• १० मंसिर २०८१, सोमबार

लिच्छवि लिपिको चिरफार

blog

लिखित दस्तावेजहरू इतिहासका प्रमुख अध्ययन सामग्री हुन् । इतिहासका दस्तावेज तत्कालीन समयमा प्रचलित लिपिमा लेखिने भएकाले लिपिज्ञान इतिहास अध्ययनका लागि आवश्यक पर्दछ । नेपालको इतिहासमा काठमाडौँको मालीगाउँमा भेटिएको जयवर्माको ठहरिएको मूर्तिमा उत्कीर्ण छोटो अभिलेख आजसम्म भेटिएकामध्ये सबभन्दा पुरानो मानिन्छ । लिच्छविकाल नाम दिइएको नेपालको इतिहासको एउटा कालखण्डमा प्रचलित लिपि भएको र नेपाली मौलिकतासमेत झल्किने कारण यसलाई लिच्छवि लिपि भन्नु तर्कसङ्गत देखिन्छ भन्ने केही विद्वान्को राय छ । लिपिविद् डा. नयनाथ पौडेलको हालै ‘लिच्छवि लिपि’ शीर्षकमा एउटा ग्रन्थ प्रकाशन भएको छ । डा. पौडेलले ग्रन्थमा उक्त लिपिका वर्णमाला, वर्णहरूका आकारप्रकार आधिकारिक अभिलेखहरूको सन्दर्भसहित परिशीलन गर्नुभएकाले यो ग्रन्थको छुट्टै महìव देखिन्छ । 

लिच्छवि लिपिको विकास ब्राह्मी लिपिबाट भएको हो । ब्राह्मी लिपिको उत्पत्ति कहाँ र कसरी भयो भन्नेबारे फरक फरक धारणा सार्वजनिक भएका छन् । बौद्ध तथा जैन ग्रन्थहरूबाट प्राप्त सूचनाका आधारमा प्राचीन भारतीय उपमहाद्वीपमा ब्राह्मीबाहेक अन्य लिपि पनि प्रचलनमा थिए भन्ने प्रष्ट हुन्छ । तीमध्ये केहीबाहेक अन्य लिपिको कुनै अभिलेख भेटिएको छैन । नागरीलगायत बङ्गाली, गुप्त, कुटिला, शारदा आदि लिपि ब्राह्मीबाटै विकास भएका हुन् । लुम्बिनी र निग्लिहवामा प्राप्त मौर्य सम्राट् अशोकको अभिलेख ब्राह्मी लिपिमा नै लेखिएका छन् । काठमाडौँको चाबहिलस्थित धन्दो चैत्यको गर्भगृहबाट पनि ब्राह्मीमा लेखिएको छ वटा अक्षर प्राप्त भएका छन् । पौडेलको पुस्तकले ब्राह्मी लिपिका वर्णको परिचय दिएर नेपालमा पाइएका यी अभिलेखबारे पनि सङ्क्षिप्त चर्चा गरेको छ ।

लेखकले ग्रन्थको सुरुवात लेखनकलाको उत्पत्ति र प्राचीनताको चर्चाबाट गर्नुभएको छ । तेस्रो अध्यायमा ब्राह्मी लिपिको चर्चा गरिसकेपछि ग्रन्थ मूल विषय अर्थात् लिच्छवि लिपिमा प्रवेश गर्छ । जयवर्माको अभिलेखलाई छोडेर लगभग चार सय वर्षको लामो अवधिमा लिपिमा धेरथोर परिवर्तन हुनु स्वाभाविक हो । त्यसैले वर्ण तथा मात्राको आकार र स्वरूपमा पनि विविधता देखिएका छन् । जयवर्माको अभिलेखको मिति पठनमा विवाद छ । अध्याय दश यही अभिलेखका लागि समर्पित छ । चौथो अध्यायमा स्वर, व्यञ्जन र संयुक्त वर्णको परिचय दिइएको छ । लिच्छवि लिपिमा संयुक्त वर्ण जटिल छन् । प्रचलित देवनागरीमा संयुक्त वर्णमा सामान्यतया एउटा वर्णमा अर्काे वर्ण झुन्डिएर दुई वटा, रेफ भएको अवस्थामा बढीमा तीन वटासम्म वर्णहरू एउटै वर्णजस्तो बन्न सक्छन् । तर लिच्छविमा शब्दको अन्तिम वर्णमा हलन्त लाग्ने अवस्थाबाहेक शब्दको बीचमा हलन्त चिह्नसहित वा रहित आधा वर्ण हुँदैनथ्यो । त्यसैले एउटै वर्णमा चार पाँच वटासम्म वर्ण झुण्डिएर वर्णहरूको साङ्लो नै बन्थ्यो । तिब्बती लिपिमा त्यो अवस्था अझै छँदैछ ।

