• ६ वैशाख २०८१, बिहिबार

कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा र पुस्तक विमोचन गर्न पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।

यसैबीच, राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री समापन भएको  छ । 

काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणबाट कोरोनाबाट समाजलाई मुक्त गर्नको लागि विभिन्न पूजा गरिएको समाजका महासचिव विराज राजोपाध्यायले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । 


१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, नौ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो । करिब १० हजार सङ्ख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । 

काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मङ्गलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्रीपाठ गरिँदै आएको हो ।