• ५ साउन २०८१, शनिबार

गुणस्तरहीन सडकले स्थानीयलाई सास्ती

blog

बाबुराम शर्मा 

चरीकोट, साउन २७ गते । दोलखाको जिरी नगरपालिकास्थित जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन्। १६ वर्षदेखि बर्सेनि बजेट विनियोजन भए पनि सडक गुणस्तरीय बन्न नसक्दा यात्रुले सास्ती भोग्नुपरेको हो। 

तत्कालीन जिल्ला विकास समितिले यो सडकमा लाखौँ रुपियाँ बजेट खर्च गरेको थियो। जिविसकै बजेटमा ट्र्याक खोलिएको सडकमा अहिलेसम्म पनि स्तरीय काम हुन सकेको छैन। सडक निर्माण भए पनि नाला, सोलिङलगायतका आवश्यक अन्य पूर्वाधार बन्न नसक्दा वर्षायाममा सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ भने हिउँदमा सडक धुलाम्मे हुने गरेको छ। 

गत कात्तिकदेखि काठमाडौँबाट जिरीमाली श्यामा रुटमा अरनिको बस सञ्चालनमा आए पनि सडकको दुरवस्थाका कारण बसले गन्तव्यसम्मको यात्रा तय गर्न कठिन हुने गरेको छ। स्थानीय तहको पहिलो पाँच वर्षे कार्यकाल सकिए पनि यो सडक अझै दिगो रूपमा निर्माण हुन नसकेको स्थानीय धनबहादुर केसीले गुनासो गर्नुभयो। 

नेकपा माओवादी केन्द्रकी नेत्री देवी खड्का भौतिक योजना राज्यमन्त्री हुँदा जिरी–माली–श्यामा सडकलाई तीन जिल्ला जोड्ने सडकका रूपमा जिरी–माली–श्यामा ढिङ्ग्री नामकरण गरी रातो किताबमा समावेश गरेर बजेट विनियोजन गरिएको थियो। जिरीबाट माली, श्यामा, रामेछापको गर्जाङ–गुम्देल हुँदै सोलुखुम्बुको ढिङ्ग्रीसम्म जोड्ने मार्गका रूपमा रहेको यो सडकलाई पक्की बनाउने लक्ष्य राखिए पनि सरकार परिवर्तनसँगै सडकको काम निरन्तर ओझेलमा परिरहेको छ। जिरी नगरपालिकाले पनि आफ्ना चारवटा वडाका जनता प्रत्यक्ष लाभान्वित हुने सडकलाई प्राथमिकता दिन सकेको छैन। 

रातो किताबमै परेको यो सडक निर्माण सुरु गरेको १६ वर्षभन्दा बढी भए पनि कालोपत्रे गर्ने कार्य सुरु हुन सकेको छैन। गत वर्ष जिरी–माली–श्यामा सडक स्तरोन्नतिका लागि दुई करोड ४८ लाख चार हजार रुपियाँमा ठेक्का लागेको थियो। सङ्घ र नगरको ५०/५० प्रतिशत लगानी हुनुपर्ने प्रावधानअनुसार लगानी गरी स्तरोन्नतिको काम भए पनि सडकको अवस्था भने जस्ताको तस्तै रहेको छ। 

आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले सो सडक स्तरोन्नतिका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। 

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले जिरी–माली–श्यामा रामेछापको गुम्देल हँुदै सोलुखुम्बुको ढिङ्ग्रीसम्म जाने ७६ किलोमिटर लामो सडकका लागि ५० लाख र प्रदेश सरकारले ९० लाख रुपियाँ विनियोजन गरेको छ। नगरउपप्रमुख कृष्णकुमारी बुढाथोकीले बर्सेनि विनियोजन हुने गरेको बजेट सोलिङ, ग्राभेल, नालालगायतका काममा खर्च भएको जानकारी दिँदै रातो किताबमा आएको भनिएको बजेट लगानी हुन नसकेको बताउनुभयो।