• ११ मंसिर २०८१, मङ्गलबार

बहुमत ल्याउने गरी पार्टी निर्वाचनको तयारीमा : सचिव भट्टराई

blog

तस्बिर : नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराई

काठमाडौं, भदौ ३ गते । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनुभएको छ ।

पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले निर्वाचन तयारी गरिरहेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै भट्टराईले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकाङ्क्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणापत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको जानकारी पनि सचिव भट्टराईले दिनुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘‘नेकपा (एमाले)सँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ र आउने दिनमा पनि एमाले बहुमत ल्याएर प्रदेश र सङ्घको सरकार सञ्चालन गर्ने आकांक्षाका साथ चुनाव जान्छ । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढि व्यावहारिक, बढी उपयोगी, गर्न सकिने अनावश्यक प्रसिद्धिको हिसाबले होइन्, एउटा राजनीतिक दलको हिसावले भोली गर्न सकिने मुद्दाहरुमा केन्द्रित हुँदै व्यावहारिक र विश्वव्यापी हाम्रा प्रतिबद्धतालाई सम्बोधन गर्दै अगाडि जाने घोषणापत्र हामी बनाउनेछौं ।’’

उहाँले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतिहरुलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताउनुभयो ।

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषण पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नुभयो ।

एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोही अनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताउनुभयो ।