• ६ साउन २०८१, आइतबार

स्थानीय सरकारबाट जनताको गुनासो तत्काल सम्बोधन होस् : सञ्चारमन्त्री कार्की

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, भदौ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन स्थानीय सरकारका जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘मेरो विचारमा तपाईहरुका मुख्य ३ वटा काम छन् । विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधन गर्ने । यी कुरामा तपाईहरुले ध्यान केन्द्रित गर्नुभयो भने पाँच वर्षपछि फेरि जनताले हाम्रै पार्टीलाई निर्वाचित गराउने छन् । त्यहाँका जनताको रोजाइमा तपाईहरु नै पर्न सक्नुहुन्छ ।’’

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।

‘‘तपाईहरु स्थानीय सरकार हो । प्रदेश सरकार, केन्द्र सरकार जनताको निम्ति टाढाको सरकार हो । तपाईहरु जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले तपाईहरुलाई जुन विश्वासका साथ जनताले निर्वाचित गराएका छन् त्यो विश्वासका साथ तपाईले काम गर्नु हुनेछ भन्ने हामी सबैले विश्वास लिएका छौं ।’’ मन्त्री कार्कीले भन्नुभयो ।

सञ्चारमन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता आगामी निर्वाचनमा पनि हासिल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि स्थानीय तह निर्वाचनमा जस्तै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो ।

मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारीमा कांग्रेसलाई पुनः पुर्‍याउन आगामी निर्वाचनमा उच्चस्तरको तयारीमा जुट्न मन्त्री कार्कीले सबैसँग आग्रह पनि गर्नुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘अब हामी निर्वाचनको संघारमा छौं । अब आउने निर्वाचनमा पाँच दलीय गठबन्धन नै रहनेछ । यो मुलुकको स्थिरताका निमित्त, मुलुकको विकासका निमित्त र यो मुलुकलाई तीव्रगतिमा विकासमा अगाडि बढाएर विकासोन्मुख मुलुकबाट विकासित देशमा हाम्रो देशलाई पुर्‍याउनका निमित्त अब आउने निर्वाचनमा हामीले एकताका साथ नेपाली कांग्रेसलाई जिताउनुपर्ने छ ।’’

मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको मन्त्री कार्कीले पटक–पटक दोहोर्‍याउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने उहाँले बताउनुभयो ।