• ३ जेठ २०८१, बिहिबार

गठबन्धन दलले छेकेर एमाले छेकिन्न : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा सङ्घ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र सङ्गठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।

एमालेको शक्ति र पार्टीप्रति देखिएको जनलहरले सत्तपक्षी दल अत्तालिएको पनि अध्यक्ष ओलीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लग्न खोजियो । आज त्यहाँका नागरिक जागरुक भएका छन् ।’ एमालेको बहुमत रोक्न सत्ता गठबन्धन दल लागिरहेको भए पनि त्यसले फरक नपर्ने उहाँले बताउनुभयो ।

समृद्ध नेपाल र सुःखी नेपालीको पक्षमा नेपाली जनता रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यो काम एमाले नेतृत्वको सरकारले मात्र सम्भव हुने बताउनुभयो । एमालेको नीति र सङ्गठनका आबद्ध भएर मात्रै नेपाललाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

देशलाई समृद्ध बनाउन एमाले विजयी हुनुपर्छ अध्यक्ष ओलीले थप्नुभयो, “देशलाई ओरालो लाग्न नदिन, देशलाई माथि उठाउन एमाले चाहिन्छ । देश बनाउन एमालेको सरकार चाहिन्छ ।” अध्यक्ष ओलीले देश बनाउने शक्ति एमाले मात्र भएकाले नेपाली जनताले आगामी निर्वाचनमा एमालेको पक्षमा उभिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।