• ५ साउन २०८१, शनिबार

आईएफसीको ऋण लगानी

blog

काठमाडौँ, साउन २७ गते । साना तथा मझौला व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले यस वर्ष नेपालमा चार करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ । निगमले सानिमा बैङ्क र एनएमबी बैङ्कमार्पmत यस्तो ऋण परिचालन गर्न लागेको हो । 

एक वर्षभित्र ३० हजारभन्दा धेरै साना–मझौला व्यवसायी (एसएमई)माझ पुग्ने रणनीतिअनुरूप ऋण लगानी गर्न लागिएको आईएफसीले जनाएको छ । यो लगानीबाट समावेशिता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना)मा सुधारका लागि सहयोग पुग्ने आईएफसीले उल्लेख गरेको छ । वर्तमान विनिमयदरअनुसार यो रकम पाँच अर्ब ७१ करोड रुपियाँ हुन्छ । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी कम भइरहेका बेला दुई बैङ्कले यस्तो ऋणका लागि आईएफसीमा प्रस्ताव पठाएका थिए । 

कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रका महत्त्वपूर्ण पक्ष साना र मझौला उद्यम व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक देखिएको भन्दै आईएफसीले यो कर्जा प्रवाह गरेको जनाएको छ । 

यसले समग्र बैङ्क कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै साना तथा मझौला उद्यमको विस्तारमार्फत नेपालको पुनरुत्थानलाई तीव्रता दिनेमा आफू आशावादी रहेको  वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले बताउनुभयो । “एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्दछन्,” आईएफसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीहरू वित्तीय अभावको सामना गर्न यो प्रभावकारी हुने विज्ञप्तिमा उल्लेख छ । आईएफसीका अनुसार साना तथा मझौला उद्योग व्यवसायमा दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको वित्तीय खाडल रहेको अनुमान छ ।

सो लगानीमध्ये सानिमा बैङ्कले दुई करोड अमेरिकी डलरका लागि सम्झौता गरिसकेको छ भने एनएमबी बैङ्कले यसअघि दुई पटक आईएफसीसँग यस्तो ऋण लिइसकेको थियो । ग्लोबल आईएमई बैङ्क लिमिटेडले पनि ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’अन्तर्गत आईएफसीबाट लगानी भित्र्याएको छ । 

यी लगानीले बैङ्कहरूलाई ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै सयौँ एसएमईलाई लगानी गर्न र हजारौँ रोजगारी सिर्जना गर्न सहज तुल्याउने आईएफसीले जनाएको छ । 

नेपालमा सन् १९७५ देखि लगानी गर्दै आएको आईएफसीले जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी ६० करोड अमेरिकी डलर रहेको छ ।