• १२ पुस २०८१, शुक्रबार

खुसी ‘यसरी हुन्छौं ...’

blog

भाइबहिनीहरू ! तिमीहरू सानै उमेरबाट लेखपढ गर्न थालेका छौ । तिमीमध्ये केहीलाई लेख्न पढ्न निकै रमाइलो लाग्छ । केहीलाई भने पढ्न लेख्न मनै लाग्दैन होला । साँच्चै तिमीमध्ये केहीले त भविष्यमा राम्रो काम पाउन र प्रशस्त धन कमाउनुपर्छ भनेर पनि पढिरहेका छौ होला । भविष्यमा केही राम्रो गराँै भनेर । अहिले मेहनत गर्नु निश्चय पनि राम्रो कुरा हो । विद्यालयमा तिमीले भाषा, विज्ञान, गणित र सामाजिक विषय पढ्छौ होला  । र, यी विषय पक्कै पनि परीक्षा पढ्नकै लागि बनाइएका विषय होइनन् । हामीले अरूसँग कसरी कुराकानी गर्नुपर्छ ? प्रकृतिमा विभिन्न घटना के कारणले भइरहेका छन् ? विभिन्न फरक तर्क  दिनसक्ने र  ज्ञान लिएर  विषय वस्तुमा  समाधान दिन सक्ने बन्न  विज्ञान र गणित विषय पढेका छौ  नै । यसबाहेक सामाजिक विषयले समाजमा कसरी बस्ने ? छिमेकीसँग कस्तो व्यवहार गर्नेलगायतका कुरा सिकाउँछ । तिम्रो विद्यालयमा नृत्य, कला, सङ्गीत, स्वास्थ्य तथा शारीरिकलगायतका विषय पनि पठनपाठन हुने गर्दछन् क्यारे ! 

तिम्रो मनमा कस्तो कुरा चलेको छ ? त्यस कुराले तिमीलाई खुसी बनाएको छ कि छैन ? अनि खुसी हुनका लागि के गर्नुपर्छ ? भन्ने विषय विद्यालयमा पढाइ हुन्छ त ? खुसी त हुने कुरा हो पढ्ने कुरा होइनजस्तो लाग्नसक्छ तिमीलाई । जीवनमा नभई नहुने र सम्पूर्ण किसिमका उपलब्धि हासिल गरेपछि बढीभन्दा बढी खोजिने चिज खुसी नै हो । यति महत्त्वपूर्ण  कुरा भए पनि किन कतै पनि खुसी हुन नसिकाएको होला ?

समाजमा तिमीले धेरै किसिमका मानिस देखेका छौ । धनी, गरिब, शिक्षित, अशिक्षित, दयालु, निर्दयी सहयोगी, असहयोगी अनेकौँ किसिमका मानिस समाजमा भेटिन्छन् । धेरै मानिसले धन सम्पत्ति भएकालाई मात्र सुखी र खुसी देख्दछन् । तिमीलाई थाहा छ, खुसी हुन नसक्ने मान्छे धन सम्पत्ति र सेवा सुविधा प्राप्त गरेर पनि खुसी हुन सकेको हुँदैन । उसले जति सफलता पाए पनि, बाहिरबाट जति सम्पन्न देखिए पनि भित्रैबाट खुसी हुन जानेको हुँदैन । यतिखेर उसका धन सम्पत्तिले उसलाई झनै दुःखी बनाएका हुन्छन् । 

मन खुसी भएन भने धन सम्पत्ति काम लाग्दैन । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भनेका छन् नि । तिमीलाई सम्झना छ “साग र सिस्नु खाएको बेस आनन्दी मनले ।” मन खुसी भएको मानिस भने नमिठो खाना खाँदा वा सामान्य किसिमले बाँच्दा पनि खुसी हुनसक्दछ । अर्को किसिमले भन्ने हो भने जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको खुसी भएर बाँच्न सक्नु हो । तिमीलाई थाहा छ, अहिले संसारमा मानसिक समस्या निकै बढेको छ । मानसिक समस्यामध्ये पनि सबैभन्दा धेरै मानिस खुसी हुन नसक्ने रोगले पीडित भएका छन् । उनीहरू बितेको समयमा गरेका काम बिर्सनै सक्दैनन् । पश्चाताप गर्दै उनीहरूको दिन बित्छ । अर्काथरी मान्छे भविष्यमा के हुने हो भनेर डराउँदै बाँचिरहेका हुन्छन् । उनीहरूले पनि वर्तमान समयको यथार्थलाई बुझेर आनन्द लिन सक्दैनन् । उदासीनता र त्रासदीजस्ता रोगले उनीहरू पीडित भएका हुन्छन् ।

