• ६ मंसिर २०८१, बिहिबार

श्री ३ का किरिया श्रेस्ता

blog

श्री ३ महाराज जङ्गबहादुर राणाको निधन भएपछि पत्थरघट्टामा काजकिरियालगायत ‘कामकाममा खर्च भयाका’– ४७ हजार ६५६ रुपियाँ । भन्नै परेन, खर्च राज्यकोषको । जङ्गको निधन भएको ५३ वर्षपछि श्री ३ महाराज चन्द्रशमशेरको निधन हुँदा ब्राह्मणलाई जनही ५० पैसाका दरले भोजन खर्च उपलब्ध गराइयो । अर्थात् जङ्गबहादुरको निधन हुँदाका ताक ५० पैसाले कति महत्त्व  राख्थ्यो ? १९१३ सालमा राजा सुरेन्द्रलाई फर्माइसी खर्च भनेर राज्यले मासिक जम्माजम्मी चार सय रुपियाँ मात्र दिन्थ्यो । तसर्थ जङ्गको निधन हुँदा राज्यले गरेको खर्च कुन परिमाणमा थियो भन्ने अब अर्थशास्त्रीय दृष्टिकोणबाट बयान गरिरहनु परेन । त्यो बेला नेपाली मुद्रा (मोहरू)का साथै कम्पनी रुपियाँ पनि खर्च गरिन्थ्यो । 

राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको कौसीतोसाखानाका त्यस बेलाका लिखतबाट १९३३ सालमा जङ्गको चिता सेलाउँदा ‘गरिप गुरुवा’का लागि दुई हजार रुपियाँ खर्च भएको थाहा हुन्छ । शुद्धशान्तिमा उठाइने गैरसराजाम तयार गर्न २५ हजार रुपियाँ, कासीमा ब्राह्मण भोजन गराउन कम्पनी रुपियाँ चार हजार, महारानी भित्रिनीका वर्षी पोसाकका लागि ७७१ रुपियाँ आदि खर्च गरिए । महारानीहरूले गोदान गर्दा सुनका सिक्का, सुनको दान प्रतिमा, चाँदीका सिक्का र काँसको कचौरा गरी २७ थान खर्च भए ।

ओहोदावालको जीवन अब कठिन छ भन्ने वैद्यले ठह-याएपछि घाटतर्फ ‘सवारी चलाउने’ चलन हुन्थ्यो । कतिपयले दरबारमै चोला फेर्थे, कतिपय घाटमा पुगेपछि । आर्यघाट पु-याइनुअघि कौसीतोसाखानाका कर्मचारी उर्दी तामेल गर्न घाट पुगिसकेका हुन्थे । वीरशमशेर जेठा महारानीका गाथमा आराम नभएपछि १९८९ साल भदौ ६ गते आर्यघाटमा सवारी चलाएको र घाटमा कौसीतोसाखानासमेत बसेको व्यहोराको लेफ्टेन्ट कर्णेल प्रतापजङ्ग राणाका नाममा जारी गरिएको उर्दी, “...निजामतीमा सुनका तोडा लाउनेसम्मका उर्दीका जवानलाई आलोपालोसँग अर्थात् अघिल्लो पालो पर्ने जवानले व्याहान ९ बजे आई २ बजेसम्म बसी अर्का बदला आएपछि अघि आयाको जानेपछि बदलामा आयेकोले रातको ९ बजेसम्म बसी जाने गरी दिउँसोलाई २ जवान राती सुत्नालाई जवान १ जम्मा रात दिन १ जनालाई जवान ३ का दर्ले मजकुर बडामहारानीका सवारी घाटमा राज रहन्ज्यालसम्म घाटमा परिआयाको कामकाज गर्नालाई माथि लेषिया काजकोलाई आलोपाालोसँग षटाइ पठाइ दिने काम गर ।”

