• ६ साउन २०८१, आइतबार

निर्वाचनपछि विशेष महाधिवेशन

blog

काठमाडौँ, साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाइने बताउनुभएको हो। 

सो अवसरमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको अन्तरघात र अन्तरविरोधका कारण गत स्थानीय तहको निर्वाचनमा पहिलाभन्दा कम सिटमा सीमित हुन परेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको साथ समर्थन हुँदाहुँदै पनि पहिलाको भन्दा अहिलेको सिट घट्यो, अन्तर्घातका कारण जितेका ठाउँ पनि गुमायौँ।” १७५ तहमा जित्ने अनुमान गरेको माओवादी केन्द्रले पार्टीभित्रको अन्तरविरोधका कारण ५० स्थान गुमाएको थियो। 

मङ्सिर ४ गते हुने प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीभित्रका नेताहरूलाई मिलाउन चुनौती देखिएको प्रचण्डको भनाइ छ। “नेताहरूलाई के गरी मिलाउने हो भन्नेमा ठूलो चुनौती देख्छु। अन्तरघातका कारण नेताहरूको छानबिन समिति बनाउनुपर्ने अवस्था छ।” तर, नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति रहेको उहाँको भनाइ छ। 

कार्यक्रममा स्व. बोगटी धेरै पढे लेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरू भन्दा राम्रो काम गरेको उहाँको दाबी छ। स्व. बोगटीलाई स्मरण गर्दै उहाँले भन्नभुयो, “बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो। पार्टी अप्ठ्यारो हुँदा उहाँ सधैँ अगाडि सर्नुहुन्थ्यो ।”

अध्यक्षमा वर्षमान पुन  

माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष चयन हुनुभएको छ। प्रतिष्ठानको शनिबार सम्पन्न सातौँ वार्षिक साधारण सभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो। यस्तै उपाध्यक्षमा माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य चयन हुनुभएको छ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका महासचिव र उपाध्यक्ष हुनुहुन्थ्यो।  बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो।