• ८ वैशाख २०८१, शनिबार

दाताको मृत्युपछि विद्यालय लथालिङ्ग

blog

लक्ष्मीपुर पतारी–६ मा रहेको रामामहन्थी माध्यमिक विद्यालय । तस्बिर –जीबछ यादव

जीबछ यादव  

लाहान, साउन २९ गते । लक्ष्मीपुरपतारी वडा नम्बर –६ सीतापुर चोकमा रहेको रामामहन्थी माध्यमिक विद्यालयको दाता महन्थी यादवको मृत्यु भएपछि विद्यालयको शैक्षिक र भौतिक प्रगति लथालिङ्ग  भएको छ । 

महन्थी यादवले प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउन एक करोडभन्दा बढीको जग्गा दिनुका साथै नियमित विद्यालयमा आएर निगरानी गर्ने भएकाले सात वर्षअघि नाम चलेको विद्यालयको रुपमा रहेको स्थानीय रामअशिष साहले बताउनुभयो । 

यस वर्षको एसइईमा १६५ जना विद्यार्थीमा २५ जनाले मात्रै उत्तीर्ण भएको ग्रेड ल्याएका छन् । कक्षा ११ र १२ मा गतिलो पढाइ नहुँदा विद्यार्थीहरु बाध्य भएर अन्य विद्यालयमा जान थालेका छन् ।

‘विद्यालयका दाता महन्थी यादवको सन्तान नरहेकाले बाँचुञ्जेल विद्यालमा दिनहुँ आएर रेखदेख गर्नुहुन्थ्यो । अहिले विद्यालयको भौतिक र शैक्षिक अवस्था हेरेर दाता यादवको योगदानको कदर हुन सकेको छैन’, सीतापुरका पूर्व गाविस अध्यक्ष देवनारायण साहले दुःखेसो पोख्नुभयो । 

वडाध्यक्ष अजयकुमार यादवले विद्यालय सुधारको लागि वडा कार्यालयले चासोसहित जिम्मेवारी बहन गर्ने विश्वास दिलाउनुभएको छ  । उहाँले भन्नुभयो, ‘विद्यालयमा जम्ने पानीको निकास र पर्खाल लगाएर विद्यालय क्षेत्र सुरक्षित र नियमित पढाइ हुने गरी सुधारको प्रक्रिया थालिनेछ ।’

विद्यालयका प्रधानाध्यापक काशिन्द्र यादवले पनि सबै समस्याको समाधान गरी विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।