• ८ वैशाख २०८१, शनिबार

तानसेनमा गणेश र बाघको जात्रा

blog

तानसेनमा आइतबार निकालिएको बाघ तथा गणेश जात्रा। तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन २९ गते। जिल्ला सदरमुकाम तानसेनमा गणेश र बाघजात्रा निकालिएको छ। आइतबार तानसेन मध्यान्नदेखि तानसेनमा गणेशको मूर्ति तानसेन  बजारमा परिक्रमा गराएर गणेशजात्रा निकालिएको हो। गणेशको महिमाका गीत गाएर गणेशको मूर्ति स्थानीय बासिन्दाको सहभागितामा खटमा राखेर तानसेन बजार परिक्रमा गरिएको स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले जानकारी दिनुभयो। 

यस्तै आइतबार नै तानसेन बजारमा बाघको पसेको झझल्को दिने गरी बाघजात्रा निकालिएको छ। बाघका पहिरनमा सजिएका मानिस तानसेनका चोक तथा गल्लीमा घुमेका थिए। बाघ जात्राले तानसेनका स्थानीय बासिन्दालाई बाघ तानसेन बजारमा पसेको अनुभूति गराउने जात्रा हेर्न निस्कनुभएका केशव पौडेलले बताउनुभयो। 

तानसेनमा निकालिएको गणेश जात्रा र बाघ जात्रा हेर्नका लागि मानिस चोक-चोकमा भेला भएका थिए। परम्परादेखि नै तानसेनमा गणेशजात्रा तथा बाघजात्रा निकाल्ने चलन छ। तानसेनमा चुइकी, गाइजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, गणेशजात्रा, नारायण जात्रा र भगवती जात्रा हुँदै आएको छ। 

यो वर्ष जनैपूर्णिमाको अघिल्लो दिनदेखि नै जात्रा देखाउने काम सुरु भएको छ। पछिल्लो तीन वर्षयता तानसेनमा कोरोनाका कारण जात्रा निस्कन सकेको थिएन। यो वर्ष निकालिएको जात्रामा पनि खासै उत्साहपूर्ण नभएको तानसेनका स्थानीय बासिन्दा पूर्णबहादुर शाक्यले बताउनुभयो। तानसेनसहित पाल्पाका अन्य स्थानमा विभिन्न जात्रा देखाइएको छ।