• २० असार २०८१, बिहिबार

कामनपा र ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान शुरु

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २२ गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने लागेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा सो अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।


उहाँले नो हर्न अभियान पहिलेबाट सञ्चालन गरिए पनि कोरोनालगायतका कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो । उहाँले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो । उहाँले सवारी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यकतामा जोड दिनुभयो। 

प्रमुख साहले भन्नुभयो, ‘‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । यातायातबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक रोगमा समस्या हुनसक्छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउन गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा धैर्यता राख्नुपर्छ ।’’

यस्तै, कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा ‘नो हर्न’ अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो ।


काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा ‘नो हर्न’ अभियान सञ्चालन गरेको थियो । तर कोरोनालगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।