लिच्छवि लिपिमा सग्लो व्यञ्जन वर्ण देवनागरी लिपिमा जस्तै अकारसहित हुने गथ्र्याे । त्यसैले अकारको छुट्टै कुनै मात्रा थिएन । वर्णमा आकारादि कुनै मात्रा लागेपछि अकार लोप भई मात्राअनुसारको उच्चारण हुन्थ्यो । नेपालीका लागि प्रचलित स्वर वर्णमा हिजोआज ऋकारसहित तेह्र वटा वर्णको सूची उपलब्ध छ । अ बाहेक हरेक स्वर वर्णका लागि मात्रा चिह्न पनि उपलब्ध छन् । त्यसबाहेक नासिक्य स्वरका लागि चन्द्रबिन्दु पनि प्रचलनमा छ । लिच्छवि लिपिमा स्वतन्त्र स्वर वर्णहरू अ, आ, इ, उ, ए र ऐ मात्र भेटिएका छन् । मात्राको हकमा भने आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं र अः सबैका लागि चिह्नहरू प्राप्त भएका छन् । पुस्तकले यी मात्रामा भेटिएका भेदलाई पनि सोदाहरण प्रस्तुत गरेको छ । चन्द्रबिन्दु भेटिएको छैन । “ओम्” दाबी गरिएको चिह्नमा पनि चन्द्रबिन्दु भन्न सकिने छुट्टै चिह्न देखिन्न । मात्राहरूको आकार तथा वर्णमा जोडिने स्थान भेदलाई लेखकले ‘किसिम’ भेदको रूपमा चर्चा गर्नुभएको छ । लेखकले आकारका नौ किसिम, इकारका दुई किसिम, ईकारका दुई किसिम, तीन किसिमका उकार, ऊकारका तीन किसिम, एक किसिमको ऋकार, दुई किसिमका एकार, दुई किसिमका ऐकार, ओकारका दुई किसिम, औकारका दुई किसिम, हलन्तको छ किसिम, शिरोबिन्दुको दुई किसिम र दुई किसिमकै विसर्गको उल्लेख गर्नुभएको छ । एकै वर्णमा फरक फरक ‘किसिम’का मात्रा लाग्न सक्थे । एउटै अभिलेखको एउटै वर्णमा लागेका फरक फरक किसिमका मात्रालाई पनि लेखकले महìवका साथ समेट्नु भएको छ ।

मात्रा लगाउने सम्बन्धमा लिच्छवि लिपिमा विभिन्न विकल्प थिए । दुई ठाडा दण्डहरू भएको वर्णमा अनुकूलता हेरेर जुनसुकै दण्डमा मात्रा लाग्न सक्थ्यो । संयुक्त वर्णमा देवनागरीमा जस्तै सामान्यतया माथिल्लो वर्णमा मात्रा लाग्ने हो र त्यसको उच्चारण चाहिँ तल्लो वर्णसँग अर्थात् संयुक्त वर्णको अन्तमा नै हुन्छ । यदि संयुक्त वर्णको तल्लो वर्ण तन्किएर माथिल्लो वर्णको शिरोरेखासम्मै पुगेको छ भने मात्रा अन्तिम वर्णमा पनि दिने विकल्प रहन्छ । देवनागरी लिपिमा पनि दोस्रो वर्ण ह, म, य हुँदा संयुक्त वर्णको मात्रा दोस्रो वर्णमा लागेको देखिन्छ । रेफसहितको संयुक्त वर्णमा मात्रा दिँदा दुई दण्डवाला वर्ण छ भने एक एक वटा वर्णमा रेफ र मात्रा लाग्ने विकल्प रहन्थ्यो तर एउटै मात्र दण्ड भएको वर्ण छ भने पहिले रेफ लगाएर त्यसको माथि मात्रा लगाइन्थ्यो । उदाहरणका लागि ‘द्भ्र्यौ’ लेख्नुप¥यो भने पहिला द लेखेर त्यसको मुनि भ, त्यसको मुनि य झुन्ड्याउने र दको माथि रेफ, दायाँतिर आकार, बायाँतिर एकार दिएर रेफको माथि अर्काे एकार दिनुपथ्र्यो । अथवा दुवै एकार रेफको माथि पनि दिन सकिन्थ्यो ।

