• ८ वैशाख २०८१, शनिबार

केबलकारमा पत्रकार अड्काइएपछि

blog

... झुन्डिएका चमेराहरू

उडेकालाई गुडेका देख्दा होलान्,

गुडेकालाई उडेका देख्दा होलान्!


कवि कृष्णभूषण बल (विसं २००४—२०६९) को एक कविताका साढे दुई पङ्क्ति सापटी लिएर यो लेख लेख्दै गर्दा २०७९ साउनको चौथो सोमबार चल्दैछ। उसै पनि सोमबार शिवको बार मानिन्छ साउनको सोमबार त झन् विशेष हुने नै गरेको छ। त्यसैले साउनभरि नै र विशेष गरी शिवालयहरूमा भक्तजनको ओइरो लाग्ने गर्छ। सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यका धेरै विशेषता र पहिचान छन्। यसको नाम पनि छ बदनाम पनि छ। यो मन्दिरै मन्दिरको सहर पनि हो तर यहाँ घृणित र पापकर्म पनि हुन्छन्। 

मन्दिरै मन्दिरको सहरको पहिचानमा अनेक शिवालय पनि पर्छन् — पशुपति, डोलेश्वर, तारकेश्वर, सन्तानेश्वर, अनन्तलिङ्गेश्वर, गोकर्णेश्वर, आशापुरेश्वर, भालेश्वर ... आदि। थुप्रै शिवालयमा साउनमा भक्तजन जान रुचाउँछन्, कोही आफैँ जान्छन् कोही लगिन्छन्। कोही हिँडेर पुग्छन्, कोही गुडेर त कोही उडेर पनि जानुपर्ने अवस्था छ। यसको अर्थ उल्लिखित शिवालय सबै भक्तजनका लागि सहज पहुँचयोग्य छैनन् भन्ने हो। प्रविधिले सहज बनाइदिएको छ। 

भक्तजनको सहजताका लागि शिवालय उक्लने केबलकारसम्मको व्यवस्था पनि छ। केबलकार भनेको गुड्ने र उड्ने प्रविधिको ‘फ्युजन’ हो। यो झुन्डिन्छ, गुड्छ र उड्छ पनि। स्वाभाविक रूपमा पृथ्वीको गुरुत्वाकर्षण शक्तिले कहिलेकाहीँ उड्ने र गुड्ने क्रम रोकी केबलकारलाई झुन्डिने मात्र बनाइदिन्छ अर्थात् अड्किन्छ। मानिसको जात चमेरा जस्तो झुन्डिएर रमाउने नहुँदा अड्किँदा उसलाई सकस नै हुन्छ।

भक्तजन भनेका मानिस हुन्। मानिस भनेको उपभोक्ता हो। अनि उपभोक्ता बजारको एउटा वस्तु हो। जहाँ मानिस बढी जान्छ त्यस ठाउँमा उहिले ठट वा जात्रा लाग्थ्यो। त्यस्तो हुँदा अहिले स्थायी बजार बन्छ र आर्थिक गतिविधि र चलखेल पनि हुन्छ। राजधानीका सडकमा गुड्ने प्रायः सार्वजनिक सवारीले सडक किनारामा उभिएका वा हिँड्दै गरेका मान्छेलाई पैसा र भित्र पसिसकेपछि बोराका आलु देख्छ र त्यही अनुसार व्यवहार गर्छ। त्यसको नियमन गर्ने निकायले चाहिँ मान्छेलाई कुन अवस्थामा केका रूपमा हेर्छ थाहा छैन। 

काठमाडौँमा धेरै जात्रा हुने गरेका छन्। कहीँ नभएको जात्रा पनि काठमाडौँकै हाँडीगाउँमा लाग्छ। जात्राको अर्थ सङ्कुचन भई नकारात्मक अर्थ दिने हुन थालेको छ। अहिले गाईजात्रालाई थोरैले र वर्षको एक दिन मात्र संस्कृति ठान्छन्। धेरैले वर्षका ३६४ दिन हुने विकृतिलाई गाईजात्राका रूपमा चिन्न थालेका छन्।


‘एक हुल पत्रकार’ को भालेश्वर यात्रा

साउनका दुई सोमबार बितेपछिको शुक्रबार ‘एक हुल पत्रकार’ पनि एउटा काठमाडौँ उपत्यकाको एउटा शिवालय भालेश्वरतिर लागेछन्। पत्रकारको काम समाचार लेख्नु हो तर सबै यात्रा र गन्तव्य वा साधनका समाचार लेखिँदैनन्। कुनैका लेखिन्छन् ती साँच्चिकै समाचारका विषय हुन्छन् किनभने अमेरिकाका पत्रकार चाल्र्स एन्डर्सन डाना (सन् १८१९–१८९७) को समाचारको परिभाषा — “कुकुरले मान्छे टोक्यो भने समाचार हुँदैन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ” प्रायः सबै पत्रकारलाई थाहा हुन्छ। पत्रकारिता सिक्ने र पत्रकारिता गर्ने सबैले समाचार र असमाचार छुट्याउने महìवपूर्ण सूत्र यही हो । यो विश्वव्यापी प्रचलनमा पनि छ । 

