• १२ असार २०८१, बुधबार

गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

blog

प्रदेश खेलकुद परिषद, सदस्य भरत थापाको उपस्थितीमा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का र उपाध्यक्ष पार्वती कुँवरलाई प्रस्तावना पेश गरिँदै । तस्बिर – रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, साउन २४ गते । गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । 

जिल्लास्तरीय छनाेट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । हालसम्म सात स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी पाँच स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनाेट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको उपाध्यक्ष जिसीले बताउनुभयो ।

गुल्मी जिल्लाबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिण्टनलगायत १९ वटा खेलमा प्रदेश खेलकुद परिषद, लुम्बिनीलाई माग गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरीय छनाेट प्रतियोगितामा सहभागी भई छनाेट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । 

कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।