• ६ साउन २०८१, आइतबार

सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै

blog

अविनाश चौधरी

धनगढी, भदौ १ गते । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । 

वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन पहाडी समुदायले सद्भाव बाँड्ने चलन रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताउनुभयो । 

उहाँका अनुसार ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) बाँड्ने चलन पनि रहेको छ । 

विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ । 

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएको जोशीले बताउनुभयो । 

यो पर्वको दिन गाउँ नजिकै चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाँड्ने गरिन्छ । जसलाई बूढी हाल्ने भनिन्छ । ओल्केको दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ । भदौ मसान्तमा जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’ भन्ने गरिन्छ । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ । 

साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको अध्यक्ष जोशीले बताउनुभयो । 

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको जोशीले उल्लेख गर्नुभयो । 

ओल्के प्रत्येक वर्ष सिंहसङ्क्रान्ति अर्थात भाद्र सङ्क्रान्तिका दिन मनाइने पर्व रहेको प्राध्यापक डा. जयराज पन्तद्वारा लिखित लेखमा उल्लेख छ । यो पर्व विशेषतः तल्लो वर्गका मान्छेका पर्व रहेको उहाँको ठहर छ । सबभन्दा तल्लो जात र वर्ग यो पर्वमा निकै उत्साहित देखिने गरेको उहाँको लेखमा उल्लेख गरिएको छ ।  

ओल्के पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।