• ६ साउन २०८१, आइतबार

विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १ गते । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ । 

घरपझोङ गाउँपालिका –४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड–१९ पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको मङ्गलबार एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएकोले विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । 

विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर बिरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड–१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनुभयो । भौतिक दूरी व्यवस्थापन एवं स्वास्थ्य मापदण्डमा कडाइ गरिएको शर्माको भनाइ छ । कोभिड–१९ बाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराइनुका साथै परीक्षणलाई पनि स्वास्थ्य कार्यालय मुस्ताङ तथा स्थानीय तहले तीव्रता दिएको प्रजिअ शर्माको भनाइ छ ।

स्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार अहिले मुस्ताङ जिल्लामा ४३ जना सक्रिय सङ्क्रमित छन् । थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० गरी कुल ४३ जना सक्रिय सङ्क्रमित रहेको नेपालीले बताउनुभयो ।