरी मुलुकबाट ल्याएका सामान वीरगञ्ज भन्सारमा कागजात पेस गरेर चोभार बन्दरगाहमा आएर फेरि भन्सार चेकजाँच गर्नुपर्छ, भन्सार नाकामा नरोकिई सिधै चोभार आउने व्यवस्था भए मात्र सहज हुन्छ,” उहाँले भन्नुभयो । 

दोहोरो डकुमेन्ट बुझाउनुपर्दा प्रक्रियागत रूपमै अप्ठ्यारो भएकाले व्यवसायीले चोभारमा सामान नल्याएको उहाँले बताउनुभयो । 

इन्टरमोडल यातायात विकास समितिले नियमनको काम गरेर बन्दरगाह सञ्चालनको जिम्मा अन्य निकायलाई नदिई दुवै काम आफैँ गर्दा प्रभावकारी नभएको सैँजूले बताउनुभयो ।

अहिले छिमेकी मुलुक भारतसँगै तेस्रो मुलुकबाट ल्याइएका सामान वीरगञ्ज भन्सारमा कागजपत्र देखाएर चोभारमा आएर भन्सार जाँचपास गराउनुपर्छ । 

नेपाल फ्रेट फरवार्ड एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले चोभार बन्दरगाह नयाँ ठाउँ भएकाले  अपेक्षाबमोजिम सामान नभित्रिएको बताउनुभयो । पहिला लगिरहेको ठाउँमा सामान लैजान व्यवसायीलाई सजिलो हुने र चोभार नयाँ भएकाले धेरै सामान आउन नसकेको उहाँले बताउनुभयो । 

चोभार सुक्खा बन्दरगाहसम्म सामान ल्याउन केही प्रक्रियागत झन्झट रहेको पनि व्यवसायीले बताएका छन् । वीरगञ्जबाट काठमाडौँसम्म आउँदा ट्र्याकिङ नहुने भएकाले जोखिम धेरै रहेको बताइएको छ । वीरगञ्जदेखि काठमाडौँसम्म कन्टेनर ल्याउँदा बीचबाटोमा कन्टेनरमा समस्या भए बीमाको सुविधा नरहेको र कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने भन्ने समस्या रहेको व्यवसायीको भनाइ छ ।

बीचबाटोमा कन्टेनरको लक बिग्रेमा, सामान हराएमा व्यवसायीले २०० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या बनाएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो तर पनि चोभार बन्दरगाह पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन समय लाग्ने उहाँले बताउनुभयो । 

गत साल चैत २२ गतेदेखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको हो । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा समितिले तीन वर्ष लगाएर बन्दरगाह निर्माण गरेको थियो । 

बन्दरगाहमा पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनीका कार्यालय छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेका छन् । 

बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।