• १३ वैशाख २०८१, बिहिबार

सेनिटरी प्याड उत्पादन गर्ने मेशिन बन्द

blog

कोठामा राखेका प्याड निकाल्दै महिला शिक्षक । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन २८ गते । गाउँपालिका भरिका विद्यालयलाई उपलब्ध गराउँदै आएको सेनिटरी प्याड उत्पादन गर्ने मेशिन बन्द भएको छ । गाउँपालिकाले उपलब्ध गराउने प्याडको आकार मेशिनसँग नमिलेपछि मेशिन बन्द भएको हो । 

सिमकोट गाउँपालिका –८ को सैपाल माध्यमिक विद्यालयका शिक्षक विष्णु रोकायाले एक वर्ष अगाडिसम्म सञ्चालनमा रहेको सेनिटरी प्याड उत्पादन गर्ने मेशिन हाल बन्द भएको बताउनुुभयो । प्याड उत्पादन गर्ने मेशिनको प्वालको आकार र सेनिटरी प्याडबीच मेल नहुँदा मेशिन बन्द भएको उहाँको भनाइ छ । 

सुरुमा आफैले मेशिनबाट झिकेका छात्राहरु अहिले प्याड माग्नुपर्दा लाज मान्नेगरेको उहाँले बताउनुुभयो । बालमन्दिर माविका शिक्षक मधुु बस्नेतले आफ्नो विद्यालयमा पनि सोही समस्या भएको बताउनुुभयो । कोठामा मेशिन थन्किएको तर महिनावारी हुने छात्रालाई हातैले प्याड वितरण गर्ने गरिएको जानकारी दिनुभयो ।

गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले सेनिटरी प्याड  वितरण गर्दै आएको बताउनुुभयो । गाउँपालिकामा सात वटा मावि रहेको र सबै विद्यालयलाई उक्त मेशिन उपलब्ध गराइएको थियो । मेशिन वितरण गरेको वर्ष प्याड पनि मेशिन दिने निकायाबाटै उपलब्ध गराएको भए पनि अहिले शिक्षा शाखाबाट दिने गरिएको उहाँले बताउनुभयो । 

सैपाल, कर्णाली कैलाश, मानसरोवर नमुना, बालमन्दिर, रलिङ र रामपाल गरी सात वटै विद्यालयमा उक्त मेशिनले हाल काम नगरेको बताइएको छ ।