भालेश्वर गएका ‘एक हुल पत्रकार’ हरूमध्ये केहीले समाचार लेखे केहीले लेखेनन्। लेख्नेले फरक–फरक किसिमले समाचार लेखे यहाँ भने दुई भिन्न सञ्चार माध्यममा भिन्नाभिन्नै दुईजनाले लेखेका समाचारको चर्चा गरिएको छ। दुई समाचारले नेपाली पत्रकारितामा विभाजन गर्न सरकारी र निजी (गैरसरकारी भनिँदैन) भनी लगाइएको कृत्रिम ‘लेबल’, एजेन्सी पत्रकारिता र सञ्चार माध्यमगत विविधतालाई केही हदसम्म समेट्छ । ती दुई उदाहरणले हाम्रो पत्रकारिता कतातिर उडान भर्दैछ भन्ने केही सङ्केत गर्छ। 

समाचार १ नेपालको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) को हो। समाचार २ नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछिको खुला र सहज अवस्थामा खुलेको निजी क्षेत्रको सञ्चारगृह कान्तिपुर पब्लिकेसन्स लिमिटेडको अनलाइन संस्करणको हो। 


समाचार १

‘चन्द्रागिरि केवलकारमा पत्रकार नै अड्किएपछि ...’

(राससको यो समाचार विभिन्न सञ्चार माध्यमले आफ्नै शीर्षक दिएर प्रकाशित गरेका थिए। तीमध्ये नेपाल समय अनलाइनले दिएको समाचार शीर्षक यो थियो। कतिपयले आफ्नै समाचारदाताको समाचार दिएर पनि राससको यस समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका थिए। नेपाल समयले दिएको समाचार राससको छोटो रुप छ तर त्यसमा केही थपघट गरिएको छ) समाचारको नमुना यस्तो छ :

“काठमाडौं, २० साउन (रासस) : (यो स्थानकाल लेख्ने शैली हो। राससका समाचार प्रयोग गर्ने अरू माध्यमले आफ्नै शैलीअनुसार लेख्छन्।) काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए। चन्द्रागिरि केबलकारका प्रायः सबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो।”

यस समाचारले उपत्यकाका एक हुल पत्रकार आपसी सल्लाह गरेर चन्द्रागिरिमा रहेको केबलकार चढ्न गएको बताउँछ। पत्रकार आफैँ पुगेका हुन् कि लगिएका हुन् त्यो बेग्लै विषय हो। केबलकारका गोन्डोला जसलाई डिब्बा भनेर चिनाइएको छ, भरिभराउ रहेको र पत्रकारको यात्रा चलेको बताउँछ। मानौँ पत्रकारको यात्रा चल्नु सबैभन्दा ठूलो विषय हो।

त्यो समाचारको आमुख वा लिड हो। लिड नै ‘मिस्लिड’ गर्ने लेखाइपछिको अनुच्छेद यस्तो छ —

“चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए। त्यसबेला पत्रकार आत्तिएनन् बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन व्यस्त भए। उनीहरू काठमाडौँ उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जङ्गलको वरपरका दृश्य क्यामेरमा कैद गर्नेतिर लागे।”

लिडमा अर्थ खुलाइएको गोन्डोलाभन्दा यस अनुच्छेदको गोन्डोलाको अर्थ विस्तार गरिएको छ। केही मिनेटपछि चल्दै गरेका गोन्डोला रोकिए अनि पत्रकार रमाए। कसरी रमाए त्यो विस्तार गरिरहनु परेन। राम्ररी बुझिने गरी नै लेखिएको छ। 

त्यसपछिको अनुच्छेदमा त्यो रोकाइ पूर्व जानकारी दिएर गरिएको थियो र अभ्यास थियो त्यसैले पत्रकार डराएनन् भन्ने खोलुवा पनि छ। अनि अर्कोमा पत्रकार चढेका गोन्डोलामा केबलकारका लगानीकर्ता, प्राविधिक र कर्मचारी पनि थिए र यो सबै काम केबलकार सुरक्षित छ भन्ने जानकारी दिन गरिएको उल्लेख छ। 

