• १५ वैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओलीको अध्यक्षतामा निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन

blog

नेकपा (एमाले) सचिवालय बैठक । तस्बिर : राजन काफ्ले

काठमाडौं, साउन २६ गते । नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । 

कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

यसैगरी, बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा आगामी निर्वाचनका लागि केन्द्रीय परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका अध्यक्षहरु र महासचिवहरु रहनुभएको  गुरुङले बताउनुभयो । 

उहाँले बैठकले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिट्ब्यूरो र १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिनुभयो। 

उहाँका अनुसार बैठकले केन्द्रीय कमिटीमा सदस्यहरु चयन गरेको छ । जसमा, जीवन गौतम ९दाङ०, बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) हुनुहुन्छ । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको गुरुङले बताउनुभयो । 

यसैगरी, एमालेले पार्टीका विभिन्न विभागका रिक्त रहेका सचिव मनोनित गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुषाल, कृषि तथा पशुपन्छी विकास विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागमा सुरज अधिकारी, पर्यटन प्रबर्धन तथा नागरिक उड्डयनमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुदमा मेघराज पौडेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा एस जी शर्मा, सहकारी तथा गरिबी निवारणमा केबी उप्रेती, विपद व्यवस्थापनमा सोभित ढकाल, सामाजिक सुरक्षामा पुस्कार खाती, भूमि व्यवस्था विभागमा आरसी लामिछाने, शहरी विकासमा गजेन्द्र थपलिया मनोनित हुनुभएको गुरुङले जानकारी दिनुभयो। 

यसैगरी, बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार, मधेश प्रदेशको सहइन्चार्ज रामदयाल मण्डल, महोत्तरी जिल्लाको इन्चार्ज सरोज यादव, धनुषा जिल्लाको सहइन्चार्ज प्रमोदनारायण यादव, भूमि व्यवस्था विभागको उपप्रमुखमा भीम कार्की र कास्की जिल्लाको इन्चार्ज कृष्ण थापालाई तोकिएको छ । उहाँले पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित भएको पनि बताउनुभएको छ ।