• ६ साउन २०८१, आइतबार

पढ्नैपर्ने दिव्य भाषा संस्कृत

blog

संस्कृत संसारकै पुरानो भाषा हो। देवताहरू पनि यही भाषामा कुराकानी गर्थे भन्ने विश्वासका आधारमा यसलाई ‘देववाणी’ पनि भनिन्छ। यसको व्याकरण व्यवस्थित र स्थिर छ। संसारको पहिलो ग्रन्थ मानिएको वेददेखि लिएर महाभारत, पुराण, रामायण, उपनिषद्जस्ता प्रातःस्मरणीय ग्रन्थ यही भाषामा लेखिएका छन्। अनेक नीतिनियम र आचारविचारदेखि लिएर, संस्कार, छन्द, ज्योतिष शास्त्र, वर्ण शिक्षा, नाटक, भूतप्रेत विद्या, इन्द्रजाल र तन्त्रमन्त्रका शास्त्रसमेत यही भाषामा लेखिएको पाइन्छ । यही भाषामा उल्लिखित विभिन्न व्यवस्थाजन्य मान्यताबाटै हिन्दु धर्मावलम्बीको दैनिक जीवन चल्ने गरेको छ। संस्कृतलाई नासाले अन्तरिक्षमा समेत प्रयोग गर्न सकिने संसारको सबैभन्दा स्पष्ट र उत्कृष्ट भाषा भनेको छ।

संस्कृत संसारकै समृद्ध भाषा पनि हो। एउटै शब्द ‘हात्ती’ बुझाउन एक सय शब्दभन्दा बढी शब्दको प्रयोग गरिने यस भाषामा संसारका अन्य कुनै पनि भाषामा भन्दा बढी शब्द (१०२ अर्ब ७८ करोड ५० लाख) भएको बताइन्छ। कम्प्युटर सफ्टवेयरका लागिसमेत सबैभन्दा उपयुक्त ठहर गरिएको यस भाषामा कम शब्दमै वाक्य पूरा गर्न सकिने र बढीभन्दा बढी शब्द बनाउन सकिने अद्भूत क्षमता छ । यो भाषा बोल्दा जिब्राका सबै मांसपेशी सक्रिय हुन्छन् । मानव शरीरका सबै तन्त्रिकातन्त्र सक्रिय रहन्छन् र सकारात्मक ऊर्जा प्रवाहमा समेत सघाउने कुरा बताइन्छ। त्यति मात्र होइन, संस्कृतमा कुराकानी गर्नेलाई ब्लडप्रेसर, कोलस्टोरल तथा मधुमेह रोग लाग्दैन भनिन्छ। संस्कृत भाषा ज्यादै वैज्ञानिक छ। यसमा अङ्ग्रेजीमा जस्तो कतै ‘आर’, कतै ‘के’ र कतै ‘पी’ अक्षर चुपचाप लाग्ने हुँदैन। 

यसमा जे लेखिन्छ, त्यही बोलिन्छ। त्यसैले भविष्यमा बनाइने सुपर कम्प्युटर यही भाषाका आधारमा बनाइने वैज्ञानिक योजना रहेको बताइन्छ।

संस्कृत भाषा साँच्चिकै दिव्य र महान् छ। विद्यार्थीका लागि स्मरण शक्ति बढाउन सहयोग गर्ने यस भाषामा जुन मिठास र लालित्य पाइन्छ, त्यो संसारका अन्य कुनै पनि भाषामा पाइँदैन। युवा तथा वृद्धले भन्दा पनि बालबालिकाले संस्कृतका विभिन्न स्तोत्र एवं श्लोकहरू सुमधुर वाणीमा वाचन गरेको सुन्दा वातावरण नै मोहित र रोमाञ्चित बन्छ । अनेक मनोहर छन्दमा रचिएका अमूल्य ग्रन्थ तथा अकाट्य र तार्किक सुभाषितहरू लय हालेर पढ्दा, पढ्नेलाई जति आनन्द लाग्छ सुनेर बुझ्नेलाई त्योभन्दा बढी आनन्द लाग्छ। संस्कृत भाषाका थुप्रै बेजोड प्रतिभाले विभिन्न छन्द, रस, अलङ्कार र अनुप्रासको विचित्र प्रयोगका साथ काव्य सिर्जना गरेका छन्, ती पढ्दा, सुन्दा र बुझ्दा हामी, हाम्रो जीवन सार्थक भएको ठान्दछौँ।

उदाहरणका लागि यो एउटै श्लोक हेरौँ :

(क) तं भूषितामुक्तिमुदारहासं

  बन्दे यतो भव्यभवं दयाश्रीः।

यही श्लोकलाई पछाडिबाट पढ्न खोज्दा यस्तो हुन्छ ः

(ख) श्री यादवं भव्य भतोय देवं

    संहारदामुक्ति मुतासिभूतं।

यहाँ (क) को अर्थ हुन्छ ः उहाँ (रामचन्द्र)लाई प्रणाम गर्छु, जसको हाँसो गहिरो छ, जसको अवतार भव्य छ र जसको प्रत्येक अवस्थामा दया र भव्यता पैदा हुन्छ।

