• ५ साउन २०८१, शनिबार

जनैपूर्णिमाको मौलिकता

blog

जनैपूर्णिमामा जनै त्याग गर्ने मन्त्र : 

एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया।

जीर्णत्वात् तत् परित्यागो गच्छ सूत्र यथासुखम्।

अर्थात् यी धेरै दिनसम्म ब्रह्मरूप, जनै मैले धारण गरेँ, जीर्ण भएकाले अब आफ्ना स्थानमा जाऊ, नवीन जनै प्रयोग गर्छु भन्ने हो। श्रावण शुक्लपूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणीपर्व भनिन्छ । यस दिन नदी, जलाशय तथा घरैमा पनि उपाकर्म गरी पाप प्रक्षालन गर्ने गरिन्छ, नयाँ जनै धारण गरिन्छ। 

ब्रह्माण्डमा अनेकौँ द्वीप छन्। शरीरका नाडी नसाझैँ साढे तीन करोड तीर्थ छन् धर्तीमा, अनेकौँ धाम पनि छन्। सम्पूर्ण ब्रह्माण्ड नै आफ्नो शरीर सम्झी ब्रह्माण्डीय तत्तत् स्थानमा स्थुल रूपमा पुग्न, हेर्न, देख्न, स्तुति वन्दना गर्न नसकेको, अयोध्या, मथुरा, माया, गङ्गा, यमुना, बद्रीधाम, गोसाइँकुण्ड, देवघाटजस्ता पावन क्षेत्रमा पुग्न, स्नान गर्न, दान गर्न, ध्यान गर्न नसकेको प्रायश्चित स्वरूप तत्तत् देव तीर्थलाई आफ्नै वरिपरि पूजास्थलमा आह्वान गरिन्छ । विशेष वेद, उपनिषद्, गायत्री, गीता, पुराण, उपपुराण, शास्त्रीय विधिले चिन्तन गरी रक्षाबन्धनको समेत मन्त्र पढेर गुरु, पुरोहितका हातबाट रक्षाबन्धनको डोरोसमेत आफ्ना हातमा बाँध्ने संस्कार र परम्परा धान्ने पनि यसै दिन हो। 

त्यसो त समय अनुकूल नहुनेका लागि भाद्र, अनन्त चतुर्दशीका दिन पनि उपाकर्म गर्न सकिन्छ। बालरक्षाका लागि विभिन्न रङको डोरो लगाउने प्रचलन छ भने पहेँलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले पुरुष, स्त्री, बाल, वृद्ध सबै वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन अरूका लागि पनि उदाहरणीय छ। प्रायः दक्षिणतिरको संस्कार जनैपूर्णिमाको दिन दिदीबहिनीका हातबाट रङ्गीन राखी बाँध्ने, उपहार आदान–प्रदान गर्ने चलन पनि छ। खासगरी जनैपूर्णिमाको दिन गुरुपुरोहितबाट मन्त्रसहित जनै लिने, जनै दान गर्ने, हातमा डोरो बाँध्ने चलन सबैतिर देखिन्छ। यज्ञोपवीत धारण नगर्ने महिला र अन्य वर्गका स्त्री–पुरुष, केटाकेटी सबैले रक्षाबन्धनको डोरो बाँध्ने चलन छ। 

वर्गपिच्छे जनै बनाउने वस्तु र विधि फरक भए पनि सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन्। जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनुपर्छ । चूडाकर्म, उपनयन, व्रतबन्ध आदि कर्म भइसकेका लागि यस दिन जनैलाई नवीकरण गर्ने दिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ। प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापति रूपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचका रूपमा रहन भगवदीय प्रार्थनासमेत गरी जनै लगाउने गरिन्छ। विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कीर्ति, बुद्धि, धर्म वृद्धिका साथै आयु र आरोग्यसमेत प्राप्त हुन्छ । 

जनैमा भएका पाँच ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने पाँच मुख्य कर्मको सङ्केत गर्छ। सदैव स्वाध्याय, होमादि कार्य, जीवात्मालाई आहुतिमार्फत खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार, जल तर्पण आदिले पितृयज्ञ, प्राणीलाई जल, अन्न दिएर भूतयज्ञ गर्नुपर्नेमा त्यसो गरिरहन नसक्दा प्रायश्चितका लागि विधिपूर्वक उपाक्रम गरिन्छ यसै दिन । जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने कामना, प्रार्थना गर्दै स्नान गरिन्छ। 

पूजाका लागि यस दिन छुट्टै आफैँले वा ब्राह्मणद्वारा महासङ्कल्प गरी गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान रहेको छ। यस अर्थमा यस दिनको स्नान, जनै अभिमन्त्रणकार्य झन्डै चार घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पितृहरूका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताका लागि जनै सव्यबाट तर्पण गरिन्छ। वर्षभरि भएका कुकर्म, झुटो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृत्ति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ। 