मालका उठ्तीबाट क्रियाकर्ममा खर्च गरिन्थे । १९९६ सालमा जनरल तेजशमशेरका छोरा मङ्गलशमशेरको देहान्त हुँदा वीरगन्ज पर्सा मालबाट डेढ हजार रुपियाँ, यिनै तेजशमशेर १९९९ सालमा परलोक हुँदा पर्सामालबाट १६ हजार रुपियाँ, १९७२ सालमा जीतजङ्गका छोरा कर्णेल वेदजङ्गको निधन हुँदा बर्दिया र प्यूठान मालबाट दुई सय रुपियाँ, २००५ सालमा पिताम्बर जबराका कर्म नचलेका छोरा मर्दा बाँके मालबाट भुक्तान गरियो । श्री ५ र श्री ३ बाहेक उनका भित्रिनी, छोरा, छोरी, बुहारी आदि कुटुम्बलाई राज्यकोषबाट बरखीसम्मको काममा खर्च गरिन्थ्यो । १९९७ सालमा मेजर जनरल ज्येदुशमशेरका छोरीका छोरा देहान्त हुँदा सनद जारी गरी क्रिया खर्च दिइएको थियो । १९७४ सालमा निधन भएका साहेबज्यू सागरविक्रम शाहका रानीलाई नयाँ लुगा विछ्यौना खरिद गर्दा होस् वा गुरुज्यू लोकराज पण्डित वा बडागुरुज्यू द्विजराज पण्डितको निधन हुँदा खर्च राज्यले व्यहोरेकै थियो । १९६५ सालमा श्री ३ गोरखपुरी महारानीलाई आराम नहुँदादेखि वर्ष दिनसम्म क्रियाखर्चसमेत २७ हजार ८८५ रुपियाँ खर्च गरिएको थियो । त्यसमध्ये निजामती ढुकुटीबाट ‘दान गरिबक्सेको’ सात हजार रुपियाँ थियो ।

सास हुन्जेल आश । मृत्यु शøयाबाट फिर्ता ल्याउन प्रयास हरसम्भव हुन्थ्यो । धीरशमशेर घाँटीमा लुइँचेको हाड अड्किएपछि जीवन–मरणको अन्तिम अवस्थामा पुगे । १९४० सालमा दान पुण्य, जप पाठ, नवग्रह शान्ति, लघुरुद्री, चण्डीपाठ आदि लगाइयो । सङ्कल्पवापत पुरोहित शिवराज सत्यालले एक हजार ५५० रुपियाँ पर्ने हात्ती पनि पाए । धार्मिक अनुष्ठानले काम गरेन । श्री ३ महाराज बन्ने उनको सपना १९४१ सालमा बिलायो । कम्यान्डर इन चिफ जगतशमशेर बिरामी हुँदा १९३५ सालमा चार खेत सङ्कल्प गरिएको थियो । गुठी राख्न जग्गा सङ्कल्प गरिन्थे । 

१९२० सालमा काहिँला कमान्डर इन चिफ बिरामी हुँदा सङ्कल्प स्वरूप पशुपतिमा १२ हजार रुपियाँमा शिवालय स्थापना गरियो । १९७४ सालमा राजा पृथ्वीवीरविक्रमका मुमाबडामहारानीका गाथमा आराम नहुँदा ज्वरो झार्ने पण्डितलाई दक्षिणा, नवग्रह दान, जिज्युमुमाको नाममा चार हजार रुपियाँको पुल बनाउन सङ्कल्प, कासीमा एक सय ब्राह्मणलाई भोजन, वस्त्र दान, दश दान, हात्ती दान, सहश्र गौदान आदि दान गरिए । राजाकी आमालाई आराम हुँदा हेरेका विदेशी डाक्टर डेक ब्राक मेनले ८० रुपियाँ, डाक्टर इओ एमन्ले ३२ रुपियाँ, डाक्टर ईओ थष्र्टनले १२८ रुपियाँ र घाटमा रातदिन बसेवापत डाक्टर सरल रन्जनले ४८० रुपियाँ बुझे । शुद्धशान्तिका बखत आवश्यक पर्ने पित्तल, ढलौट, फलाम, काठका सामग्री नख्खु मेगजिन कार्खानामा तयार पारिन्थे । घाटमा चाहिने छापावाल श्रीखण्ड, छातीमा राख्ने बाक्ला असर्फी, घ्यू, कपुर, धूप, दाउरा, पिताम्बरदेखि वर्ष दिनसम्म चाहिने जिरामरिच, खुर्सानी, सानुकेराउ, रायो, चुक, मिठाई आदिमा हुने खर्च राज्यबाटै हुन्थ्यो ।