विद्यालयमा धेरै विषय पढे पनि खुसी हुने कलाको पढाइ ज्यादै कम विद्यालय मात्र हुन्छ । साँच्चै तिमीले घरमा कसरी खुसी हुनुपर्छ भनेर सिकेका छौ त ? धेरै जसोको घरमा त अरूलाई जित्नका लागि पढ्नुपर्छ, साथीले भन्दा राम्रो गर्नुपर्छ मात्र भनेको सुनिन्छ । राम्रो पढेर धेरै अङ्क ल्याउनुपर्छ भन्दै अभिभावकले पढाइलाई जोड दिएको पनि पाइन्छ । आमा–बाले माया नगरेर किन सधैँ पढ–पढ मात्र भन्नुहुन्छ जस्तो पनि लाग्छ तिमीलाई । उहाँहरूले तिमीलाई माया गरेकैले पढ्नका लागि प्रेरित गर्नुभएको हो तर पढाइ मात्र सबैथोक भने होइन नि । पढाइ सँगसँगै राम्रा कुराको सिकाइ हुनुपर्दछ ।  

युनेस्कोले सिकाइका चारवटा सूत्र अगाडि सारेको छ । उसका अनुसार हाम्रो सिकाइ केही नयाँ कुरा जान्नका लागि हुनुपर्दछ । यसभन्दा अझ बढी आफू र समाजका लागि केही राम्रो काम गर्नका लागि हुनुपर्दछ । तेस्रो सूत्रका रूपमा युनेस्कोले असल बन्नका लागि सिकाइ हुनुपर्दछ भनेको छ । उसले चौथो सूत्रका रूपमा समाज र साथीभाइसँग सँगै रहनका लागि सिकाइ गर्नुपर्ने कुरा अघि सारेको छ । आजका हाम्रा विद्यालयमा जान्नका लागि मात्र सिकाइ गर्ने चलन बढेको छ । जानेर मात्र पुग्दैन । वास्तवमा केही गर्नका लागि सिकाइ हुनुपर्दछ । त्यसभन्दा अझ बढी त असल मान्छे बन्नका लागि र समुदायमा राम्रो मानिस बनेर सहयोगी भूमिका निर्वाह गर्नका लागि सिकाइ हुनु पर्दो रहेछ । 

युनेस्को, युनिसेफलगायतका संस्थाहरूले खुसी हुने कला पनि सिकाइ सँगसँगै सिक्नुपर्ने धारणा राख्दछन् । आजकल संसारका धेरै देशले विद्यालयका पाठ्यक्रममा खुसी हुने कलालाई पनि जोडेका छन् । ती देशमा बालबालिकालाई विद्यालयमा कसरी खुसी हुने भन्नेबारे पनि  सिकाउने गरिन्छ । खुसी हुने कला सिकाइने देशका विद्यार्थीले निकै राम्रो उपलब्धि हासिल गरेको पाइएको छ ।

राम्रो चिज पाएमा र मन लागेको काम गर्न पाएमा जो पनि खुसी भइहाल्छ नि जस्तो लाग्छ होला तिमीलाई तर मनोवैज्ञानिकले खुसीलाई तीन प्रकारमा बाँडेका छन् । हाम्रा पाँच इन्द्रियबाट प्राप्त हुने खुसीलाई उनीहरूले सबैभन्दा तल्लो स्तरको क्षणिक खुसीमा राखेका छन् । मीठो खाँदा, राम्रो लगाउँदा, राम्रो कुरा देख्दा, मीठो कुरा सुन्दा र राम्रो बास्ना सुङ्दा आउने आनन्द एकैछिनमा हराएर जान्छ । यसले हामीलाई लामो समयसम्म खुसी गराउन सक्दैन । 

