• ७ वैशाख २०८१, शुक्रबार

तटबन्ध मर्मत नहुँदा डुबानको चिन्ता

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, साउन २१ गते । नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ र १८ को भोइल, ओसरासहित देउरी, परवाह, पुनरदहिया, भराक, कपटोल, विकमपुर, गौरदाह, झौजीकटैया, धनौजीलगायतका बस्तीमा छडकी बाढीले डुबानको चपेटमा पर्ने गरेको स्थानीय बताउँछन्। जिल्लाको औरही गाउँपालिका–२ स्थित देउरी बजारदेखि उत्तर जौमुनी नदी र जलाद नदीको छडकीको बाढीले प्रत्येक वर्षामा बस्ती डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ।

तराई–मधेश जोड्ने राष्ट्रिय गौरवको आयोजनामध्ये पूर्व–पश्चिम हुलाकी सडकसँगै टाँसिएको देउरी बजार डुबानले आवागमन नै बन्द हुने गर्दछ। बाढी आएको बेला हिउँदमा तटबन्ध निर्माण गरिने आश्वासन दिइने गरेको हुन्छ तर तटबन्ध निर्माणको पहल भने कुनै निकायबाट नभएको स्थानीय जदु यादवले बताउनुभयो। चार/पाँच वर्षअघि नै आएको बाढीमा छडकीको कच्ची बाँध कटान गरेको थियो। त्यसयता बाँध मर्मत तथा पक्की बाँध निर्माण गरिने अश्वासनमै सीमित भएको छ।  

“गत वर्ष बस्तीमा पसेको छडकीको बाढीलाई सम्झिदै स्थानीय अमनराज यादवले देउरी बजारको बीच सडकमा दुई फिटसम्म पानी बग्दा बजारका पसल डुबानमा परेका थिए। चोक तथा सडकमा जता हेरे पनि पानी नै पानी थियो,” यादवले भन्नुभयो। आकाशमा बादल मडारिँदा ठूलो पानी परेर बाढी आउने हो कि भन्ने चिन्ताले सताउने गरेको भन्दै देउरीका राकेश चौधरीले भन्नुभयो, “राति पानी प-यो भने रातभरि जाग्राम बस्नुपर्ने हुन्छ।” बाढी नियन्त्रणको लागि ढुङ्गाको बाँध निर्माण गर्नुपर्ने भन्दै उहाँले माटोको बाँधको कुनै भरोसा नहुने बताउनुभयो।

बाढीको विपत्बाट धनुषाका सातवटा पालिकामा उच्च जोखिम देखिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाका १८ स्थानीय तहमध्ये सातवटा पालिका उच्च जोखिममा छन्। 

जिल्लाको कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपत्को दृष्टिले मध्यम जोखिममा रहेको उहाँले बताउनुभयो। क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेका छन्। 

जिल्लाको कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीले बर्सेनि ठूलो धनजनको क्षति पु-याउँदै आएको छ। बाढीबाट प्रभावित सम्भावित क्षेत्रका बस्तीमा सचेतना कार्य गरिसकेको प्रजिअ पौडेलले भन्नुभयो, “बाढी आइहाल्यो भने त्यसको व्यवस्थापनको लागि पनि तयारी गरेका छौँ।”