वर्णहरूका आकारगत भेदलाई पनि लेखकले विशेष स्थान दिनुभएको छ । स्वर वर्णहरूको आकार भेदलाई चौथो अध्यायमा विशद चर्चा गरिएको छ । व्यञ्जन वर्णहरूको हकमा चौथो अध्यायमा एक एक वटा भेदसहित वर्णमालाको मात्र परिचय दिएर लिच्छवि लिपिको विकासको चर्चा गरिएको एघारौँ अध्यायमा आकारगत भेदहरूबारे बताइएको छ । कतिपय भेदहरू संयुक्त वर्णमा भेटिने तर स्वतन्त्र रूपमा नभेटिने अवस्था पनि छ । ञ वर्णका सबै भेद संयुक्त वर्णमा मात्र भेटिएका छन् । ‘र’ वर्णको हकमा लिच्छवि लिपिमा प्रचलित देवनागरी लिपिमा जस्तै विविधता थियो । लेखकले लिच्छवि लिपिमा ‘र’ को चार प्रकारका भेदको चर्चा गर्नुभएको छ (पृ. ११३) ।

लिच्छवि लिपिमा ठूला ठूला सङ्ख्या पनि लेख्न सकिन्थ्यो । लिच्छविमा शून्यका लागि सङ्केत थिएन । दश, बीस, तीस, आदिका लागि अलग अलग सङ्केत थिए । त्यसैगरी सय, दुई सय, तीन सयदेखि एक हजारलाई जनाउने चिह्न पनि भेटिएका छन् । ती सङ्केतहरू वर्णमालाकै सरल वा संयुक्त वर्णमध्येका हुन्थे । गणना दशमलव प्रणालीमा नै हुन्थ्यो । तर सङ्ख्या लेखन स्थानमानका आधारमा हुन्नथ्यो । उदाहरणका लागि ४१५ लेख्नु पर्दा ४००, १० र ५ का लागि तीन वटा अलगअलग चिह्न प्रयोग हुन्थे । लिच्छविकालका अङ्क चिह्नहरू अठ्ठाइसथरीका भेटिसकिएको छ (पृ. ५२२) ।

विवेचना

छपाइका लागि लिच्छवि लिपि उपलब्ध छैन । उसमाथि पुराना लिपिका वर्णमा भेटिने विविधता नै त्यसको सम्पत्ति हो । आकारप्रकारका हरेक फरकपनलाई टङ्कणमा समावेश गर्न सम्भव पनि हुन्न । त्यसैले हरेक वर्ण सावधानीपूर्वक चित्रको रूपमा हातैले तयार पार्नुपर्ने हुन्छ । यसमा थोरै असावधानीले अपेक्षित वर्ण नलेखिन सक्छ । उदाहरणका लागि पृ. ११३ मा ‘द्रव्याण्या¥य’ भनेर लेखिएको लिच्छवि लिपिमा ‘द्रव्याøय¥र्य’ भएको छ ।

