• १३ असोज २०८१, आइतबार

व्यापारीको अतिक्रमणमा फुटपाथ

blog

गणेश पौडेल 

पर्वत, साउन २५ गते । पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य सडक शिवालय चोकदेखि प्रगति चोकसम्मको सडक फुटपाथ व्यापारीले अतिक्रमण गरी सामान राख्दा पैदलयात्रीलाई सास्ती भएको छ। 

मुख्य बजारक्षेत्रको मुख्य सडक व्यापारीका कारण अस्तव्यस्त हुँदा पनि सम्बद्ध निकायले कुनै चासो देखाएको छैन। कुश्मा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत यो समस्या समाधानमा मौन देखिएका छन्। 

मुख्य बजार क्षेत्रमा एकतर्फी सवारी पार्किङको व्यवस्था गरिए पनि मनपरी ढङ्गले सवारी पार्किङसँगै व्यापारीहरूले फुटपाथमा सामान राखिदिँदा पैदलयात्रीलाई हिँड्नसमेत 

समस्या परेको छ। 

साँघुरो सडकमा पार्किङसँगै पैदल यात्री हिँड्ने ठाउँसमेत व्यापारीले कब्जा गर्न थालेपछि कहाँबाट हिँड्ने ? पैदल यात्री सञ्जय शर्माले गुनासो राख्नुभयो। सडकसम्म सामान झुन्डाउने र हिँड्ने ठाउँमा सामान राखिदिँदा हिँड्नै नसक्ने अवस्था छ। 

“नगरपालिकाले सडक अतिक्रमण र फुटपाथ सफा गराउनुपर्ने हो,” जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सुमन निउरेले भन्नुभयो, “फुटपाथ यात्रुका लागि हो, सामान बेच्नका लागि होइन।” व्यस्त सडकमा यात्रुलाई सहजताका लागि फुटपाथ सहज रूपमा प्रयोग गर्न दिनुपर्ने उहाँको भनाइ छ। 

सडक व्यवस्थित बनाउन कुश्मा नगरपालिकाले फुटपाथसहितको सडक निर्माणका लागि पहल गरेको तर व्यापारीहरूले सडकमा सामान राखेर अशोभनीय बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताउनुभयो। 

उहाँले भन्नुभयो, “सडकसम्म टाउको ठोकिने गरी सामान राख्न पाइँदैन, फुटपाथमा सहज रूपमा हिँड्न पाउनुपर्छ। त्यसका लागि उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीसँग समन्वय गरी व्यवस्थित गराउन पहल गर्छौं।” 

सटरमा व्यापार गर्नेहरूले सामान तलसम्म राखिदिने, तरकारी बेच्न फुटपाथ, निर्माण सामग्री सडकमै थुपार्नेजस्ता कार्यले बजारक्षेत्र अव्यवस्थित बन्दै गएको छ। शारीरिक रूपमा अशक्त र अपाङ्गता भएका व्यक्ति तथा ह्विलचियर प्रयोगकर्ताका लागि अधिकांश फुटपाथ साँघुरा छन्। यसका कारण सडक किनारबाटै यात्रा गर्नुपर्ने बाध्यता छ। 

सडकलाई सहज नगराउँदा दुर्घटनाको जोखिम बढ्दो छ। यस विषयमा सम्बन्धित निकाय मौन बसेको सर्वसाधारणको आरोप छ। अहिले कुश्माबजारको लोकतन्त्र चोकदेखि बडागाउँसम्म, शिवालय चोकदेखि प्रगती चोकलगायत अन्य क्षेत्रमा दिउँसोको समयमा अत्यधिक ट्राफिक समस्या हुने गरेको छ। 

फुटपाथमा हिँड्नु पर्ने यात्री सडक किनारा हुँदै हिँड्न थालेपछि दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको छ। व्यापारी फुटपाथमा राखिएको सामान सजिलै उठाउन सहमत देखिँदैनन्। एकले अर्कोलाई देखाएर सडक फुटपाथमा सामान राख्न प्रतिस्पर्धा गर्दै आएका छन्।