• ११ मंसिर २०८१, मङ्गलबार

बिना गठबन्धन बहुमत ल्याउँछौं : अध्यक्ष ओली

blog

लीलाराज खड्का

बिर्तामोड, भदौ २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बिना चुनावी गठबन्धन बहुमत सिट जित्ने दावी गर्नुभएको छ । बिहीवार झापाको वनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता ओलीले गठबन्धनका नाममा जति दल मिले पनि एमालेलाई पराजित गर्न नसक्ने बताउनुभएको हो । एमालेलाई जनताको साथ रहेकाले केही फरक नपर्ने उहाँको भनाइ छ । 

एमाले जुनसुकै गठबन्धनका विरुद्ध एक्लै लड्ने शक्ति हो भन्दै आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेले सबैखाले गठबन्धनलाई परास्त गर्ने उहाँले दावी गर्नुभयो । एमालेसँग लड्न भिड्न नसक्नेहरुले गठबन्धन बनाइरहेको उहाँले टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीका अनुसार एमालेले १६५ मा कम्तीमा बहुमत र समानुपातिकमा समेत बढी मत ल्याउनेछ । पार्टी कार्यकर्तालाई सोहीअनुसार तयारी थाल्न उहाँले निर्देशन दिनुभयो । आफू नेतृत्वको सरकारको पालामा भएका विकास निर्माणका मुद्दालाई लिएर जनताको घरमा जान समेत उहाँले निर्देशन दिनुभयो । 

संविधानको व्यावस्थाअनुसार सबै नेपालीले नागरिकता पाउने अध्यक्ष ओलीले बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो ।  

एमालेका केन्द्रीय सदस्य एवम मेडिकल व्यावसायी दुर्गा प्रसाईले झापा क्षेत्र ३ का जनताले सूर्यमा भोट खसाल्न पाउनुपर्ने बताउनुभयो । झापा ३ मा आगामी निर्वाचनमा व्यावसायी प्रसाईलाई एमालेले उम्मेद्वारका रुपमा अगाडि सार्नेभएको छ । निर्वाचनमा एमालेको राप्रपासँग तालमेल भएमा सो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सहयोग गर्ने चर्चा पनि चलेको छ ।