सबैभन्दा उच्चस्तरको खुसीलाई वैज्ञानिकहरूले दिगो खुसी नामकरण गरेका छन्। समस्या समाधान गर्दा र नयाँ कुरा पत्ता लगाउँदा तिमीलाई कत्तिको खुसी लाग्छ ? रहस्य थाहा पाउँदा र समस्या समाधान गर्दा प्राप्त हुने खुसी लामो समयसम्म रहन्छ। 

घरपरिवार, आफन्त, साथीसङ्गी र विद्यालयमा गुरुहरूबाट माया पाउँदा तिमीलाई कस्तो लाग्छ ? तिमी खुसीले फुरुङ्ग हुन्छौ होला । अरू मानिसले तिमीलाई सम्मान गरेर बोल्दा तिमी भित्रैबाट खुसी हुन्छौ होला नि । तिमीले गरेका कामको प्रशंसा गर्दै तिम्रा कुरा सुनिदिँदा झन् खुसी लाग्छ होला । अरू मानिसले आफूलाई मूल्य दिँदा प्राप्त हुने खुसीलाई गम्भीर किसिमको खुसी भनिएको छ । 

सबैभन्दा उच्चस्तरको खुसीलाई वैज्ञानिकले दिगो खुसी नामकरण गरेका छन् । समस्या समाधान गर्दा र नयाँ कुरा पत्ता लगाउँदा तिमीलाई कत्तिको खुसी लाग्छ ? रहस्य थाहा पाउँदा र समस्या समाधान गर्दा प्राप्त हुने खुसी लामो समयसम्म रहन्छ । यस खुसीले हामीलाई झनै उमङ्गित बनाउँछ । यतिखेर हामीले आफूलाई धन्यवाद दिन सक्दछौँ । हाम्रा मनमा कस्ता विचार आएका छन् बुझ्न सक्दछौँ । आफूलाई सचेत अवस्थामा राख्न सक्दछौँ । सचेत अवस्थामा गरिएका कामले हामीलाई झनै खुसी बनाउँछ । 

मन त निकै चञ्चल हुन्छ नि । कहिलेकाहीँ त कक्षामा पढाइ भइरहेको बेला पनि मन कता कता डुलेको हुन्छ । आफैँलाई चिनेर आफ्नो शरीर र मनको वर्तमान अवस्थालाई महसुस गर्न सकेमा हाम्रो मन हामीबाट टाढा भाग्न सक्दैन । शरीरसँगै मन भयो भने बितेका घटनाले हामीलाई दुःख दिन सक्दैनन् । भविष्यमा हुने समस्याले वर्तमानलाई बाधा पु-याउन पनि सक्दैनन् । अनि त हामी महात्मा गान्धीले भनेझैं आफ्नो सोचाइ, भनाइ र गराइका बीचमा समानता ल्याउन सक्दछौँ । जब हाम्रो सोचाइ, भनाइ र गराइ एकै किसिमको हुन्छ तब हामीमा खुसीको मात्रा झनै बढ्न थाल्दछ । 

भित्रैबाट खुसी भयौँ भने हामीले अप्ठ्यारा काम पनि सजिलै सम्पन्न गर्न सक्दछौँ । हामीले जीवनभर जे जति काम गर्छौँ ती सबैको आशय हामीलाई खुसी बनाउने हो । 

जब हामी आफू खुसी हुन्छौँ हामी हाम्रो समाज र समाजका अरू सदस्यलाई पनि खुसी बनाउन सक्दछौँ । हाम्रो पढाइ, लेखाइ, सिकाइ र खेलाइ सबै कुराको लक्ष्य खुसी हुनु नै हो । यसैले आफूलाई चिनौँ, खुसी बनौँ र अरूलाई पनि खुसी बनाउने प्रयास गरौँ । विद्यालयमा गुरुहरूबाट खुसी हुने कला पनि सिक्नु पर्दछ । आशा गरौँ अबका केही दिनमा तिम्रा विद्यालयमा पनि खुसी हुने कलाको पढाइ हुनेछ ।