हाम्रो मुलुकमा यस दिन खासगरी शिवमन्दिरमा विशेष पर्वमेला लाग्ने गर्छ। पशुपति क्षेत्र, गोसाइँकुण्ड, कुम्भेश्वर आदि विशेष स्थानमा बिहानैदेखि स्नान गर्ने, यज्ञोपवीत धारण गर्नेहरूको विशेष चहलपहल नै हुन्छ । ब्रह्मसूत्र ब्रह्मतेजको रूपमा सव्य पारी धारण गरिन्छ। यसरी धारण गरिएको जनै आवश्यकताअनुसार पितृकार्यमा अपसव्य गरेर पितृ कार्य गरिन्छ भने देवकार्यलगायत अरू जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ। सव्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो भने दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसव्य हो। शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ किनकि कान शरीरको तीर्थस्थान हो। आशौच–जन्म, मृत्युपछि ग्रहण– चन्द्र, सूर्यपछि, प्रत्येक चार महिनापछि नववर्ष, विशेष देवपितृ कार्यमा नयाँ जनै लगाउनुपर्ने हुन्छ। 

तागाधारीहरूलाई जनैबाट अलग राख्नु भनेको उसको ब्रह्मतेज समाप्त गरी तेजोबध गर्नु हो। ऋषितर्पणीका नामले चिनिने जनैपूर्णिमा हिन्दु र कामाशक्तिमाथि विजय प्राप्त गरेका हिसाबले बुद्धमार्गीका लागि पनि विशेष दिन हो । यसै दिन गौतम बुद्धले आफ्नो कामेच्छामाथि विजय प्राप्त गरेका थिए। त्यसैले बौद्धमार्गी यस विशेष प्यारो दिनमा बौद्ध तीर्थस्थल जाने गर्छन् । दानवराज बलीबाट स्वर्गका देवतालाई स्वर्ग हस्तान्तरण गराइएको विजयको दिन स्वरूप पनि यस दिनलाई विशेष स्मरण गर्ने गरिन्छ। ब्राह्मणबाट हातमा रक्षाकवच रक्षाबन्धन बाँध्ने चलन यसैले भएको हो। साथै आफ्ना यजमानहरू राजा बलीजस्तै दानवीर र वचनका पक्की होऊन् भनी गुरुपुरोहितहरूले विशेष आशीर्वाद दिने गर्छन्। 

जनैपूर्णिमाका दिन खासगरी नौ थरिका गेडागुडी मिलाएर क्वाँटी खाने चलन छ। स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषक तìव एकै ठाउँमा मिसाई भिजाई टुसा उमारी तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यस दिन विशेष क्वाँटी खाने चलन चलेको हो । कृषिप्रधान मुलुक हाम्रालागि विशेषगरी वर्षायाममा खेतबारीमा रुझिभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यस ऋतुभरि र नजिकै अर्काे शारदीय चिसो ऋतु सुरु हुने हुँदा स्वास्थ्य रक्षा, स्वास्थ्यवर्धन गरी शारीरिक तन्तरुस्तीका लागि तयार रहन वैज्ञानिक सन्देशसमेत दिएको पुष्टि हुन्छ। 

श्रावणमा घण्टाकर्ण पर्व मान्ने पनि चलन छ। अघि घण्टाकर्ण भन्ने बलियो ठूलो राक्षसले किसान काम गर्ने मानिसलाई दुःख दिने गरेको, कसैले उसलाई हराउन नसकेको तर नपत्याउँदो एउटा सानो भ्यागुतोले उसलाई मारेको उसको बहादुरी बलको कदर गर्दै यसै दिन भ्यागुतोको विशेष पूजा गर्ने र उसलाई खाना खुवाउने चलन प्रायः नेवारी संस्कृतिमा अझै पनि देखिन्छ । भ्यागुतोको पराक्रम स्मरण गर्ने, उसलाई इन्द्रका रूपमा सम्मान गरी पूजा गर्ने, खाना खुवाउने चलन रहेको छ। अझैसम्म पनि भ्यागुतोले ट्वारट्वार आवाज निकाल्दा स्वर्गका देवताले पृथ्वीमा वर्षा गराउने भन्ने आहान छ। पानी जीवन हो, पानीको स्रोत वर्षाकै कारण जीवनका लागि, खेती व्यवसायका लागि अत्यावश्यक नै हो। त्यस्तै किसानी कार्य गर्दा, खनजोत कार्य गर्दा, कीरा, फट्याङ्ग्रा मर्न सक्ने, सर्प, भ्यागुता आदि जीव मर्नसक्ने हुँदा त्यसको दोष निवारण गर्न भ्यागुतालाई खोजेर ल्याई किसानले घरमा पूजा गरी खाना खुवाई प्रायश्चित गर्नेसमेत गर्छन् । नेवारी भाषामा भ्यागुतालाई ‘ब्याँचा’ भनिने र भ्यागुतालाई खाना खुवाउने भएकाले यस दिनलाई ‘ब्याँचा नकेगु पुन्ही’ भन्ने गरेको पाइन्छ र त धर्म, संस्कृतिको, सभ्यता र संस्कारको बेजोड नमुनाका रूपमा रहेका नेपालीका लागि जनैपूर्णिमा चाड वर्षभरिकै विशेष र उत्कृष्ट पर्व हो।