अनि (ख) को अर्थ हुन्छ ः म ती कृष्णजीलाई प्रणाम गर्दछु, जो यादव वंशका वंशज हुन्, जो पुत्र चन्द्रमाका स्वामी हुन्, जो पुतनालाई मुक्त गरिदिए, जो जीवनको अन्त्य गर्न चाहन्थिन् र जो ब्रह्माण्डको आत्मा हुन्। श्लोक एउटै छ, जसलाई सुल्टोबाट पढ्दा रामचन्द्रको प्रार्थना बुझिने! त्यसैलाई उल्टोबाट पढ्दा श्रीकृष्णको प्रार्थना हुने ! दुवैमा न छन्द भङ्ग छ, न त गति र यति नै । के संस्कृतबाहेक संसारमा यस्तो अद्भूत क्षमता भएको भाषा अर्को कुनै होला ? संस्कृत, संसारका थुप्रै भाषाको जननी भाषा पनि हो। त्यसैले हरेकजसो भाषामा धेरथोर शब्द संस्कृतका छन्। नेपाली भाषामा प्रयोग गरिने आधाभन्दा बढी शब्द (अक्षर, अक्षरशः, अधिकार, अधिवेशन, अध्यक्ष, अध्यादेश, अध्यात्म, अध्यागमन, अधिकरण, अधिराज्य, अधिवक्ता, अधिमूल्यन, अनावृष्टि, अनुगमन, अनुमति, अनुमोदन, अनुशासन, अपभ्रंश, अपव्याख्या, अपहेलना, अपशब्द, अपवाद, अपराध, अभिनय, अभिनन्दन, अभिज्ञान, अभिरुचि, अभियान, अभिलेख, अभिवृद्धि, अभिव्यक्ति, अभिमत, अभिवादन, अवज्ञा, अवस्था, आक्षेप, अनुयायी, अन्नमय, अन्वेषण, अन्वय, अवचेतन, आकार, आकृति, आक्रोश, आक्रमण, आग्रह, आक्षेप, आदेश, आन्दोलन, आरक्षण, आयोग, आराम, आनन्द, आशु, आश्वासन, आवेश, आशीर्वाद, आशौच, ईश्वर ...) संस्कृत मूलबाट आएका छन्। संस्कृतबाट रूपान्तर भएर आएका शब्दहरू (पहिलो, दोस्रो, तेस्रो, जेठ, असार, साउन, भदौ, भाइ, बहिनी, सासू, ससुरा, मामा, तामा, 

फूल, साँचो ...)समेतको हिसाब गर्दा संस्कृतबाट नेपालीमा असी प्रतिशतभन्दा बढी शब्द आएको कुरा व्याकरणविद् बताउँछन्। 

संस्कृत व्याकरण ज्यादै गहन, विस्तृत र जटिल पनि छ। संस्कृतका विद्वान भन्छन्, “यसको व्याकरण जान्न त के सुन्न मात्रै पनि बाह्र वर्ष लाग्छ।” हाम्रो नेपाली व्याकरणको आधार पनि संस्कृत नै हो। नेपाली विषयमा व्याकरणअन्तर्गत पढिने पुरुष, शब्दस्रोत, प्रकृति–प्रत्यय, सन्धि, कारक र विभक्ति जस्ता कुराबारे चर्चा गर्दा संस्कृतको कुरा नगरी धरै छैन । विद्यार्थीलाई एउटा शब्द ‘हस्ताक्षर’को प्रकृति–प्रत्ययसहित अर्थ बुझाउनुपर्दा– “हस्त (हात)ले लेखिएका अक्षर=हस्ताक्षर, हस्त+अक्षर=हस्ताक्षर, ‘हस्त’ शब्द संस्कृतबाट आएको हो र यसको अर्थ नेपालीमा ‘हात’ हुन्छ” भन्नैपर्छ। यसरी नपढूँ/नजानूँ भन्दा पनि नेपाली शिक्षक र विद्यार्थीले थोरै भए पनि संस्कृत नपढी/नजानी धरै छैन।

संस्कृत भनेको भाषाको नाम मात्र होइन। यसको अर्थ ‘संस्कार गरिएको वा शुद्ध पारिएको’ पनि हो। त्यसैले ‘संस्कृत’ हुनका लागि संस्कृत सुनेर मात्र भएन, संस्कृत आफैँले जान्नु पनि प-यो। पहिला वेद र संस्कृत ब्राह्मणबाहेक कसैले पनि पढ्ने÷सुन्ने अनुमति नै थिएन। वेद सुन्ने शुद्रको कानमा सिसाको झोल हालिदिनुपर्छ भन्ने नीतिगत मान्यता थियो । अब यो मान्यतामा परिवर्तन आएको छ। संस्कृत नजानी मानिस ‘संस्कृत’ नै हुँदैन। संस्कृत नजान्ने हो भने शास्त्र नै हराउँछ। शास्त्र हराए संस्कार हराउँछ। संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ। पहिचानै हराएपछि त राष्ट्र पनि के बाँकी रह्यो र! 

