• ११ मंसिर २०८१, मङ्गलबार

निर्वाचन आयोगद्वारा राजनीतिक दल दर्ताको आह्वान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २० गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।

सरकारले आगामी निर्वाचन मंसिर ४ गतेका लागि गर्ने निर्णय गरेसँगै आयोग आन्तरिक तयारीमा जुटेको छ । सोही प्रक्रियाअनुसार दल दर्ताको आव्हान गरेको हो । संविधानको धारा २७१ बमोजिम दल दर्ताको आह्वान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । 

उहाँका अनुसार दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको विवरण, केन्द्रीय कार्य समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्नेछ ।

दल दर्ताका लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको अलग्गै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रुपमा सात वटै प्रदेशको अलग अलग निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । 

“राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिंदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ” आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दल दर्ताको आवेदन दिंदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको, पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न गर्न आयोगले भनेको छ । दल दर्ता प्रयोजनका लागि सार्वजनिक विदाको दिनमा समेत कार्यालय खुला रहने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।