यतिबाट के स्पष्ट भयो भने केबलकार चल्दाचल्दै रोकिएर समस्या आउने गरेको रहेछ र त्यो सामान्य अवस्था नै हो भन्ने पत्रकारलाई बताउन गरिएको प्रायोजित अभ्यास थियो। त्यस समाचारको लिडमा भने जस्तो उपत्यकाका ‘एक हुल पत्रकार’ सल्लाह गरेर गएका नभई प्रायोजित रूपमा लगिएका थिए भन्ने पनि स्पष्ट हुन्छ।

समाचारका अन्तिम दुई अनुच्छेद त पत्रकारलाई पाठ पढाउने नै छन्। के समाचार के बन्न हुन्छ र के बन्न हुन्न भनी कुरा केबलकारका लगानीकर्ताको भनाइ समाचारको अन्तिम अनुच्छेद (शिलापत्र डटकममा दिइएकोमा, नेपाल समय अनलाइन डटकममा चाहिँ अरू पनि लामो छ) मा छ। हेरौँ– 

“हालै आफू स्विट्जरल्यान्ड पुगेका बेला पनि यसैगरी केबुलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबुलकार हावामै रोकिएको उनले बताए। तर त्यहाँ समाचार नभएको उनको भनाइ थियो। यो एक नियमित प्रक्रिया नै भए पनि हामीकहाँ समाचार नै बन्नु विडम्बना भएको उनको भनाइ थियो।”


समाचार २

“चन्द्रागिरी केबलकारमा अड्किए खाने–बस्ने सुविधा 

काठमाडौँ– चन्द्रागिरी जाने यात्रु गण्डोला (मान्छे बस्ने बक्स) मा अड्किए इमर्जेन्सी ड्राइभमार्फत उद्धार गरिने चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले बताएका छन्। केबलकार सञ्चालनका लागि विद्युत्, जेनेरेटरसँगै ‘इमर्जेन्सी ड्राइभ’ समेत रहेकाले केबलकार सेवा सुरक्षित रहेको उनको भनाइ छ।”यस समाचारको शीर्षकले नै केबलकार अड्किन सक्ने जनाउँदै त्यस्तो समस्या आए चढ्नेलाई खाने र बस्ने सुविधा रहेको विज्ञापनको अर्थ दिन्छ । लिडमा चन्द्रागिरी हिल्सका अध्यक्षले पनि अड्किने सम्भावनालाई पुष्टि गर्दै वैकल्पिक उद्धार गरिने भएकाले केबलकार सुरक्षित रहेको बताएको उल्लेख छ। 

“प्राविधिक समस्या आएर यात्रु केबलकार र भालेश्वर मन्दिरमै अड्किनुपर्ने समस्या नआउने ढकालले बताएका छन्। केबलकार सत प्रतिशत सुरक्षित रहेको समेत उनले दाबी गरेका छन्। केबलकार रोकिँदैमा मानवीय दुर्घटना नहुने र सकुशल उद्धार गर्न सकिने विभिन्न व्यवस्था रहेको कम्पनीले जनाएको छ।”

केबलकारमा मात्र होइन यात्रु भालेश्वरमा पनि अड्किने सम्भावना रहेको यसले देखाउँछ। अनि यसमा केबलकारमा मानवीय दुर्घटना नहुने गरी सत प्रतिशत सुरक्षित रहेको र दुर्घटना नहुँदै सकुशलै उद्धार गरिने जनाइएको छ। यो भनेको समस्या रहेको स्विकारोक्ति पनि हो।

यस समाचारको अन्तिम अनुच्छेदले पनि करिब ४० मिनेटसम्म अड्किन सक्ने सम्भावना रहेको जनाउँछ। त्यतिबेलासम्म भने उद्धार गरिसकिने प्राविधिकले बताएका छन्। हेरौँ –

“‘हरेक दिन केबलकार सञ्चालन गर्नुअघि हामी प्राविधिक परीक्षण गर्छौं,’ कम्पनीका इन्जिनियर सरोज चापागाईले भने, ‘प्राविधिक समूहले ओके भनेपछि मात्रै सञ्चालन गरिन्छ।’ तत्काल समाधान हुने समस्या भए समाधान गरिहाल्ने र समय लाग्ने भएमा इमर्जेन्सी ड्राइभ सिस्टमबाट करिब ४० मिनेटमा मानिसलाई उद्धार गरिसक्ने उनले बताए।”

समाचारको बीचको अनुच्छेदमा शीर्षकले भनेजस्तो भालेश्वर मन्दिर परिसरमा अड्किएर उद्धार हुन नसक्दा खाने बस्ने सुविधा कम्पनीकै खर्चमा हुने कुरा उल्लेख छ।

वास्तविकता के थियो ?

