• १३ साउन २०८१, आइतबार

रामपुर अस्पतालले नयाँ भवनबाट सेवा दिएपछि बिरामीलाई सहज

blog

रामपुर अस्पतालको नयाँ भवन । तस्बिर – गोप

रेखीराम राना

पाल्पा, साउन २६ गते । पुरानो भवनबाट सेवा दिँदै आएको जिल्लाको पूर्वी भेग रामपुरमा रहेको रामपुर अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको छ । वि.स. २०७२ सालमा ५० शैय्याको रुपमा स्तरोन्नति भएको अस्पतालको व्यवस्थित भवन नहुँदा पुरानै भवनबाट सेवा दिइएको थियो । 

नेपाल सरकारको १८ करोड ५० लाख रुपियाँको लागतमा अस्पतालको नयाँ भवन बनेपछि सेवा सोही भवनबाट सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७२/७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन ढिला गरी सम्पन्न भएपछि सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । भवनको बाहिर ट्रस र भुइँमा टायल बिछ्याउने काम अझैँ बाँकी छ । बाँकी काम समेत आगामी असोजभित्र सकिने अस्पतालले जनाएको छ । 

नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले जानकारी दिनुभयो । नयाँ भवनमा बहिरङ्ग सेवा सुरु गरेपछि दैनिक एक सयभन्दा बढी सेवाग्राही थपिएको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीको सङ्ख्या समेत बढेको अस्पतालले जनाएको छ । 

नयाँ भवनको पहिलो तल्लामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानीलगायतको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।