धनकुटा धपाइएका महाराज देवशमशेर भारत पलायन भए पनि उपचार खर्च नेपालकै राज्यकोषबाट व्यहोरियो । भारतको मसुरीमा रहेका देवशमशेरलाई आराम नहुँदा काम काममा खर्च गर्नलाई भनेर १९७० साल फागुन ८ गतेको खड्ग निशानाबमोजिम सात हजार नौ सय कम्पनी रुपियाँ मुन्सीखानामार्फत उपलब्ध गराइएको थियो । त्यस बाहेक पनि १९६९ सालमा पनि ११ हजार रुपियाँ पठाइएको थियो । देवशमशेरलाई रकम बुझाउन जाँदा सुब्बा मधुसूदन पाध्यालाई बाटो खर्च निमित्त दिइएको तीन सय रुपियाँ र रेल भाडा कम्पनी रुपियाँ ७२ पनि राज्यकै ढुकुटीको थियो ।

निधन भएकाको नाममा कासीमा ब्राह्मण भोजन गराउने उबेलादेखिकै चलन हो । एक हजार ब्राह्मणको भोजन खर्च राज्यले व्यहोथ्र्याे । दक्षिणा पनि दिइन्थ्यो । रिडीमा अस्तु विसर्जन गर्न पनि पठाइन्थ्यो । ओहोदावालले कौसीलाई आदेश दिए पुग्थ्यो । १९८९ साल भदौ ११ गतेको एउटा आदेश, “कौसितोसाषानाका हाकिम कारिन्दाले पुर्जी हेरी स्वर्गेवासी श्री ३ महाराज वीरसम्सेर जंगबहादुर राणाका श्री ३ जेठा महारानी भाउजूज्यू यही भाद्र १० गते ३ मा स्वर्गै भैबक्सेको हुनाले सुद्धसान्तिका दिन कासीमा ब्राह्मण भोजन गराउना निमित्त नोट रु. ५०० पकज धर्मसम्सेर जंगबहादुर राणाका तहबिल बुझाइ दिनु भन्या श्री ३ महाराज दाज्यैज्यूबाट हुुकुम बक्स्याको छ । हुकुम बक्स्या मुताबिक नोट कम्पनी ५०० निज नानी पकज धर्मसम्सेर जंगबहादुर राणाका तहविलमा बुझाइ दिनु । तेस्को सनद पछि भै आउनेछ ।” एक वा दुई छापे सनदअनुरुप आदेश जारी हुन्थे । र, स्याहामा खर्च लेखिदिने काम गरिन्थे ।

श्री ३ महाराज वीरशमशेरको निधन हुँदा मासिक, वार्षिक सबै काम सम्पन्न गर्दा एक लाख १० हजार रुपियाँ खर्च भएको थियो । १९५७ सालमा वीरको निधन हुँदा बनारसमा दुई हजार ब्राह्मणलाई भोजन गराउँदा एक हजार र दक्षिणावापत थप एक हजार गरी दुई हजार कम्पनी रुपियाँ खर्च गरिएको थियो । १९८६ साल मङ्सिर १० गते निधन भएका चन्द्रशमशेरको नाममा मङ्सिर २२ गते रिडी क्षेत्रमा एक हजार ब्राह्मणलाई जनही दक्षिणा ५० पैसा र भोजन फूलमाला पानसुपारी ५० पैसाका दरले खर्च गरियो । भीमशमशेरका छोरा हरिशमशेरले भीमको हुकुमअनुसार सो खर्च गर्नू भनी दाइ जनरल प्रतापशमशेर जबरालाई पत्र लेखेका थिए ।

लिखतहरू पल्टाउँदा त्यो बेला प्रायः कासी र रिडी क्षेत्रमा अस्तु विसर्जन गर्ने चलनका बारेमा थाहा हुन्छ । त्यसलाई अस्तु छेपन भनिन्थ्यो । चन्द्रशमशेरको निधन हुँदा रिडी क्षेत्रमा अस्तु छेपन गर्न जाने काममा खटिएका जवानका लागि जारी उर्दी–