पत्रकारलाई त्यसरी हुल बनाएर लैजानु पर्ने अवस्था कसरी आयो ? र पत्रकारले किन त्यसरी समाचार लेखे ? भन्ने कुरा बेग्लै छ। 

चन्द्रागिरि हिल्सका केबलकारमा समस्या रहेको स्विकारोक्ति माथिका समाचारमा देखियो। त्यसै कारण एक पटक होइन दुई/दुई पटक केबलकारमा यात्रु निकै लामो समय अड्किएर चिकित्सक र सुरक्षाकर्मीसमेत परिचालन गरेर उद्धार गर्नुपरेको थियो। पहिलो पटक २०७८ चैत १६ गते केबलकार बन्द भएपछि पाँच बालबालिकासहित ३७ जना यात्रुको झन्डै तीन घण्टापछि उद्धार गरिएको थियो। ती ३७ जना सर्वसाधारण थिए। त्यो घटनाको समाचार गोरखापत्र दैनिकले चैत १७ गते छाप्यो। अरू सञ्चार माध्यममा त्यो घटना गुपचुप रह्यो।

दोस्रो पटक असार २३ गते फरि पनि केबलकार बन्द भयो तर त्यसबेला भने केबलकारमा सर्वसाधारण मात्र थिएनन् विशिष्ट व्यक्ति पनि हुनुहुन्थ्यो। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारको डिब्बा र भालेश्वरमन्दिर परिसरमा करिब एक घण्टा अड्किएका थिए। फसेका ४३६ जनालाई  उद्धार गर्न एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। भिभिआइपीसमेत अड्किएपछि भने उक्त घटनाको समाचार प्रायः सबै सञ्चार माध्यममा आयो। 

दुवै पटक केबलकारको प्राविधिक समस्याभन्दा पनि विद्युत् आपूर्तिमा समस्या रहेकाले भएको थियो त्यसको दोष नेपाल विद्युत् प्राधिकरणलाई दिइएको थियो। प्राधिकरणले आफ्ना कारण नभई चन्द्रागिरि हिल्सकै विद्युतीय आपूर्ति प्रणाली समस्याका कारण केबलकार रोकिएको स्पष्ट पारेको थियो। 

दुवै पटक चन्द्रागिरिको आन्तरिक विद्युत् प्राणालीले काम नगरेपछि यात्रु अड्किएका थिए। यस कुरालाई ‘एक हुल पत्रकार’ लाई दिइएको जानकारीको क्रममा पनि बताइएको त थियो तर ती पत्रकारले त्यो कुरा सुनेनन् वा लेख्न चाहेनन्। गोरखापत्र दैनिकले भने २०७९ साउन १४ को अङ्कमा ११ पृष्ठमा ‘प्राविधिक त्रुटि नरहेको दाबी’ शीर्षकमा छापेको समाचारमा उल्लेख गरेको छ। चन्द्रागिरि हिल्सका अध्यक्ष ढकालले नै दिएको सूचनाका आधारमा समाचारमा लेखिएको छ – “केबलकार सञ्चालनका लागि एकै पटक धेरै पावर आवश्यक पर्ने भएकाले जेनेरेटर अटोमेटिक नरहेको र विद्युत् गएपछि बढीमा पाँच मिनेट रोकिनु पर्ने र इलेक्ट्रिक वा मेकानिकल कारणले केबलकार रोकिएमा ४० देखि ५० मिनेटमा यात्रुको उद्धार हुने उहाँको भनाइ छ।”

अड्किनु र अड्काइनु फरक कुरा

पत्रकारसहित केबलकार रोकिएका तीन घटना एकै प्रकृतिका होइनन्। सुरुका दुई पटक अड्किएका थिए जसमा सर्वसाधारण र भिभिआइपीसमेत परेका थिए। कठिन अवस्थामा तिनको उद्धार गर्नुपरेको थियो। सञ्चार माध्यममा ती घटनाका समाचार के कसरी रोकिए वा आए ? ती नेपाली पत्रकारिताको प्रवृत्ति अध्ययनका नमुना हुन्। 

तेस्रो पटकको घटनामा पत्रकार अड्किएका होइनन्। लगानीकर्ता र प्राविधिक कर्मचारीको उपस्थितिमा जानाजान अड्काइएका हुन्। त्यसैले उनीहरू अड्किँदा रमाए अनि त्यही रमाइलोको समाचार सम्प्रेषण गरे। अघिल्ला दुई घटनाभन्दा यस घटनामा नेपाली पत्रकारिताले निर्वाह गरेको भूमिकाले पत्रकारितालाई नै टीठलाग्दो देखाएको छ। 

पत्रकार पूर्वसूचित रूपमा प्रविधि अवरुद्ध गरी अड्काइएको भन्दा अचानक प्रविधि अवरुद्ध भई अड्किएका भए कस्तो समाचार बन्थ्यो ? यो प्रश्न पनि अनुत्तरित छ।