• ६ साउन २०८१, आइतबार

उपत्यकाका मुख्य क्षेत्र डुबानमा

blog

काठमाडौँ, साउन २९ गते । शनिबारको वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका तटीय क्षेत्रसहित मुख्य सहर डुबानमा परेका छन्। काठमाडौँका माइतीघर मण्डला, नयाँ सडक, पुतली सडक, कोटेश्वरसहित सहरका मुख्य भागमा भेल बगेको थियो। त्यसैगरी उत्तरी क्षेत्रका बूढानीलकण्ठको कपन, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका केही क्षेत्रमा पनि बाढी आएर तटीय क्षेत्रमा डुबान भएको छ।

काठमाडौँ प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तटीय क्षेत्रमा बाढी आएमा परिचालन गर्ने जनशक्ति र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो। 

केही स्थानमा भारी वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को थोरै स्थानसँगै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ। नदी नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।