  •   नेपालबाट अस्तु ली गै भरसष चाडै रिडी क्षेत्रमा पुग्नु ।
  •   सुद्धसान्तिका दिन अगावै अर्थात् १० दिनभित्र अस्तु छेपन गर्नुपर्ने हुनाले बेलामा नपुगी खट्डा हुन नपावस् । अस्तु छेपन गर्नालाई श्री जनरल प्रतापसम्सेर जंगबहादुर राणा दाज्यैज्यूलाई लेखी गयेको छ । रिडी क्षेत्र पुगेपछि मौसुफ दाज्यैज्यूलाई समेत षबर दि मौसुफले खटायेको मानिस समेत राखी अस्तु छेपन गर्नु ।
  •  अस्तु छेपर्न ली जाने तिमीहरूका निमित्त मद्दतलाई नेपालदेषि सिपाही २ खटियेको छ सो साथ लि जानु । अस्तु लि जादा बाटामा कसैले नछुने गरी अलग भै जानु । पिसाब गर्नु पर्दा अर्काे साथीलाई दि गर्नु । कही बस्नु प¥यो भने जमिनमा नराख्नु रुखमा काठमा झुण्ड्याउने गर्नु ।
  •  अस्तु रिडी क्षेत्रमा छेपन भै सकेपछि तिमीहरू फर्की नेपाल आउनु । तिमीहरूलाई बाटो खर्च समेत तीन जना साविक बमोजिम कौसीतोसाषानाबाट दिनेछ । लि जानु ।
  •  सो अस्तु लि गै रिडी पुगेपछि श्री जनरल प्रतापसम्सेर जंगबहादुर राणा दाज्यैज्यूका हजुरमाथि लेखिया बमोजिम षबर दि यो पुर्जी देखाइ दफा दफामा लेखिया बमोजिम र अरू साविक बमोजिम गरी अस्तु छेपन गरी आउनु ।
  •  सो अस्तु छेपन गर्न जाने काममा त्रिशूलीसम्म जानालाई पुलिस २ खटाइ बक्सेको छ । निजीहरूलाई पनि साथमा लि गै त्रिशूली पुगेपछि निज पुलिसहरूलाई फर्काइ पठाइ दिनु ।

श्री ३ महाराजको निधन भए लगत्तै उत्तराधिकारीका तर्फबाट देशभरिका गौंडा–गोश्वारामा उर्दी जान्थ्यो । नयाँ श्री ३ महाराज नियुक्त भएको जनाउ ल्हासा र कलकत्ताका वकिलका साथै पटना अलैँचीकोठीसमेतलाई खड्ग निसानाको सनद पठाइन्थ्यो । ‘श्री ५ महाराजाधिराजबाट महाराजी प्राइमिनिस्टरी बहाल हामीलाई बक्स्याको हुनाले अब उप्रान्त कामकाज गर्दा र रुपियाँ पैसा खर्च गर्दा हाम्रा भाइ (फलानो)को छाप लागेको पुर्जीबमोजिम गर्नू, अरू कामकाज गर्दा अर्काे सवाल सनद नहुँदासम्म ऐन र साविक सवाल सनदबमोजिम गर्ने काम गर, रोजिन्दा नचलाई नहुन्या खर्च साविकबमोजिम चलाउनू’ भनेर आदेश पठाइन्थ्यो । 

आदेशको भाषा एकै हुन्थ्यो । आदेशको व्यहोरा कडा हुन्थ्यो । मारिदिनू भन्नेसम्मका आदेश हुन्थे । चन्द्रशमशेरको निधनपछि डोटी गौँडाका हाकिमलाई पठाइएको आदेश– “आगे डोटी गौडाका हाकिम कारिन्दाके यथोचित् उप्रान्त श्री ३ महाराज दाज्यैज्यू आज दिनको ३ बजे श्री दैवका इच्छाले सोर्गेवास भयाको र श्री ५ सर्कारबाट महाराजी प्राइमनिस्टरी वहदा हामीलाई बक्सेको हुनाले हामीले उठाइ बक्स्यौँ । अब तेसतर्फबाट आउने र यसतर्फबाट जाने मानिसलाई कम्यान्डर इन चिफ जनरल जुद्धसम्सेर जंगबहादुर राणा वा हाम्रा सनद पुर्जी नभै बीचमा कसैले यो काम गर्नु भनी सनद पुर्जी ली आयो भने सो काम नगरी सो सनद र मानिस समेतलाई पक्री हाम्रा हजुर्मा जाहेर गरी जवाफ बक्स्या बमोजिम गर्नु । कसैले सो बमोजिम पक्रदा हातहतियार चलायो भने तिमीहरूले हातहतियार चलाइ काटी मारिदिनु । यो सनद पुगेपछि अरू जो जो हाम्रा र भाइ कम्यान्डर इन चिफ जनरल जुद्धसम्सेर जंगबहादुर राणाको सनद पुर्जी भै आउँछ सो बमोजिम समेत काम गरी जाहेर गर्नु । सो बमोजिम नगरेको रहेछ भने हाम्रा तजविज माफिक सजाय होला । यो सनद पुग्न साथ हाम्रा १९ तोपका सलामी दी वाहा पछि गमीका ६७ तोपको मिनेटगत दीनु । १४ दिनका दिन मार्चपास गरी फेरी १९ तोपको सलामी दिनु । अड्डाखाना पल्टन कम्पनीलाई सनद पुगेका मितिदेखि ५ दिन तालिमसमेत दिनु । आसौच बार्ने कागज यसै भाषामा पठाइ बक्सेको छ । सो बमोजिम गर्नु गराउनु ।” 