सीमित साक्षरता भएको उक्त समयमा अभिलेखहरू लेखनदासहरूबाट लेखाइन्थ्यो । लेखनदास विद्वतामा भन्दा पनि कलाकारितामा भर गर्ने व्यवसाय हो । ढुङ्गा, धातु आदिमा खोपेर लेख्न सक्षम र योग्य कलाकार चाहिन्थ्यो । अक्षरहरूमा एकरूपता कायम राख्न नसकिने प्रमुख कारण यो पनि हो । लामो अन्तराल र कुनै मानक पनि नभएको अवस्थामा थोरै फरकपनलाई अस्वाभाविक मान्न मिल्दैन । उदाहरणका लागि आकारका लागि नौ वटा भेदको चर्चा छ । तर त्यसको अनुपातमा उकार, इकारमा सीमित भेदहरू भेटिएका छन् । वर्णहरूमै पनि सूक्ष्म भेद यथेष्ट छन् । स्वर वर्णका भेदको चर्चा त अगाडिकै पाठमा छ तर व्यञ्जन वर्णहरूको भेदको चर्चा अगाडि नै नगरिएकाले त्यसको राम्रो भेउ नपाएको पाठक मात्राको चर्चा गरिएका पछिल्ला पाठमा बेलाबेलामा अल्मलिन सक्छ । अर्काे कुरा ब्राह्मी लिपिमा पनि रहेको भनेर पुस्तकमै उल्लेख गरिएको ओ वर्ण लिच्छविमा भेटिएको छैन । अन्य स्वरवर्णहरूको छुट्टै चिह्न चाहिँ छैन । तर मात्रा चाहिँ छन् । संस्कृतमा भेटिने ऋकारको दीर्घ रूपको वर्ण भएको एउटा शब्दको उल्लेख गरिएको छ (पृ. ३१८) ।

उपलब्ध अभिलेखका आधारमा जेजति निष्कर्ष निक्लेको छ, लिच्छवि लिपि त्यति मात्र हो त ? लेखकबाट यसबारे पाठकको सम्भावित जिज्ञासालाई सम्बोधन गर्ने गरी छोटकरी विमर्श अपेक्षित थियो । पुस्तकमा ब्राह्मी लिपिको सङ्क्षिप्त परिचय छ, ब्राह्मीबाटै लिच्छवि लिपि निसृत भएको प्रसङ्ग पनि छ । तर दुई लिपि जोड्ने पुलको चर्चा भेटिन्न । उसो त, एकै ग्रन्थमा सबै विषय समेटिन सक्दैन । त्यसैले यो पुस्तक प्रकाशनले लेखकलाई पाठकका अतिरिक्त जिज्ञासाको समाधान गर्ने गरी अर्को ग्रन्थ तयार गर्ने दायित्व पनि थपिदिएको छ ।

लिच्छवि लिपिमा अहिलेसम्म “करिब २४० ओटा अभिलेख प्रकाशित भएका छन्” (पृ. ५९) । कैयौँ अभिलेख छोटा छोटा छन् । शिलास्तम्भ, शिलापत्र, जलद्रोणी, मूर्तिपादपीठजस्ता साना साना स्थानमा लेखिएका अभिलेख पर्याप्त लम्बाइका हुन सक्दैनन् । कतिपय अभिलेख टुटफुट आदिका कारण क्षति भइसकेका पनि छन् । यसले गर्दा सीमित तथ्याङ्कबाट निकालिएका निष्कर्ष परस्पर बाझिने पनि हुन सक्छन् । उदाहरणका लागि पुस्तकले २०० को अङ्कका लागि दुई खाले तर्क गरेको छ । पहिलो, “२०० लेख्नु प¥यो भने सयको अङ्कचिह्न ‘अ’ मा दायाँपट्टि एकको चिह्न जोड्ने गरिन्थ्यो” (पृ. ५३७) तर पृ. ५७७ मा २०० अङ्कका लागि ‘अ’ मा तर्कुल्ले लागेको अर्काे चिह्न दिइएको छ । आकारका लागि पनि ‘अ’ मा तर्कुल्ले लगाउने गरिन्थ्यो (किसिम ३, पृ. १३८) । पृ. ५३६ मा अङ्क २०० का लागि उल्लेख गरिएका चिह्नमा लागेका मात्रा आकारका लागि लगाइने किसिम १ अनुसारको मात्रा जस्तै देखिन्छ । यी दुई चिह्नको तुलना गर्दा २०० का लागि लिच्छवि लिपिमा ‘आ’ को चिह्न प्रयोग गरिन्थ्यो भन्ने निष्कर्ष निस्कन्छ । यो तर्क मानेको खण्डमा अङ्क २०० का लागि पृ. ५३७ कै वर्णनअनुसार दाबी गरिएको जयवर्माको अभिलेखको मिति (पृ. ४३९–४००) पनि प्रभावित हुन सक्छ । अङ्क २०० को लागि ‘आ’ ठहर भयो भने अङ्क ३०० का लागि प्रयोग गरिने चिह्नको पृ. ५३७ को व्याख्या पनि परिवर्तन हुन सक्छ । 

