• १५ चैत २०८०, बिहिबार

भिडियोमा गाईजात्रा

कीर्तिपुरको विशेष गाईजात्रा ‘ध्यँध्यँ पापा’

blog

काठमाडौं, साउन २८ गते । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् ।

सबै ठाउँका नेवाः समुदायले मृत्यु भएका आफन्तको स्वर्गमा बास होस् वा पितृको यमलोकमा बास होस् भन्दै गाईजात्रा निकाल्ने परम्परा रहेको छ । तर कीर्तिपुरमा भने यो जात्रा अलि फरक ढंगले मनाउने चलन छ । कीर्तिपुरमा निश्चित ठाउँमा जम्मा भएर नाच प्रस्तुत गर्ने गरिन्छ । जसलाई ‘ध्यँध्यँ  पापा’ भनिन्छ ।

अष्टमान महर्जन गुरु दाफा बाजाका प्रतिनिधिका अनुसार ध्यँध्यँ  पापा धेरै पुरानो संस्कृति हो । ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । यो दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मानिन्छ । गाईजात्रामा ध्यँध्यँ पापा नाचमा विभिन्न लुगा र फरफरक मुकुटको प्रयोग गर्ने गरिन्छ । यस नाचमा नाै जनाको सहभागिता रहने र नाच्दानाच्दै कीर्तिपुर प्ररिक्रमा गराइन्छ ।

गाईजात्रा विशेषको लागि गठेमंगलदेखि नै तालिम सुरु गर्ने गरिन्छ । कीर्तिपुरमा देखाइने यो नाच अरुभन्दा फरक छ र कतै पनि छैन । केटा मान्छे मृत्यु भएको हो भने गाईको पुच्छर समाएर गाईजात्रा निकाल्ने र केटीको मृत्यु भएको हो भने लुगा झुन्डाएर मुकुट लगाएर गाईकोपछि अरु मान्छेहरु पछि लाग्ने गर्छन् ।


ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा साःपारु निकाली सहर परिक्रमा गराउनु आज्ञा दिनुभएको थियो । र, यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यस प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । पितृको सम्झनामा नेवाः समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि साःपारु पर्व मनाइन्छ ।

हिन्दुधर्मअनुसार यस पर्वका बारेमा अर्को पनि जनविश्वास रहेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा साःपारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने भन्ने मानिन्छ । कीर्तिपुरका दाफा बाजाका प्रतिनिधि अष्टमान महर्जन गुरुसँग ध्यँध्यँ पापाको बारेमा गरिएको भिडियो सम्वाद । भिडियो : मनोजरत्न शाही र केशब गुरुङ