• ५ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक बन्द

blog

रसुवा समाचारदाता

रसुवा, साउन २७ गते । रसुवा जिल्लामा पर्ने पासाङल्हामु राजमार्गको बेत्रावती–कालिकास्थान सडकमा पहिरो जाँदा धुन्चे–काठमाडौँ तथा रसुवागढी नाकासम्म सवारीसाधन सञ्चालन ठप्प भएको छ। उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले भत्काएको छ।

गएरातिको वर्षाका कारण पहिरोले बगाएको सडक खुलाउन केही दिन लाग्न सक्ने इलाका प्रहरी कार्यालय कालिकास्थानका वरिष्ठ नायब निरीक्षक काशीराम बुढाले बताउनुभयो। बेत्रावती–मैलुङ सडकमा पनि ठूलो पहिरो गएको छ। योसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवै सडक अवरुद्ध बनेका छन्। रसुवा सदरमुकाम धुन्चेसँगको सडक सम्पर्कसमेत विच्छेद भएको छ। 

पहिरोका कारण सडक पूर्ण क्षति भएको र मर्मतका लागि समय लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो। उहाँले पहिरो पन्छाएर सडक खोल्नका लागि प्रयास भइरहेको र वैकल्पिक मार्ग खोल्नका लागिसमेत स्थानीय सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिनुभयो।

पहिरोका कारण अवरुद्ध सडकलाई नियमित रूपमा सञ्चालनमा ल्याउन र वैकल्पिक मार्ग धारापानी–बेलचौर, तारुके सडकलाई फराकिलो बनाउने काम सुरु भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव आर्यालले जानकारी दिनुभएको छ। वैकल्पिक मार्गबाट यात्रुवाहक बस तथा अन्य ठूला यातायातका साधन आवागमन सहज नहुने अध्यक्ष अर्यालले बताउनुभयो।