• ५ साउन २०८१, शनिबार

कछुवा गतिमा सिन्धुलीगढी–नागी सडक

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन २७ गते । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सिन्धुलीगढी–नागी–मझुवा सडक कछुवा हिँडाइको गतिमा निर्माण भइरहेको छ। सिन्धुलीगढीदेखि मझुवासम्मको १० किलोमिटर लम्बाइ र साढे पाँच मिटर चौडाइको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी निर्माण सुरु भएको चार वर्ष लाग्दासमेत कार्य प्रगति सन्तोषजनक नभएको स्थानीयवासीको गुनासो छ। 

समयमा निर्माण नहुँदा अहिले सडकमा जताततै पहिरो गएको कमलामाई नगरपालिका–३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाईं बताउनुहुन्छ। उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरबाही देखिन्छ। निर्माण कार्यमा पनि गुणस्तर देखिँदैन।”

समयमा सडक निर्माणको काम नगरी वर्षायाममा काम हुँदा सडकखण्डको विभिन्न स्थानमा पहिरो गई मानिसलाई पैदल हिँड्नसमेत सास्ती भएको र निर्माण भएको नालासमेतमा क्षति पुगेको छ। प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका अनुसार लुम्बिनी आत्रेय जेभीले उक्त सडक निर्माणको जिम्मा लिएकोमा २०७८ असार महिनासम्ममा सम्पन्न गर्ने गरी १८ महिनाको म्याद राखेर निर्माण कम्पनीले सम्झौता गरेको थियो। त्यसपछि कोभिड–१९ लगायतका कारण देखाउँदै २०७८ साल चैतसम्मका लागि म्याद थप भएको थियो।  

हालसम्म सडक निर्माणको प्रगति ७५ प्रतिशत भएको र २०८० असारसम्मलाई म्याद थपिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख देवनारायणप्रसाद यादवले सडकको निर्माण लागत २२ करोड रुपियाँ रहेको जानकारी दिनुभयो।