• २३ असार २०८१, आइतबार

ज्याला माग्दै मजदुर

blog

जुम्ला समाचारदाता

जुम्ला, साउन २७ गते । कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डका मजदुरले दुई वर्षसम्म पनि ज्याला पाएका छैनन् । सिञ्जा गाउँपालिका–२ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका–८ रोकायावाडासम्मको खडकखण्डमा काम गरेका मजदुरले ज्याला नपाएका हुन् । 

सिञ्जा गाउँपालिका–१ की मूलकली कामीले सडकमा ज्याला मजदुरी गरेको ज्याला नपाएको बताउनुभयो । उहाँले दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाइएको र काम गरेको दुई वर्षसम्म ठेकेदारले ज्याला नदिएको बताउनुभयो ।

यस्तै कनकासुन्दरी गाउँपालिका–८ की इमिला शाहीले पनि लुगाफाटो र नुनतेल गरौँला भन्ने आशाले सडकमा ढुङ्गा फुटाउने, ढुङ्गा बोक्ने र माटो, बालुवा बोक्ने काम गरे पनि २० दिन काम गरेको ज्याला नपाएको बताउनुभयो । मुनकली र इमिलाजस्तै यो सडकमा काम गर्ने झण्डै तीन सय जना मजदुरले ज्याला नपाएको बताइएको छ ।यो ठेक्काका विषयमा सुरुको काम गर्ने चरणमा नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीसँग सडक निर्माणकार्य सम्पन्नपछि बचेको रकम ६५ प्रतिशत र ३५ प्रतिशत आम्दानी लिने मौखिक सहमति भएको पूर्ववडाध्यक्ष रणबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार अहिले पनि त्यो टेलिफोन रेकर्ड सुरक्षित नै छ । 

मौखिक सहमतिपछि भाइ दत्त रोकायालाई काम गर्न लगाइएको हो । अहिले एक करोड ५१ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको छ । सो सडक निर्माणका लागि छ करोड ७८ लाख रुपियाँको ठेक्का सम्झौता भएको छ । उक्त सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाले ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालाण्मात्र होइन, निर्माणसामग्रीको भुक्तानी दिन नसकेको बताउनुभयो । 

उहाँले नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत रहेका ठेकेदार कर्णबहादुर शाही र उहाँका भतिजा दीपक शाहीले भुक्तानी नदिएर ठगी गरेको आरोप लगाउनुभयो । यो विषयमा जिल्ला अदालत जुम्लामा मुद्दासमेत दायर भएको छ । मजदुरलाई ज्याला नदिएका ठेकेदार दीपक शाहीले आरोप स्वीकार गरिसक्नुभएको बताइएको छ । यो ठेक्काका विषयमा मुद्दा परेकाले अदालतले आदेश नगर्दासम्म सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन नसकिएको बताइन्छ । 

उक्त ठेक्कासँग जोडिएका सभापति शाहीले पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि तीन पटक ठेक्का रद्द गरिएको बताउनुभयो ।