आशौच कुटुम्बले मात्र नभई जागिरदारले पनि बार्नुपथ्र्याे । दक्षिण कमान्डिङ जर्नेल रुद्रशमशेरका नातिको निधन हुँदा श्रीरामसमशेरलाई बडागुरुज्यूले १९७३ सालमा ‘पोहोर सालमा पनि स्वकुराको धर्मशास्त्र हेर्दा आफूभन्दा मुनीका स्वर्गे भएमा मुन्डन गर्नुपर्दैन भन्ने लेषीएको हुँदा स्वकुरा श्री ३ महाराजका हजुरर्मा बिन्ती चढाउँदा मुन्डन गर्नुपर्दैन टोपी जुत्तासम्म बारे हुन्छ भन्ने हुकुम बक्सेको छ’ भनी लेखेर पठाएका थिए । चन्द्रशमशेरको निधन हुँदा ‘उपाध्या बाहेक गैह्र जागिरदारले जुँगाबाहेक कपाल मुण्डन गरी तीन दिन जुठो बारी १३ दिनसम्म छालाको जुत्ता लाल टिका रातो पोसाक नलगाइ वर्षी बार्ने’ भनी उर्दी जारी भएको थियो । 

भीमशमशेरको निधन हुँदा गोरखापत्रमा १९८९ भदौ २१ गते जुद्धशमशेरको ‘स्पिच’ छापिएको थियो । त्यसमा आशौचका बारेमा केही बुँदा उल्लेख गरिएको थियो, “...अघीदेखी स्वर्गे हुनासाथका अपशोचमा पनी रुपैञा राख्ने चलन भै आएको हो तर हामी हिन्दु जातिमा यस्तो चलन गर्नु राम्रो नहुने हुनाले आज नराखी भोलि मात्र राख्नु बढिया होला, भोलीमात्र गरौँला । जुठोसँग आशौच बार्ने हिन्दुको धर्म हुनाले बिकुलले सलामी दिन बन्द गर्ने । घाटमा जाने पल्टन बाहेक ५ दिन बिदा दी पाँच दिनदेखी १२ दिनसम्म कोतमा सामेलमात्र गरी छाडिदिने गर्नु ।”

१९९८ साल जेठ ३ गतेको खड्ग निशानासहित आशौच बार्ने इस्तिहार जारी गरियो । ‘अब उप्रान्त १३ दिन बाद वर्ष दिनसम्मलाई सेपटी नहालेको सेतो एकसरो लुगा टोपी लगाई वार्षिक गर्न हुँदैन । उपाध्याय ब्राह्मणले भने १३ दिनपछि पनि वर्षदिनसम्म सेतो टोपी लगाइ छालाको जुत्ता बार्नू’ भन्ने नियम बनाइयो । नयाँ इस्तिहारले सपिण्डभित्रका दाजुभाइलाई १३ दिनपछि विवाह व्रतबन्धजस्ता उत्सव फुकाइदिएको थियो ।   

