• ५ साउन २०८१, शनिबार

निर्यातमुखी अर्थतन्त्रको आधार कृषि

blog

अर्थतन्त्रमा सबैभन्दा चिन्ताको विषय भनेको दिनप्रतिदिन बढ्दै गएको उच्च व्यापार घाटा र यसले देशको समग्र आर्थिक गतिविधिमा पारेको असरलाई लिने गरिएको छ। वैदेशिक व्यापारको क्षेत्र र यसको मात्रा बढ्दै जाँदा निर्यात र आयात दुवै व्यापारको मात्रा पनि वृद्धि हुँदै गएको छ। विगत लामो समयदेखि निर्यातको तुलनामा उच्च दरमा वृद्धि हुँदै गएको आयातले मुलुकलाई आयातमुखी अर्थतन्त्रतर्फ डो-याएको अनुभूति हुन थालेको छ। यसले व्यापार घाटा मात्र वृद्धि गरेको छैन, मुलुकको विदेशी मुद्रा सञ्चिति, विनिमय दर, भुक्तानी सन्तुलन, औद्योगिकीकरण, पुँजी निर्माणलगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत प्रतिकूल असर पारेको छ। यी समस्या न्यूनीकरणका लागि निर्यात वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नुबाहेक अर्को विकल्प छैन। साधनस्रोतको उपलब्धता र अनुकूलताका हिसाबले मुलुकले निर्यात वृद्धि गर्नसक्ने सम्भावना बोकेका विभिन्न क्षेत्रमध्ये कृषिक्षेत्र अग्र स्थानमा आउँछ। 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि र विशेषगरी रुस–युक्रेन द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेकाले आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा मुलुकको व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपियाँ पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपियाँ थियो। यसैगरी गत आर्थिक वर्ष आयात व्यापार बढेर १९ खर्ब २० अर्ब ४४ करोड र निर्यात व्यापार २ खर्ब ३ करोड रुपियाँ पुगेको छ। आयात व्यापार २४.७२ प्रतिशतले वृद्धि हुँदा निर्यात ४१.७४ प्रतिशतले बढेको छ। व्यापार घाटा धेरै देखिए पनि एउटा सकारात्मक के छन् भने गएको वर्ष इतिहासमै पहिलो पटक नेपालले दुई खर्बभन्दा बढीको निर्यात व्यापार गरेको छ। कृषि क्षेत्रमा व्यावसायिक खेतीको सुरुवातले पनि यो सम्भव बनाएको हो। 

नेपालबाट निर्यात भएका वस्तुमा कृषिजन्य वस्तुको हिस्सा नै ज्यादा देखिन्छ। गत वर्ष ९३ अर्ब ६९ करोड ९४ करोडको मात्र भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको तथ्याङ्क छ। यस्तै १२ अर्बभन्दा बढीको विभिन्न प्रकारका धागो, १० अर्बभन्दा बढीको गलैँचा, नौ अर्बभन्दा बढीको चिया र कफी, आठ अर्बभन्दा बढीको जुटका उत्पादन, चार अर्बभन्दा बढीको अलैँची, दुई अर्बभन्दा बढीको पस्मिना, प्रशोधित खाद्यान्नजस्ता वस्तु निर्यात भएका छन्। यीबाहेक अन्य घरेलु तथा साना उद्योगबाट समेत सानो सानो परिमाणमा कृषिजन्य वस्तुको निर्यात भएको पाइन्छ। निर्यात व्यापारमा कृषिजन्य वस्तुको गणितीय मान सन्तोषजनक देखिए पनि यसबाट अपेक्षित लाभ लिन नसकिएको विज्ञको भनाइ छ। नेपालबाट निर्यात भएका अधिकांश वस्तुजस्तै भटमास, कच्चा पाम तेल, सूर्यमूखी तेल, धागो, पस्मिना, सुगन्धित तेल, पशु आहार आदिका कच्चा पदार्थ तथा मध्यवर्ती वस्तु तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गरिएका देखिन्छन्। यसले गर्दा यस्ता वस्तुमा अधिक मूल्य अभिवृद्धिको सम्भावना कम हुन्छ। यस्ता वस्तु निर्यातबाट प्राप्त गर्ने आम्दानी पनि न्यून हुन्छ र यिनीहरू दीर्घकालीन प्रकृतिका पनि हुँदैनन्। तसर्थ, हामीले ती वस्तुलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ, जुन वस्तु उत्पादन र प्रशोधनमा स्वदेश भित्रकै साधनस्रोत प्रयोग गर्न सकिन्छ। यस्ता वस्तुको उत्पादनले देशभित्रै रोजगारी, लगानी र उद्यमशीलताका पर्याप्त अवसर सिर्जना गर्छ। यसबाट व्यापार घाटा न्यूनीकरण मात्र होइन समग्र आर्थिक परिसूचकमा नै सकारात्मक प्रभाव पार्न सक्छ।

