• ६ साउन २०८१, आइतबार

चीनलगायतका देश रूसकाे भाेस्टाेक सैन्य अभ्यासमा सामेल हुँदै

blog

गोेरखापत्र अनलाइन 

काठमाडौँ, भदौ २ गते । छिमेकी देश रुससँग चीनले संयुक्त सैन्य अभ्यास गर्न आफ्ना सेना रुस पठाउँदैछ । भोस्टोक ड्रिल नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

गत महिना मस्कोले भोस्टोक (पूर्व) सैनिक अभ्यास अगष्ट ३० देखि सेप्टेम्बर ५ तारिखसम्म हुने र नाम उल्लेख नगरी केही विदेशी शक्तिहरुले भाग लिने घोषणा गरेको थियो । याे अभ्यास चीनको सिमानासँग जोडिएको रुसको साइबेरियाको खाबारोभ्स्क क्षेत्रमा हुनेछ ।

बेजिङ र मस्कोबीच नजिकको रक्षा संयन्त्र स्थापित छ । फेबु्रअरी २४ तारिखदेखि रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमी शक्तिहरुको आर्थिक नाकाबन्दी र निन्दाबीच चीनले रुससँग माथिल्लो तहको दुईपक्षीय परराष्ट्र सम्बन्ध चाहेको बताएको थियो ।

'यस अभ्यास गरेर मित्रराष्ट्रका सैनिकहरुबीच व्यावहारिक र मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने र विविध खालका सुरक्षा चुनौतीको सामना गर्नसक्न क्षमता अभिवृद्धि गर्ने उद्देश्य छ ।' चिनियाँ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । संयुक्त सैन्य अभ्यासमा रुससहित चीन, भारत, बेलारुस, मङ्गोलिया, ताजिकिस्तान र अन्य देशहरुले भाग लिने अलजजिराले उल्लेख गरेको छ । 

चीनले हालैको अन्तर्राष्ट्रिय घटनाक्रम र क्षेत्रीय अवस्थासँग कुनै पनि सम्बन्ध नरहेको दाबी गरेको छ । एक वर्षअघि, यसै महिनामा रुस र चीनले संयुक्त रुपमा चीनको उत्तरी क्षेत्रमा दश हजारभन्दा बढी सेनाले भाग लिएकाे संयुक्त सैन्य अभ्यास गरेको थियो ।

गत अक्टोबरमा यी दुवै मुलुकले संयुक्त जल सैन्य अभ्यास ‘सी अफ जापान’मा गरेको थियो । केही दिनपछि दुवै मुलुकका युद्धपोतहरुले पश्चिमी प्रशान्त महासागरमा संयुक्त अनुगमन गरेको थियो ।

सोही महिना, दक्षिण कोरियाले दुई वटा चिनियाँ र सातवटा रुसी युद्धक विमानहरु दक्षिण कोरियाली हवाई सैन्य क्षेत्रमा पुगेको आरोप लगाएको थियो । चीनले सो कार्यहरु आफ्नो नियमित प्रशिक्षण भएको बताएको थियो ।

भोस्टोक ड्रिल दुवै देशले एकै वर्षमा गर्न लागेको दोस्राे पटकका सैन्य अभ्यास हो । विगतमा गरिएका सैन्य अभ्यास अमेरिकी राष्ट्रपति जो बाइडेन टोक्यो भ्रमणमा जाने बेला गरिएको थियो । – उपेश महर्जन