श्री ३ चन्द्रशमशेरको निधनपछि जारी प्रसस्ती

  • स्वस्ति श्री मद्दती प्रचण्ड भुजदन्डेत्यादि प्रज्वल नेपाल ताराधीस श्री श्री श्री महाराज भीमशमशेर जंगबहादुर राणा के.सी.एस.आइ. के.सी.भी.ओ. अनरेरी कर्णेल वृटिस आर्मी प्राइमिनिस्टर एण्ड सुप्रिम कम्यान्डर इन चिफ कस्य रुक्का–
  • स्वर्गेवासी श्री ३ महाराज चन्द्रशमशेर जंगबहादुर राणाका गाथमा अघिदेखी कफको बेमार थियो तापनि बैद्य डाक्टरको इलाज र वाहाबाट गरिबक्सेको परेजको प्रयत्नले गर्दा बेथाले उस्तो ज्यादा गलानी गराउन सकेको थियेन ।
  • फ्रेन्च गभरमेन्टबाट श्री ३ महाराजका हजुर्मा ग्राहण्ड क्रसको खिताप आयेको ८६ साल मार्ग ६ गतेका दिन पैह्री बक्सने बन्दोबस्त भैरहेकोमा मार्ग ५ गते ४ का दिन देखी एक कदम बेथा बढी खितापको उत्सवलाई गद्दी दर्वार सवारी हुन तकलिफ पर्ने भै गद्दी दर्वारमा दर्वार हुने काम हल्ट भै मार्ग ७ गते ६ का दिन सिंघदर्वार मै सामेल गराइ खिताप पैह्री बक्सेको थियो । दिन पर दिन बेथाले जोर गरी गाथमा ग्लानि हुँदै आयेकोले श्री कम्यान्डर इन चिफ लगायत सबै दाज्यू भाइ बराबर सिंघदर्वार सवारी इलाजको बन्दोबस्त र देशबाट डाक्टर झिकायेको थियो ।
  • मार्ग...गतेका दिनदेखी परी आएको काम गर्न सिंघदरबार मै सुन्ने गरी देहायको जिम्मा रह्यो ।
  • मार्ग १ गते बेथा कडा भै आया पछि श्री कमान्डर इन चिफले अब सिंघदर्वार आउनु पर्दैन घरमै बस्नु भन्ने हुकुम भै मार्ग १० गतेका दिन अरू सबै सिंहदरबार सवारी भै श्री कमान्डर इन चिफ टंगालमा राज भै रहेको थियो । साध्ये नहुने अर्थात् कहाँ असाध्ये देखिएपछि श्री ३ महाराजको सवारी खोपीबाट चिफमा सवारी चलाइ जलजोगको बन्दोबस्त भयो ।
  • दैवको इच्छाले दिउँसो ३ बजे जलजोग पाइ स्वर्गे होइबक्सीयो । सो खबर बडा गुरुज्यू तर्कराज पण्डितज्यू र श्री ज. तेजसम्सेर जंगबहादुर राणा श्री मेज प्रचण्डसम्सेर जंगबहादुर राणा टंगाल सवारी भै कम्यान्डर इन चिफका हजुर्मा जाहेर गरिबक्सियो ।
  • त्यति भएपछि जंगी निजामती रेजिमेन्टको बिकुल लागि टुँडिखेलमा सामेल गराइ टंगाल ज्यायुलाखेल भाटभटेनी ढोकामा सामेल हुने बाहेक अरू पल्टन व्यान्डले टुँडिखेल कोतबाट बन्दुक झिकी सिंहदर्बार लगी दाजु भाइ भै भारादार पल्टन व्यान्ड गैह् अगाडि पछाडि राखी स्वर्गेवासी श्री ३ महाराजको लास पशुपति आर्यघाटमा चलायो ।
  • तहाको काम गर्नालाई र क्रियापुत्रीहरूलाई चाहिने सराजाम कौसीतोसाषानाले तयार गरी दागबत्ती भयेपछि दाज्यू भाइ र पल्टन अफिसर चाहिने जति रही अरू फर्के ।
  • क्रियापुत्रीलाई नफर्किन्ज्यालसम्म श्री मेज हरिसमसेर जंगबहादुर राणा पशुपति आर्याघाटमै दाइको र अस्तु छेपनहरूमा पुत्री फर्काउने सबै बन्दोबस्त गरी बक्सियो । अस्तु छेपन रिडीमा क्रियापुत्री सिंहदरबारमा रही कालमोचनमा क्रियाको काम भयो ।