• १२ वैशाख २०८१, बुधबार

यूनिक अस्पतालबाट बिरामी ठगिदै

blog

रुपनी गाउँपालिका २ मा रहको युनिक अस्पताल । तस्बिर : ललिता साह

ललिता साह

बाेदेबसाईन (सप्तरी), साउन २८ गते । सप्तरीको एक निजी अस्पतालले बिरामीको उपचार तथा जाँच नगरी शुल्क लिनेगरेको पाइएको छ । रुपनी राजविराज सडकखण्डको चारकिलो रुपनी गाउँपालिका २ मा पर्ने युनिक अस्पताल प्रालि. मा उपचाका लागि आएको बिरामीहरुको  जाँच र इलाजविना नै मोटो रकमको बील तिराउँदै आएको सेवाग्राहीको गुनासो छ ।

अस्पताल परिसरमै रहेका औषधि पसलमा पनि औषधि अत्यधिक महँगो रहेको बिरामीको भनाइ छ । अस्पतालभित्र रहेका सानो चमेनागृहले एउटा खानाको पाँचसय रुपियाँ लिनेगरेको वार्डका बिरामी अजय चौधरीले बताउनुभयो । अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा २ का अध्यक्ष पशुपति चौधरीले शुक्रवार सडक दुर्घटनामा परेर घाइते भएका आफ्नो  छोरा आनन्द चौधरीलाई उपचारको लागि युनिक अस्पताल भर्ना गर्नुभएको थियो । 

शुक्रवार साँझदेखि सामान्य मलमपट्टी गरेर डाक्टर  आउनु भएपछि थप उपचार पर्खिनुभएका पशुपति  शनिवार बिहान ११ बजेसम्म डाक्टरसँग भेट नभएपछि अस्पताल प्रशासनसँग रेफरको आग्रह गर्नुभयो । दिउँसो २ बजे रेफरको कागजसँगै एकराती र सामान्य मलमपट्टीको ३० हजारको वबिल थमाएपछि चौधरी समस्यामा पर्नुभयो । बिलअनुसारको उपचार अस्पतालले नगरेको उहाँको भनाइ छ ।

अस्पतालमा एक्सरे मेशिन बिग्रेको अवस्थामा रहेको भए पनि विना एक्सरे त्यसको शुल्कसमेत बिलमा जोडिएको चौधरीले बताउनुभयो । फेरि आउँदा जाँच गरिदिने अस्पतालका कर्मचारीले भनेको उहाँले बताउनुभयो । “मेसिन बिग्रेको छ भोलि पर्सितिर आउनू एक्सरे अन्य जाँच गरिदिन्छ भनेर फर्काए” उहाँले भन्नुभयो । गराउँदै नगराएको जाँचको पैसा फिर्ता मागेपछि तिरिसकेको पैसा फिर्ता नहुने अस्पतालका कर्मचारीले भनेको उहाँले गुनासो सुनाउनुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत रहनुभएका जयप्रकाश ठाकुर सञ्चालक रहनुभएका यूनिक अस्पतालले बिरामीबाट महँगो शुल्क लिइरहेको पीडितको गुनासो छ । सवारी दुर्घटनाले सामान्य घाइते भएकाहरु उपचारमा आउँदा पनि दैनिक २५ देखि ४० हजारको बिल बनाएर सर्वसाधारणको ढाड सेक्ने काम भइरहेको उपचार गराउन अस्पताल पुग्नुभएको खड्क नगरपालिका ४ का सूर्यनारायण साहले बताउनुभयो । 

यसबारे अस्पतालका इन्चार्ज डा. अविन्दकुमार चौधरीसँग सम्पर्क हुन सकेन । ड्यूटीमा रहनुभएका अर्का चिकित्सकसँग कुरा गर्न खोज्दा अस्पतालको नियम  अनुसार चार्ज लिनेगरेको बताउनुभयो । 

अस्पतालले सिटिस्क्यान नै नगरी १२ हजार रुपियाँ, एक्सरे नगरी चार वटा एक्सरेको ३२ सय रुपियाँ लिएको गएराति सडक दुर्घटनामा परेका नातिलाई युनिक अस्पताल ल्याउनुभएका सुरुङ्गा नगरपालिका ५ का मोहमद कासिमले सुनाउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले त्यसबारेमा नागरिकको कुनै उजुरी नआएको बताउनुभयो । उजुरी आएमा त्यसबारे आवश्यक साेधखोज गर्ने उहाँले बताउनुभयो ।