• ६ साउन २०८१, आइतबार

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई प्रदान

blog

राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार प्रदान गर्नुहुँदै वरिष्ठ पत्रकार भैरव रिसाल। साथमा कार्यक्रममा उपस्थित विशिष्ट अतिथि । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ ४ गते । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ । दाहाल यज्ञनिधिको चौंथो स्मृति दिवसको अवसरमा एक लाख ५० हजार राशिको पुरस्कार पुनलाई प्रदान गरिएको हो। 

दाहाल यज्ञनिधि सुधा सदनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुरस्कार र सम्मान महावीर पुनलाई प्रदान गर्नुभएको हो । 

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो। दाहाल यज्ञनिधिकी धर्मपत्नी एवम् संस्थाकी अध्यक्ष सुधा दाहाल (आचार्य) ले संस्थाको नाममा ५१ लाख रूपैयाँको अक्षयकोषमा राख्नुभएको छ । अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने संस्थाका सचिव ठाकुर बेल्बासेले जानकारी दिनुभयो। 

एक लाख ५० हजार रुपैयाँको सम्मान पाए लगत्तै महावीर पुनले आफूले लिएको पुरस्कार आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ। ‘मैले व्यक्तिगत रुपमा सम्मान ग्रहण गर्दा धेरैलाई अन्याय हुन्छ। मैले मेरो नाममा कुनै पुरस्कार र सम्मान नदिनु, दिने भए राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु भनेको छु। मैले पुरस्कार लिए पनि यो सम्मान आविष्कार केन्द्रका भाइबहिनीलाई जानेछ।’

कार्यक्रमका प्रमुख अतिथि भैरव रिसालले दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा सम्मानित व्यक्तित्व महावीर पुनको संघर्ष र जीवनबारे संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले धारणा राख्नुभएको थियो।

 कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘दाहाल यज्ञनिधिका कविता’ कृति विमोचनसमेत भएको छ। उक्त कृति देवकुमारी लुइटेल ‘देवु’को संकलन तथा सम्पादनमा प्रकाशित भएको हो। विमोचित कृतिमाथि नेपाल प्रज्ञा प्रतिष्ठानकाका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले समीक्षात्मक मन्तव्य राख्नुभयो। कार्यक्रममा लोचन भट्टराई र देवकुमारी लुइटेलले दाहाल यज्ञनिधिका कविता वाचन गर्नुभयो भने साहित्यकार डा. तुलसी भट्टराईले दाहाल यज्ञनिधिको व्यक्तित्व र प्रवृत्तिबारे चर्चा गर्नुभयो।  कार्यक्रमका अतिथि र सहभागीलाई संस्थाका सदस्य डा. विष्णु राईले स्वागत गर्नुभएको थियो ।

संस्थाको अक्षयकोशको ब्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने छ। संस्थाले दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा घोषणा गरेको छ। आगामी वर्षदेखि उक्त पुरस्कार प्रदान गरिनेछ। 

वि.सं. २०१० साल साउन ४ गते खोटाङमा जन्मनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो।