• ८ मंसिर २०८१, शनिबार

टिपताला नाका तीन वर्षदेखि बन्द

blog

कोभिड महामारी सुरु भएसँगै तीन वर्षदेखि बन्द भएको टिपताला नाका । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो । 

टिपताला नाका बन्द भएपछि जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा र वडा नम्बर ६ लेलेपको घुन्सा तथा फलेबासी समस्यामा परेका छन् । उक्त क्षेत्रका बासिन्दाको दैनिकी तथा जीवनशैलीमा असर परेको छ भने त्यहाँका बासिन्दाले आर्थिक सङ्कटसमेत झेल्दै आएका छन् । 

ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साबासीले मुख्य पेशाको रुपमा चौँरी र याक पालन गर्ने गर्दछन् । जडीबुटी सङ्कलन साथै गलैँचा उत्पादन गर्नेजस्ता पेशा पनि गर्ने गर्दछन् । पछिल्लो तीन वर्षयता नाका बन्द भएकाले याक, चौँरी, जडीबुटी तथा अन्य उत्पादनका सामग्रीको व्यापार ठप्प भएपछि उनीहरु समस्यामा पर्दै आएका हुन् ।

कोभिड महामारीपछि बन्द भएको नाका हालसम्म नखुलेकाले सबै व्यापार ठप्प हुँदा समस्या भएको स्थानीयको भनाइ छ । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार ओलाङ्चुङगोला, याङ्मा, घुन्सा लगायतमा उत्पादन हुने व्यापारजन्य सामग्री सबै तिब्बत निर्यात हुने गरेको थियो । नाका बन्द भएपछि याक, चौँरी लगायत कुनै पनि वस्तु बिक्री गर्न नपाउँदा स्थानीयले आर्थिक सङ्कटको सामानसमेत गर्नै आउनुपरेको वालुङले बताउनुभयो ।

याक तथा चौँरी पालनमा सङ्लग्न यहाँका बासिन्दाले वार्षिक १२ देखि १५ वटासम्म याक चौँरी चीनतर्फ बिक्री गर्ने गरेका थिए । याक प्रतिगोटा एक लाख ५० हजार रुपियाँ सम्ममा बिक्री हुने गरेको थियो । याक बिक्री गरेर हुने आम्दानीले घर व्यवहार चलाउनेसहित सबै खर्च धान्दै आएका किसानले सो आम्दानी गुमाउनुपर्दा समस्या भएको बताउँछन् । 

यस्तै जडीबुटी र गलैँचा पनि तिब्बततर्फ नै निर्यात हुने गरेको थियो । नाका बन्द भएपछि जडीबुटी साथै गलैँचाजस्ता उत्पादन पनि बिक्री गर्न नपाउँदा दैनिकी चलाउनलाई सकसपूर्ण अवस्था रहेको घुन्साका पेमा शेर्पा बताउनुहुन्छ । याकचौँरी पालन गरेर गोठ–गोठबाटै आम्दानी हुने गुगाउनुपर्दा आर्थिक सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । अझै नाका नखुल्ने भएमा समस्या बढ्दै जाने उहाँको भनाइ छ ।

यसरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्सा उच्च हिमाली बस्ती भएकाले सामान्य आलुबाहेक अन्य खेती नहुने हुँदा यहाँका बासिन्दाले पशुपालन, जडीबुटी, गलैँचा उत्पादनजस्ता पेशा व्यवसाय गर्ने गर्दछन् । उक्त पेशा व्यवसायमा निर्भर रहँदै आएको यहाँका बासिन्दाले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु पनि तिब्बतबाट नै आयात गर्ने गर्दछन् । तीन वर्षयता नाका बन्द भएपछि स्थानीयले व्यापार गर्न पाएका छैनन् भने उपभोग्य वस्तु आयात गर्न पनि पाएका छैनन् । 

नाका बन्द भएपछि सदरमुकाम फुङ्लिङ बजार लगायतदेखि उपभोग्य तथा अन्य आवश्यक वस्तुको व्यवस्थापन गर्दै आएका छन् । फुङ्लिङ लगायत नेपाली बजारदेखि ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्सासम्म सामान पु¥याउँदा खरिद गरेको मूल्यभन्दा तीन गुण बढी ढुवाँनी खर्च लाग्ने स्थानीयको भनाइ छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।