• ६ साउन २०८१, आइतबार

सुरही खोलामा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

blog

शंकास्पद वस्तु फेला परेको स्थानमा सुरक्षाकर्मीलगायतको टोली । तस्विरः नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, साउन २८ गते । कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको सो वस्तुलाई नेपाली सेनाले शनिबार डिस्पोज गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई केही समय अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।

ठूलो आवाजमा डिस्पोज भएको उक्त वस्तु फेला परेर ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताउनुभयो । शुक्रबार जानकारी प्राप्त भएको र शनिबार बिहान गोरुसिङ्गेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले सो वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुनसक्ने अनुमान गरिएकाे छ । सुरक्षालाई मध्यनजर गरी उक्त वस्तु डिस्पोज गरिएको उहाँले बताउनुभयो ।