• १३ असोज २०८१, आइतबार

खेलाडीलाई पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग

blog

काठमाडौं, साउन २३ गते । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो  l

उहाँले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक रहेको औंल्याउनुभयो ।

युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यकता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो उहाँले गर्नुभयो ।