• ७ वैशाख २०८१, शुक्रबार

मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै

blog

मध्यपुर थिमि, साउन ३० गते । उपत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । 

साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका गणकाे नाच पनि प्रदर्शन गरिएकाे छ । 

थिमिको तत्कालीन दरबारबाट निकालिने मल्लकालदेखिकाे इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको थियाे ।

ने.सं ६३३ साल अर्थात् ४८० वर्षअघि भक्तपुर जिल्लामा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गर्नुभएकाे थियाे ।


नेपाल सरकारका उच्च तहबाट पहिलाे पटक उपराष्ट्रपति नन्दबहादुर पुनले लायकु भैलः नाच शनिबार अवलोकन गर्नुभएको छ । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गर्नुभयाे । आइतबार राति मध्यपुरथिमिस्थित लायकू टाेलमा पुगेर गुठी संस्थानका प्रमुख किरण शाक्यले साे नाच हेर्नुभयाे ।

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गठन गरेकाे मध्यपुर पर्यटन विकास र प्रवर्द्वन फोरमकाे अगुवाइमा भएकाे एक अनाैपचारिक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका उपप्रमखु विजयकृष्ण श्रेष्ठले स्थानीय कला, संस्कृति र सम्पदाकाे संरक्षणसहित विदेशी पर्यटक लक्षित गरेर थुप्रै कार्यक्रमहरू ल्याएकाे जानकारी दिनुभयाे ।

गुठी संस्थानका प्रमुख किरण शाक्यले स्थानीय तहसँग एकाकार भएर गुठी संस्थान अगाडि बढ्ने भएकाले विभिन्न सम्पदाकाे पुनःनिर्माण गरेपछि संस्कृति र धर्म संरक्षणकाे लागि पूजारी राख्ने दायित्व संस्थानले लिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । 

किम्वदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी आज्ञानुसार नाच सुरु गरेको हो ।

भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा पाँच देवगणहरुको सहभागिता रहन्छ ।

नाच अवलोकनमा आउने घरेलु तथा विदेशी पर्यटकको लागि स्थानीयस्तरमा नेवारी भाेज र लजसहितको व्यवस्था गरिएकाे छ। शनिबारदेखि सुरु भएको नाच प्रत्येक रात करिव साढे ८ बजेदेखि सुरु हुन्छ । साे नाच मंगलबार समापन हुँदैछ । –उपेश महर्जन