• ६ साउन २०८१, आइतबार

‘कोसी बाढी नियन्त्रणमा सम्पूर्ण प्रयास’

blog

गाईघाट समाचारदाता

गाईघाट, भदौ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसीको कटानलाई नियन्त्रण गरी बाढी प्रभावित क्षेत्रका मानिस र जमिनलाई सुरक्षित राख्न वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। सो कुरा मन्त्री कार्कीले शनिबार उदयपुरको बेलका नगरपालिका वडा नं. ८, डुम्रिबोटस्थिते कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बताउनुभएको हो।

गत साउन १८ गते सप्तकोसी नदीको बहाव गाउँतिर मोडिएपछि उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका दर्जन बढी गाउँका बासिन्दा बाढीको उच्च चपेटामा परिरहेको छन्। सो क्षेत्रको स्थलगत निरीक्षण गर्न आउनुभएका मन्त्री कार्कीले कोसी कटानको प्रभावलाई रोक्न अल्पकालीन र दीर्घकालीन योजनाहरू सञ्चालनमा ल्याउन वर्तमान सरकार लागिरहेको बताउनुभयो। 

कोसीको बाढी प्रभावित स्थलमा पुगेका पत्रकारहरूसँग छोटो कुरा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले गत साउन २६ गतेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेकोले अब कोसीलाई पुरानै धारमा फर्काउन आवश्यक कदम चालिने बताउनुभयो। 

उहाँले कोसी सम्झौताअनुसार यसको प्रभावलाई नियन्त्रण गर्ने सन्दर्भमा छिमेकी राष्ट्र भारतसँगसमेत तत्काल आवश्यक कूटनीतिक पहल थालिने र नेपाल सरकारबाट पनि अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाएर काम अगाडि बढाउन सरकारले कुनै कसर बाँकी राख्दैन भन्नुभयो। 

यसै क्रममा मन्त्री कार्कीले वराह क्षेत्र नगरपालिका वडा नं. ६ स्थित श्रीलङ्का टापुमा शनिबार आयोजित एक अर्काे कार्यक्रममा कोसीको बाढीबाट पीडित हुनुभएका विभिन्न ११६ परिवारलाई चामल, दाल, तेल, नुन, सुपानेट, झुललगायत दैनिक उपभोग्य वस्तुहरू वितरण गर्नुभएको छ। 

जापानको एसिया प्यासिफिक एलाएनस, करुणा फाउन्डेसन नेपाल र चौधरी हाउस नेपालले सो राहतसहयोग गरेको हो। वराह क्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री कार्कीले वर्तमान सरकार यस क्षेत्रका पीडितहरूको पक्षमा रहेकोले अब यो जटिल समस्याको स्थायी तथा दीगो समाधानका लागि सरकारले काम गर्ने छ भन्नुभयो। 

सो क्षेत्रको करिब १० हजार हेक्टर उर्वर जमिन कोसी कटानको उच्च जोखिममा परेको छ। कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्नुपर्नेमा सुनसरीतर्फ मात्र गरेको र उदयपुरतर्फको लागि सप्तरीको भारदहस्थित कङ्कालिनी मन्दिरदेखि बेलकाको सेतीखोला दोभानसम्म तटबाँध निर्माण नगरेपछि बाढी र डुबानको समस्या बढेर गएको हो। 

हाल बेलका नगरपालिका वडा नं. १,२,३ र वराह क्षेत्र नगरपालिकाको वडा नं. ६ र ८ को श्रीलङ्का टापुसहित चिलिया टप्पु, सिसौली टप्पु, एबीसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष उच्च जोखिममा परेको स्थानीयको भनाइ छ। 

जापान सरकारको जाइकाले सन १९८५ मा गरेको अध्ययन प्रतिवेदनअनुसार सप्तकोसी संसारकै बढी लेदो बोक्ने नदी हो। यसको अत्याधिक पहिरो र भू–क्षय हुने ९२ हजार ५३८ वर्गकिलोमिटर जलाधार क्षेत्र छ। त्यसमध्ये ४१ हजार ३३३ वर्गकिलोमिटर नेपालमा रहेको अयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ।

दस वर्षभित्र विकसित मुलुक

यसैबीच, इनरुवा समाचारदाता जयकृष्ण यादवका अनुसार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशबाट बेरोजगारीलाई अन्त्य गरी १० वर्षमा नेपाललाई विकसित मुलुकमा र एसियाको धनी मुलुकको रूपमा स्थापित गर्ने बताउनुभएको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। 

देशको हरेक क्षेत्रमा सरकारले काम गर्दै आएको र नीति तथा कार्यक्रममा समेत नागरिकको हितलाई ध्यानमा राखेकाले रोजगारी सिर्जना गर्दै विकसित मुलुकको रूपमा स्थापित गर्ने दाबी उहाँले गर्नुभयो। सबै मिलेर देशबाट बेरोजगारी, पछौटेपन र गरिबी अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताउनुभयो।   

कार्यक्रममा मन्त्री कार्कीले सञ्चार र सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँको रूपमा जोडेको बताउनुभयो। उहाँले आफू सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का सांसदसमेत रहेकाले अब प्रत्येक घरमा सञ्चारको विस्तार मात्रै नभई रोजगारको अवसर पनि सिर्जना गर्ने बताउनुभयो। सबै विद्यालय तथा कलेजहरूलाई सूचना र प्रविधिमा जोड्ने काम भइरहको जानकारी दिँदै उहाँले यस क्षेत्रमा विद्यालयसहित भौतिक संरचनाहरू आफ्नो पहलमा निर्माण भइरहेको बताउनुभयो। 

सञ्चार र सूचना प्रविधिको विकासको क्रममा सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा नागरिकलाई लाभ पुग्ने गरी सञ्चार नेटवर्कको विकास गरेको मन्त्री कार्कीले बताउनुभयो। 

त्यसैगरी उहाँले शनिबार नै कोसी गाउँपालिका लौकहीस्थित नगर सभा हलको निरीक्षण गर्नुभएको छ। मन्त्री कार्कीले इनरुवा–२ का नेपाली कांग्रेसका विन्देश्वरी महतो निधनप्रति दुःख व्यक्त गर्दै उहाँको घरमा पुगेर समवेदना प्रकट गर्नुभएको थियो।