• ६ साउन २०८१, आइतबार

काठमाडौँ र पोखरा व्यस्त विमानस्थल

blog

मीनराज भण्डारी 

काठमाडौँ, भदौ २ गते । हाल सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये आन्तरिक उडानतर्फ उपत्यकाबाहिरको सबैभन्दा बढी व्यस्त पोखरा विमानस्थल देखिएको छ । उडान सङ्ख्या र यात्रु ओहोरदोहोरका आधारमा पाँच वर्षयता सो विमानस्थल सबैभन्दा बढी व्यस्त देखिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको आन्तरिक टर्मिनलपछि पोखरा विमानस्थल सबैभन्दा व्यस्त हुँदै आएको छ । 

सन् २०१७ देखि सन् २०२१ को अवधिमा पोेखरा विमानस्थलमा एक लाख ४८ हजार ७४० उडान तथा अवरतण भएका छन् । सो अवधिमा पोखरा विमानस्थलबाट २५ लाख ६६ हजार २९९ यात्रुले हवाई सेवा प्राप्त गरेका छन् । 

उडान तथा अवतरणका आधारमा सोलुखम्बुको तेन्जिङ हिलारी (लुक्ला) विमानस्थल दोस्रो व्यस्त विमानस्थल देखिएको छ भने यात्रु ओहोरदोहोरको सङ्ख्याका आधारमा नेपालगञ्ज विमानस्थलले बढी सेवा प्रवाह गरेको देखिएको छ । 

पाँच वर्षको अवधिमा लुक्लामा एक लाख नौ हजार ६०४ उडानबाट छ लाख ५१ हजार ५६२ यात्रुले सेवा लिएका छन् । नेपालगञ्जमा ७१ हजार १२२ उडान तथा अवतरणबाट १९ लाख ७४ हजार ४२३ यात्रुले हवाई सेवा लिएका छन् । यो विमानस्थलबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसले पनि सेवा लिने गरेका छन् । 

त्यसैगरी हुम्लाको सिमकोट विमानस्थल उडान तथा अवतरणमा तेस्रो व्यस्त विमानस्थल देखिएको छ । त्यहाँ ५३ हजार ६०७ उडान तथा अवतरण भएका छन् । 

सिमकोटबाट दुई लाख ५१ हजार ८५६ यात्रुले हवाई सेवा लिएका छन् । यो विमानस्थलमा ढुवानी सेवाका लागि हवाई उडान बढी हुने भएकाले ओहोरदोहोर गर्नेको सङ्ख्या कम देखिएको छ । यो सेक्टरमा साना जहाजले उडान भर्ने भएकाले यात्रुको सङ्ख्या पनि कम भएको हो । 

विराटनगरमा पछिल्लो पाँच वर्षमा ४७ हजार ३१० उडान तथा अवतरणबाट २५ लाख ८५ हजार २१८ जना यात्रुले सेवा लिएका छन् । गौतम बुद्व विमानस्थलबाट ३८ हजार ७७ उडान तथा अवतरणमार्फत १८ लाख ५३ हजार ६९० यात्रुले हवाई सेवा लिएका छन् । हाल सो विमानस्थलले अन्तर्राष्ट्रिय उडान पनि सुरु गरिसकेको छ । 

पाँच वर्षको अवधिमा भरतपुर विमानस्थलबाट ३१ हजार ७२६ उडान तथा अवरण गर्दा नौ लाख ५२ हजार ८४० यात्रुले हवाई सेवा लिएको तथ्याङ्क प्राधिकरणले दिएको छ । 

सिमरा विमानस्थलमा २५ हजार २८ उडान तथा अवतरण हुँदा सात लाख ५४ हजार ५६६ यात्रुले सेवा लिन पाएका छन् । झापाको चन्द्रगढी विमानस्थलमा २२ हजार ९३४ उडान तथा अवतरणबाट ११ लाख ८३ हजार २२६ यात्रुले हवाई सेवा लिएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत विमानस्थलबाट २१ हजार ८८३ उडान तथा अवतरण हुँदा ८८ हजार ७४९ यात्रुले हवाई सेवा प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र क्षेत्रीय विमानस्थल धनगढीबाट १६ हजार ५१६ उडान तथा अवतरण हुँदा आठ लाख ८२ हजार ८१२ यात्रुले हवाई सेवा लिएका छन् । 

जनकपुर विमानस्थलबाट छ लाख ७२ हजार ९६७ यात्रुले हवाई सेवा लिएका छन् भने जोमसोममा १२ हजार ३४८ उडान तथा अवतरण हुँदा एक लाख ५९ हजार ३६ यात्रुले हवाई सेवा लिएका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पछिल्लो पाँच वर्षमा देशभरका विभिन्न विमानस्थलमा चार लाख २६९ उडान तथा अवतरण भएका छन् । उक्त अवधिमा यहाँबाट एक करोड ३३ लाख ५८ हजार एक जना यात्रुले हवाई सेवा लिएका छन् ।