हाम्रो पहिचान भनेकै वैदिक सनातन हिन्दु धर्म र संस्कृति हो। यसअनुसार गरिने देवकार्य तथा पितृकार्यका सम्बन्धमा शास्त्रीय मत छ ः पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता। अर्थात् पितृहरूले वाक्य क्रिया शुद्ध गरे मात्र स्वीकार गर्दछन् (उनीहरू वचनको शुद्धता चाहन्छन् जब कि देवताहरू भावलाई प्रधानता दिन्छन्।) हाम्रो समाजमा ‘देवता दिने पितृ हर्ने’ भन्ने भनाइ पनि यही मान्यताका आधारमा चलेको हुनुपर्छ। यसअनुसार देवकार्यभन्दा पितृकार्यमा बढी सावधान रहनुपर्ने देखियो। त्यसका लागि ती कार्य गर्दा शुद्धसँग पढ्न सक्ने ‘पण्डित÷ब्राह्मण’ चाहियो। अन्यथा हित वा शुभका लागि कर्ताले गरेको कार्यको फल अहित वा अशुभ हुने रहेछ! तर आजकल संस्कृत शुद्धसँग पढेर कर्मकाण्ड तथा संस्कार सम्पन्न गराउन सक्ने ब्राह्मण पुरोहित ज्यादै कम छन्। 

यो समाजमा बसेपछि जस्तै क्रान्तिकारी भए पनि, “मलाई धर्ममाथि विश्वासै छैन,” “मलाई कर्मकाण्ड मनै पर्दैन,” “म कुनै पनि संस्कारको पालनै गर्दिनँ” भन्न पनि मिल्दैन । त्यसैले केही न केही गर्नैपर्ने भएपछि, शुद्धसँग संस्कृत पढेर संस्कार वा कर्मकाण्ड गराई देवता÷पितृलाई खुसी पार्न पनि सबैले संस्कृत पढ्नैपर्ने÷जान्नैपर्ने भयो । अहिलेको जमानामा पनि ब्राह्मणले मात्रै र कर्मकाण्डका लागि मात्रै संस्कृत पढ्ने÷जान्ने हो, त्यसको एकपक्षीय, स्वार्थपूर्ण र गलत व्याख्याको एकाधिकार एउटै वर्गमा मात्र सीमित हुने भयो। 

संस्कृत शिक्षालाई प्राविधिक शिक्षा पनि मान्न सकिन्छ। जसरी एक जना धेरै पढेकाले काम नपाई थोरै पढेको भए पनि खानेपानी, बिजुली, सिकर्मीको सीप भएको मान्छेले जताततै काम पाउँछ र पैसा कमाउँछ, त्यसरी नै थोरै पढेको भए पनि सहरमा बसेर कर्मकाण्ड गराउन सक्ने ब्राह्मणले केही वर्षभित्रै घर ठड्याएका छन्। त्यसैले यो भाषा सिक्न सके जीवन निर्वाहको माध्यम पनि हुने देखियो। 

पूर्वीय दर्शन र वाङ्मयबारे संसारको चासो बढेसँगै संस्कृत भाषाप्रतिको चासो पनि स्वाभाविक रूपमा बढेको छ। पश्चिमाहरूले यस भाषाका अमूल्य ग्रन्थमा उल्लिखित विषयको गहिरो अध्ययन गरेर त्यसअनुसार प्रयोगात्मक कार्य पनि गरी फाइदा लिँदै आएका छन्। यस भाषामा लेखिएका साठी हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपिलाई नासाले अध्ययन गरिरहेको बताइन्छ । दिमाग तेज बनाउने र स्मरण शक्ति पनि बढाउने भएको हुँदा लन्डन र आयरल्यान्डका विश्वविद्यालयमा यस भाषालाई अनिवार्य विषयका रूपमा अध्यापन गराउन थालिएको धेरै भइसकेको छ। 

संस्कृत एउटा जिउँदो र अजरामर भाषा हो। हामी भने यसलाई खुब घृणाका साथ, “कर्मकाण्डी पण्डितको भाषा हो, मृतभाषा हो” भन्दै कतै एकाह तथा पुराणमा फिँजाइएका संस्कृतका पुस्तकलाई भेटीपाती र पूजापाती गर्दै ढोगेर मैलो पार्दै पन्छने गर्छौं। संस्कृत भाषा हाम्री धर्तीमातासरह हुन्। यसैमा उभिएर बाँचेका हामीले यसकै महìव भुसुक्कै बिर्सनु हाम्रो महाभूल र घोर अकृतज्ञता पनि हो। त्यसैले पनि हाम्रोजस्तो तपोभूमि, पुण्यभूमि र देवभूमिमा सानै कक्षादेखि संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा अध्ययन अध्यापन गराउन थाल्नु एकदमै ढिला भइसकेको छ।