• ६ साउन २०८१, आइतबार

तिब्बतस्थित मानसरोवर तीर्थयात्रीका लागि बन्याे टेण्ट

blog

पर्यटकका लागि लेकधिंगामा तयार पारिएको क्याम्प, तस्विर - राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, भदौ ४ गते । लाप्चाबाट तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि नाम्खा गाउँपालिका–१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ । काठमाडौं हुँदै नेपालगञ्जबाट सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो । 

पर्यटक व्यवसायी विजय लामाले भदौ ६ गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु हुने भएपछि धिंगामा क्याम्प खडा गरिएको बताउनुुभयो । उहाँले लेकधिंगामा एक सय जना पर्यटकहरु अट्ने गरी टेण्ट हालेर क्याम्प खडा गरिएको बताउनुुभयो । सो क्षेत्र बास बस्ने अन्य विकल्प नभएपछि बाहिरबाटै टेण्ट लगेर क्याम्प खडा गर्नुपरेको हो । 

भदौ ६ गते ५० जनाको टोली सिमकोट आइपुग्नेछ भने सोही दिन पैदलमार्गबाट लेकधिंगा बास बस्न जानेछ । लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । यसका लागि भदौमा पाँच वटा हेलिकोप्टरहरु सिमकोट आइपुग्ने तयारी गरिएको छ । तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सिमकोटमा भएका दशदेखि १२ वटा बोलेरो जीप बुक गरिएको छ ।

मिति निश्चित नभए पनि अङ्ग्रेजी महिना सेप्टेम्बरमा भारतीय सद्गुरू आउने कार्यक्रम तय भएको उहाँले बताउनुुभयो । उहाँसहित यसवर्ष एक हजारदेखि एक हजार ४०० सम्म धार्मिक पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुनेछ । गतवर्ष भदौ महिनामै उहाँले लाप्चाबाट ५० जना पर्यटकसहित मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो ।

उहाँको यात्रापछि अन्य सात वटा भारतीय तथा अन्य धार्मिक पर्यटकले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । यसवर्ष सद्गुरूसहित धार्मिक पर्यटक धेरै आउने भए पनि केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी सीता परियारले सडकको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो ।