• १० मंसिर २०८१, सोमबार

'परदेशी २'काे रिलिज मिति सर्याे

blog

काठमाडौं, साउन २८ गते । नारायण रायमाझी निर्देशित चलचित्र 'परदेशी २'को रिलिज मिति सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिनुभयो ।

उहाँले वितरक, हल सञ्चालक र चलचित्रकर्मीसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताउनुभये । उहाँका अनुसार आफूहरुले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भीडभाड भएकाले पछि सर्ने निर्णय गरिएको हो ।

भदौंदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले पदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । भारतमा समेत रिलिज हुने तयारीमा रहेको यस चलचित्रको उत्तिको महत्व रहेको वंशल बताउनुहुन्छ  । ‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं’ बंशल भन्नुहुन्छ । 

दशैं तिहारमा चलचित्र प्रदर्शनको भीडभाड हुँदा उक्त समयमा चलचित्र रिलिज गर्दा पछिसम्म र धेरै दर्शकसम्म पुर्याउन गाह्रो हुनसक्ने आँकलन गर्दै पछि सारिएको वंशलको भनाई छ । दशैं तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्नसक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि ससक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्याउन सकिने निर्देशक नारायण रायमाझी बताउनुहुन्छ ।

चलचित्रको केही प्राविधिक काम पनि बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले पनि रिलिज मिति पछाडि सार्ने निर्णय लिईएको उहाँको भनाइ छ । 

निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई विचार गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भन्नुभयो, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा रमेश बिजीले तयार पार्नुभएको हो ।