अहिले मुलुकको वार्षिक बजेटकै हाराहारीमा व्यापार घाटा पुगेको तथ्याङ्क सार्वजनिक भएका छन्। नेपालको व्यापारघाटा चुलिँदै जानुका पछाडि खानीजन्य पेट्रोलियम पदार्थ र केही उद्योगजन्य वस्तुका अलावा अधिकांश आयात हुने वस्तु कृषिजन्य नै पर्दछन्। कृषि प्रधान मुलुकका नामले परिचित भए पनि हाम्रो मुलुकमा दैनिक उपभोग हुने तरकारी, फलफूल, खाद्यवस्तुदेखि मासुजन्य, दुग्धजन्य, पशुपंक्षीजन्य जस्ता वस्तुको आयात उच्च देखिन्छ। कुनै समय खाद्य वस्तु निर्यात गर्ने मुलुक अहिले आयातमा निर्भर छ। गत आ.व. को तथ्याङ्क हेर्ने हो भने मुलुकमा वार्षिक साढे तीन खर्बजतिको खाद्यवस्तु मात्र आयात भएको देखिएको छ। यसमा पनि प्रमुख हिस्सा विभिन्न खाद्यबाली जस्तै धान, चामल, गहुँ, मकै, फापर, तेल, दाल आदिले ओगटेको देखिन्छ। यति मात्र होइन, मुलुकमा सजिलै उत्पादन गर्न सक्ने गुन्द्रुक, खरानी, फूल एवं पुष्प गुच्छा, काठ कोइलाजस्ता वस्तुसमेत आयात हुने गरेको देखिन्छ। यस्तो अवस्थामा देश भित्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। यस विषयलाई सरकारले समेत विशेष प्राथमिकता दिँदै चालू आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तर्जुमा गरेको छ। बजेटमा आगामी आर्थिक वर्ष आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष मनाइने उल्लेख गरिएको छ। यस अभियानअन्तर्गत आन्तरिक उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने र आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूल आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने लक्ष्य बजेटले निर्धारण गरेको छ। बजेटमा तर्जुमा गरिएका कार्ययोजना सही रूपमा कार्यान्वयन हुन सकेमा देश कृषि क्षेत्रमा आत्मनिर्भर मात्र होइन निर्यात व्यापारले पनि गति लिन सक्ने अनुमान लगाउन सकिन्छ। 

कृषि क्षेत्रको विकास र विस्तारका लागि पहिलो प्राथमिकता किसानलाई दिनुपर्ने हुन्छ। किसान मानसिक, शारीरिक र आर्थिक रूपमा स्वस्थ रहे मात्र कृषि क्षेत्रबाट उचित लाभ प्राप्त गर्न सकिन्छ। उनीहरूलाई उत्प्रेरित गर्न यस क्षेत्रबाट प्राप्त गर्न सकिने लाभ र मुनाफाका बारेमा सुसुचित गराउनु जरुरी छ। किसानलाई आवश्यक पर्ने विभिन्न प्रकारका वित्तीय र प्राविधिक सहयोगका साथसाथै व्यावसायिक र प्रविधिमैत्री खेतीका बारेमा दिइने शिक्षा र प्रशिक्षणले कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्नमा सहयोग पुग्नेछ। यसबाट कृषि उद्यमशीलाताको बाटो खुल्नेछ। उद्यमशील किसानले कम समयमा, कम लागतमा, गुणस्तरमा कुनै सम्झौता नगरी धेरै भन्दा धेरै वस्तु उत्पादन गर्न सक्छन्। यसबाट एकातर्फ आन्तरिक मागलाई पूरा गर्न सकिन्छ भने अर्कोतर्फ निर्यात व्यापारमा समेत ठूलो टेवा पुग्नेछ। गुणस्तरीय वस्तुहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बजारमा समेत आफ्नो स्थान सुरक्षित गर्न सक्छन्। 

नेपालमा निर्यात व्यापार परम्परागत र सीमित वस्तु जस्तै, गलैँचा, तयारी पोसाक, वनस्पति घिउ, तेल आदिमा मात्र केन्द्रित भएको देखिन्छ। निर्यात व्यापार प्रवद्र्धनका लागि तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका मूल्यवान् वस्तु जस्तै, पाँचऔले, यार्सागुम्बाजस्ता जडीबुटीका साथै अन्य कृषिजन्य वस्तुलाई संस्थागत रूपमा निकासी गर्न पहल गर्नुपर्ने हुन्छ। कृषिजन्य वस्तुको उत्पादनका लागि ठूला लगानीका बहुराष्ट्रिय कम्पनी नै हुनुपर्छ भन्ने हुँदैन। साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको समेत उचित व्यवस्थापन गरी निर्यात गर्न सकिन्छ। यसमा गाउँ घरमा स्थापित कृषि सहकारीले पनि महìवपूर्ण भूमिका खेल्न सक्छन्। यी सहकारीले किसानको वित्तीय मागलाई केही हदसम्म परिपूर्ति गर्न पनि सहयोगी हुन्छन्। यस्तैगरी हाम्रो मुलुकको निर्यात व्यापारको दिशामा पनि विविधीकरण ल्याउनुपर्ने जरुरी देखिन्छ। अहिलेसम्म नेपालको निर्यात व्यापारको ६० प्रतिशतभन्दा बढी अंश भारतीय बजारले मात्र ओगटेको छ। यसले गर्दा नेपाली वस्तुले उचित स्थान र मूल्य पनि प्राप्त गर्न नसकिरहेको अवस्था छ। यसको अन्त्यका लागि स्वदेशमै गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिनुपर्ने र नयाँ बजारको खोजी गर्नुपर्नेछ। यसरी निर्यात बजारमा देखिएका परम्परागत र संरचनात्मक समस्याको उचित समाधान खोजिएमा कृषि क्षेत्रको सहायताले आयातमुखी अर्थतन्त्र छिट्टै नै निर्यातमुखी अर्थतन्त्रमा परिणत हुने आशा गर्न सकिन्छ।