• ६ साउन २०८१, आइतबार

नेपाली साहित्यलाई विश्व साहित्यको स्तरमा पुुर्‍याउन आग्रह

blog

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु नेपाली साहित्य, कला, संस्कृति विकासका लागि सुखद भएको बताउनुभएको छ। 

राजनीतिज्ञ प्रतिभा राणाद्वारा लिखित ‘गहिराइ’ र अङ्ग्रेजी संस्करणको ‘कर्टन अफ माया’ शीर्षकका दुई कृतिको शनिबार काठमाडौँमा विमोचन गर्नुहुँदै उहाँले नारी साहित्यकारको गतिलो उपस्थितिले नेपाली भाषा, साहित्य र कलाको जग बलियो हुने बताउनुभयो। उहाँले कथा, कविता, उपन्यासलगायतका साहित्यिक कृतिले समाज रूपान्तरणमा महत्त्वपूर्ण  भूमिका खेल्ने गरेको बताउनुभयो। उहाँले नेपाली साहित्यलाई विश्वसाहित्यको स्तरमा पुर्‍याउन सबैलाई लाग्न आग्रह गर्नुभयो। 


प्रधानमन्त्री देउवाले नेपाली साहित्य, कला, संस्कृति श्रीवृद्धिका लागि सरकारले जहिले पनि सहयोग गरिरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विभिन्न प्रतिष्ठान स्थापना गरेर सरकारले भाषा, साहित्य, कला, संस्कृति संरक्षण र विकासको काम गरिरहेको बताउनुभयो। 

असल साहित्यले मानिसलाई भित्रैबाट समाजका लागि असल काम गर्न अभिप्रेरित गर्ने गरेको बताउनुहुँदै उहाँले असल साहित्यका लागि कलम चलाउन साहित्यकारहरूलाई आग्रह गर्नुभयो। राजनीतिक र सामाजिक जीवनसँग साहित्यको प्रत्यक्ष सम्बन्ध रहने गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले साहित्यका माध्यमबाट राजनीतिमा सुधार हुने बताउनुभयो। 

जापानका लागि नेपाली पूर्वराजदूतसमेत रहनुभएकी राणाद्वारा लिखित कृति गहिराइको प्रा.डा. ज्ञानु पाण्डेले समीक्षा गर्नुभयो। कृतिमाथि चर्चा गर्दै उहाँले राणाले राजनीतिज्ञ, सामाजिक अभियन्ताका साथै साहित्यकारको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको बताउनुभयो। 

राणाको कृतिमा भावुकता, करुणा, ममताका कुरा प्रस्टसँग झल्किएको बताउँदै उहाँले आगामी दिनमा समाजको वृत्तान्त आउनेगरी आत्मवृत्तान्त लेखनतर्फ कलम चलाउन राणासँग आग्रह गर्नुभयो। प्रतिभा राणा साँच्चिकै प्रतिभा भएका व्यक्तित्व भएको झल्को साहित्यमा कलम चलाएर प्रमाणित गरेको पाण्डेले बताउनुभयो। कृतिमाथि टिप्पणी गर्दै अर्का समालोचक राम लोहनीले राजनीति, कूटनीतिमा राम्रो परिचय दिन सफल राणाले नेपाली साहित्यमा थप योगदान पु-याएको धारणा व्यक्त गर्नुभयो। राणाका कवितामा परिपक्वता, करुणा, दया, माया र सुन्दरताका भावना बगेको उहाँले बताउनुभयो। पहिलो कृतिमै साहित्यकार राणाको कलम निकै खारिएको टिप्पणी गर्नुुभयो । कार्यक्रममा कृतिका लेखक राणाले आफूले राजनीति, सामाजिक जीवन बिताएर बचेको समय सदुपयोग गरेर कृति जन्माउन सफल भएको बताउनुुभयो । राणाले भन्नुुभयो, “मैले कलेज पढ्दाखेरि कोरेका कुरा र अहिलेसम्मका भोगाइ कृतिमा समेटेकी छु। त्यसैले मैले कृतिका रूपमा बाहिर ल्याउन केही समय लागेको हो। अब आउँदो जीवन साहित्य लेखनमा बिताउने विचार गरेकी छु।”


कृतिकार राणाका नाति/नातिनी विदुुषी राणा श्रेष्ठ, अभिषेक श्रेष्ठ, विश्रुति राणा, जयवीरसिंह देउवा, आर्यकी केसी र अनुष्का केसी आयोजक रहेको सो कार्यक्रममा सगुना शाहले राणाको व्यक्तित्व, कृतित्वबारे प्रकाश पार्नुुभएको थियो। शिखा बुक्सले बजारमा ल्याएको ‘गहिराइ’मा नेपाली भाषाका कविता समेटिएका छन् भने सोही कवितासङ्ग्रहलाई अङ्ग्रेजी संस्करणमा ‘कर्टेन अफ माया’ प्रकाशनमा ल्याइएको छ।