भाषावैज्ञानिक विमर्श

इतिहासका किताबमा संस्कृतलाई लिच्छविहरूको ‘राजभाषा’ भनेको पाइन्छ । राजभाषा भनेको ठ्याक्कै यही हो भन्ने प्रष्ट छैन । लिच्छवि राजाहरू संस्कृतमा संवाद गर्थे ? जनताको भाषा पक्कै पनि संस्कृत थिएन । लिच्छविकालीन समाजमा बोलिचालीको भाषा कुन थियो भन्ने नै स्पष्ट छैन । अशोकको लुम्बिनीको अभिलेख प्राकृतमा थियो, संस्कृतमा थिएन । लेखनदासहरूले अभिलेख उत्कीर्ण गर्दा आफ्नो भाषाको प्रभाव अभिलेखमा प्रवेश गराएका अवशेष खोजेर केही बहस गर्न सकिन्छ । उदाहरणका लागि गणदेव तथा भौमगुप्तको संवत् ४८२ को सतुङ्गलको अभिलेखमा एउटा शब्दमा ‘व’ हुनुपर्नेमा ‘ब’ भएको थियो (पृ. ३९८) । धनवज्र वज्राचार्यले सच्याइएको प्रति नै छपाएका छन् । भाषावैज्ञानिक तर्कअनुसार ‘ब’ र ‘व’ को यो त्रुटिले लेखकको भाषा बेग्लै भएको सङ्केत गरेको मानिन्छ । नेपाली लेखनमा पनि छ यो समस्या । त्यस्तै, चन्द्रबिन्दु नदेखिएकाले लिच्छविमा नासिक्य स्वर रहेनछ भन्ने अनुमान गर्न सकिन्छ । अभिलेखमा उल्लेख भएका शब्दका अन्तमा हलन्त चिह्न नदिइएका व्यञ्जनको उच्चारण हलन्त हुन्थ्यो कि अजन्त भन्ने स्पष्ट छैन । हामीसँग अहिले भएको वर्णमाला उच्चारण–वर्णमाला होइन, लिखित–वर्णमाला हो । संयुक्त वर्णमा भेटिने व्यञ्जनहरूको साङ्लोको अध्ययनबाट अक्षर (सिलेबल) संरचनाबारे अनुमान गर्न सकिन्छ ।

लिच्छविहरूको भाषाको निक्र्योल गर्न लिच्छवि को थिए भन्ने कुराले पनि सहयोग गर्छ । चल्तीको न्यारेसनले लिच्छविलाई भारतको वैशालीबाट आएको बताउँछ । पशुपतिमा भेटिएको जयदेव द्वितीयको अभिलेखमा उल्लेखित वंशावली वर्णनलाई सही मान्ने हो भने लिच्छविको इतिहास विक्रमपूर्वको सातौँ शताब्दीसम्म पुग्छ । यो समय भनेको वैशालीमा लिच्छविहरू प्रवेश गर्नुअघिको समय हो । जे. पी. शर्माको ‘रिपब्लिक्स इन एन्सन्ट इन्डिया’ मा वैशालीका लिच्छविहरू उत्तरतिरको पहाडबाट झरेको र पहाडी क्षेत्रमा चाहिँ धेरैअघि राजस्थानतिरबाट आएका हुनसक्ने तर्क गरिएको छ । लिच्छवि अभिलेखहरूमा संस्कृतइतर शब्द प्रशस्तै छन् । ती शब्दको वर्णमाला र शब्दविन्यास खोजी गर्न सके त्यसले पनि केही सङ्केत दिन सक्छ । त्यसैले यी शब्दहरू र अभिलेखले अप्रत्यक्ष रूपमा छाडेका भाषिक छापहरूको विश्लेषण गर्न सके लिच्छविकालीन भाषाको एक प्रकारको चित्र तयार गर्न सकिने सम्भावना अझै छ ।