• ५ साउन २०८१, शनिबार

राजमार्ग विस्तार गर्दा बाह्र हजार रुख काटिने

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, साउन २८ गते । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही १२० किलोमिटर चार लेनको बनाउँदा जङ्गल क्षेत्रका १२ हजार ४४८ वटा रुख काटिने भएका छन्। मङ्गलबार मोरङको कानेपोखरी गाउँपालिकामा सडक निर्माण आयोजनाको परामर्शदाता सुसुङ्ग इन्जिनियरिङ कन्सल्टिङ कोरिया इन एसोसिएसन विथ इन्भाएरोमेन्ट एन्ड रिसोर्स मेनेजमेन्ट र टेक स्टुडियो अफ इन्जिनियरिङ प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा वातावरण विज्ञ राजेन श्रेष्ठले सो जानकारी दिनुभएको हो। 

श्रेष्ठले जैविक विविधताको संरक्षणका लागि १२० किलोमिटरको जङ्गल क्षेत्रमा जङ्गली पशुलाई सडक वारपार गर्न अन्डरग्राउन्ड वे (भूमिगत मार्ग) निर्माण गरिने बताउनुभयो। कानेपोखरी गाउँपालिकाभित्र राजमार्गले ४ दशमलव ७२० किलोमिटर लम्बाइ पर्छ। सो क्षेत्रमा सडकको चौडाइ २४ मिटरको हुनेछ। 

यस्तै सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले १२० किलोमिटर सडकअन्तर्गत ३७७ संरचना हटाइने भएको जानकारी दिनुभयो। उहाँले ३७७ वटामध्ये १२ वटा संरचना पूर्ण रूपमा भत्किने र आंशिक रूपमा भत्किने सातवटा संरचना कानेपोखरी गाउँपालिकाभित्रपर्ने जानकारी दिनुभयो। सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै उहाँले सकेसम्म कम क्षति गरेर निर्माणको काम गर्न सुझाव पेस गरेको बताउनुभयो।  

एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपियाँ छ। तीन वर्षमा निर्माणकार्य सम्पन्न गर्ने योजना रहेको यो सडक ‘एसियन हाइवे स्ट्यान्डर्ड’को बन्नेछ। १२० किलोमिटरमध्ये मोरङ ३६.२ किलोमिटर सडक मोरङमा पर्छ। झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आउँदो पुससम्ममा ठेक्का खुल्ने र आउँदो वर्षको सुरुवातदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले बताउनुभयो। 

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकड्भिट्टादेखि इटहरीसम्म सुरु हुनेछ। तीन सय मिटरभन्दा लामो पुल रहने छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्। तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्य बजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ। आयोजनाले काँकड्भिट्टा, इँटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायत नौ घनाबस्ती भएको स्थानमा आकाशे पुल र जङ्गल क्षेत्रमा ‘अन्डर पास’ निर्माण गरिने जनाएको छ।

सार्वजनिक सुनुवाइमा कानेपोखरीका प्रभावित हुने वडा नं.५ र ७ का बासिन्दाले पानीको मुहान सुक्ने, स्थानीय घाट मासिने, सडक किनारका कपुरथान भत्किने चिन्ता प्रकट गरेका थिए। स्थानीयले कानेपोखरीमा पनि आकासे पुलको आवश्यकता औंल्याएका छन्।