• १४ वैशाख २०८१, शुक्रबार

मनमाेहक भाङ्गे झरना (फाेटाे फिचरसहित)

blog

नमराज सुवेदी

नुवाकोट, साउन २६ गते । उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईंचो बढ्न थालेको छ । रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु रहेको मध्ये वर्षाको समयमा मात्र बन्ने यस्ता झरनाहरु हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईंचो लाग्छ ।

अहिले भाङ्गे झरनालाई बाहुबली झरना पनि भन्न थालिएको छ । झरनाको सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न रसुवा जिल्लालगायत छिमेकी जिल्ला नुवाकोट, काठमाडौंबाट समेत दैनिक एकदेखि दुई हजार पर्यटक आउने गरेको स्थानीयले जानकारी दिएका छन् । 


शनिबार र विदाको दिन प्रायः एकदेखि दुई हजार बढी पर्यटकको आवागमन हुने गर्दछ । त्यस्तै, अन्य दिन ४ देखि ५ सयभन्दा बढी पर्यटकको आवागमन हुने गर्छ ।

आन्तरिक पर्यटकहरु सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न, चिसोपनको आनन्द लिई टिकटक, फोटो र भिडियो बनाउन व्यस्त हुन्छन् ।


झरनाको पानी खस्ने स्थानसम्म पर्यटकलाई सहज रुपमा पुग्नसक्ने गरी बाटो निर्माण गरी  आन्तरिक पर्यटक बढाउने गरी योजना बनाएको उत्तरगया गाँउपालिकाले जानकारी दिएको छ  ।

नेपाल–चीनको अन्तराष्ट्रिय सडक बेत्रावती–मैलुङ–स्याफ्रुबेशीमा पर्ने भाङ्गे झरना सडकको मैलुङ नजिक पर्दछ । 

राम्रो व्यवस्थापन नहुँदा पर्यटकलाई असहज भएकाले सम्बद्ध पक्षको ध्यान जान आवश्यकता रहेको  युवा व्यवसायी मक्कर लामाको भनाइ छ ।