• ५ साउन २०८१, शनिबार

संविधान अनुसार चुनाव घोषणा हुनु स्वागतयोग्य : दलहरू

blog

काठमाडौं, साउन २० गते । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ । सरकारले गरेको निर्वाचनबारेको निर्णयको सत्तापक्ष दलदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) देखि साना दलहरुले स्वागत  गरेका छन् । 

सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा सँगै जाने सहमति जुटेको छ । सबै राजनीतिक दल आगामी निर्वाचनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँटको गृहकार्य भएको छ भने नेकपा (एमाले) ले पार्टीको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा तीव्रता दिएको छ । 

सरकारप्रति आभारी – कांग्रेस

पाँच दलको सत्ता गठबन्धनको नेतृत्व गर्दैआएको कांग्रेसले सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ । गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले चुनावको घोषणा हुनु लोकतान्त्रिक पार्टीका लागि सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आभारसमेत व्यक्त गर्नुभयो । 

समयमै निर्णय भयो – माओवादी केन्द्र

सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) ले पनि सरकारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ । माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले समयमै निर्वाचनको घोषणा भएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभयो । “हामै्र पार्टीको पहलमा यो भएको छ, यसलाई स्वागत गरेका छौं । अब चुनावलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नेगरी अघि बढ्छौं ।” 

गठबन्धन कायम रहनु खुसीको कुरा – एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले पार्टी सचिवालयको ३२ औं बैठकले वर्तमान गठबन्धन कायमै राखेर वामपन्थी एकताको प्रयास गर्ने भनिएअनुरुप गठबन्धन कायम राख्ने सहमति भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मंसिर ४ को कुरा स्वागतयोग्य छ, यो पाँच दलीय गठबन्धन कायमै राखेर जाने कुरा झन् खुसीको विषय भइहाल्यो ।” 

चुनाव होस् भन्ने पक्षमा छौं – जसपा

जनता समाजवादी पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले पनि चुनाव घोषणाको निर्णय स्वागतयोग्य रहेको बताउनुभएको छ । अधिकारीले भन्नुभयो, “सरकारले चुनाव घोषणा गरेको छ, चुनाव समयमै होस् भन्ने पक्षमा हामी छौं ।”

उहाँले अहिलेको गठबन्धन संघीय लोकतन्त्रलाई संस्थागत गर्न बनेकाले गणतन्त्रमाथि आएका समस्यालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । हालको गठबन्धन कायम गर्दै जाने उहाँको भनाइ छ । 

पहिलो पटक संसदीय निर्वाचनमा – जनमत पार्टी

डा. सीके राउत नेतृत्वको जनमत पार्टी यस पटक प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिने जनाएको छ । राउत सप्तरीको क्षेत्र नंं. २ बाट उम्मेदवार बन्ने बताउनुभएको छ ।  

जनमत पार्टी सप्तरी जिल्ला ईन्चार्ज ममता झाले जनताको मागअनुसार राउतले उम्मेदवारी दिन लागेको बताउनुभयो । झाले भन्नुभयो, “संविधान अनुसार चुनाव घोषणा हुनु स्वागतयोग्य छ । जनमत पार्टी पहिलो पटक संसदीय निर्वाचनमा जाँदैछ ।”

डा. राउतको जन्मथलो सप्तरी–२ भएकोले त्यस क्षेत्रबासीको मागअनुरुप जनमत पार्टीले संसदीय निर्वाचनमा भाग लिन लागेको झाले बताउनुभयो । 

चुनावबारे केन्द्रीय समितिमा छलफल गर्छौं – नेपाल समाजवादी पार्टी

जनता समाजवादी पार्टीबाट अलग हुनुभएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले निर्वाचनको निर्णयलाई स्वागत गरेको छ । समाजवादी पार्टीका प्रवक्ता डम्बर खतिवडाले सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो, “निर्णय स्वागतयोग्य छ, हाम्रो पार्टी भर्खर दर्ता भएको छ । कसरी जाने भन्नेबारे शनिबार बस्ने पहिलो केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ ।”

संविधान बमोजिम घोषणा भयो – एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनाव नियमित प्रक्रिया बमोजिम सरकारले चुनावको घोषणा गरेको जनाएको छ । 

सरकारको निर्णयलाई स्वागत गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले संविधानले व्यवस्था गरेबमोजिम सरकारले स्वाभाविक रुपमा चुनावको घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान बमोजिम पाँच वर्षभित्र अवधि पुगेर चुनाव गर्नुपर्ने कानुनी व्यवस्था नै हो । यो नियमित रुपले आएको हो ।”

राष्ट्रिय पर्वमा प्रतिपक्षी छुट्यो – लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले सरकारले गरेको निर्वाचनको निर्णय स्वागतयोग्य रहेको जनाएको छ । नेता सुरेन्द्र झाले आवधिक निर्वाचन समयमै सम्पन्न हुनु लोकतन्त्रको मूल मर्मभित्र पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव राष्ट्रिय पर्व भएकाले प्रतिपक्षी हामीसँग पनि सल्लाह, सम्बोधन गरेको देखिएन यद्यपि, स्वागत गर्छौं । 

हाम्रो मुद्दामा जो नजिक भएर सुविधाजनक ढंगले सिट बाँडफाँट गर्छ, निर्वाचनमा उसैसँग मिलेर अघि बढ्ने उहाँको भनाइ छ ।