• ६ साउन २०८१, आइतबार

उद्योगमन्त्री बडू र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट

blog

उद्योगमन्त्री बडू र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट

गाेरखापत्र अनलाइन

काठमाडाैं, साउन ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गर्नुभएकाे छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे हाे । 

भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत् यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्‍याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवालाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्वयनमा दुबै देशले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। 

उहाँले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको भन्नुहुँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो।

यसैगरी, मन्त्रीले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्प विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकाले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गर्नुभयो।

भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताउनुभयो।

यसैगरी, राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी गराउनुहुँदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो।

राजदूत चोङ–सुकले सामसुङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकाले त्यसमा आतिथ्यताका लागि मन्त्रीलाई आग्रह गर्नुभयो।

भेटका अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो।